तादीमा काँग्रेस–माओवादी मात्रै

अघिल्लो हप्ता तादीमा बसेको तीन दलको बैठक ।

खरानीटार । आफ्नो अधिक जनसमर्थन र बलियो संगठन रहेको दावी गर्दै आएको नेकपा एकीकृत समाजवादीले नुवाकोटको तादी गाउँपालिकामा सत्ता गठबन्धनकै अन्य ठूला राजनीतिक दलहरूलाई विश्वासमा लिन नसकेको देखिएको छ । आधा दर्जन बढी औपचारिक र अनौपचारिक छलफलमा बसेको तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको तादी स्तरिय बैठकले तीनै दलको गठबन्धन सहितको चुनावी एकता नदेखिने संकेत गरेको छ ।

शुक्रवारदेखि पटक पटक भइरहेको छलफलबाट तादी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र बीच मात्रै गठबन्धन हुने संकेत मिलेको छ । समाजवादी गाउँपालिका अध्यक्ष र दुई वटा वडा अध्यक्षको दावीबाट पछि नहटेपछि गठबन्धनमा समाजवादी नअट्ने निश्चित प्रायः भएको बैठकमा सहभागि एक नेताले बताएका छन् । तादी गाउँपालिकामा समाजवादीले गाउँपालिका अध्यक्ष, वडा नं. ३ र वडा नं. ५ अध्यक्षमा दावी पेश गरेको थियो । नेपाली काँग्रेसले दुई वटा वडाअध्यक्ष सम्म समाजवादीलाई दिएर जान सकिने धारणा अघि सारेको थियो । तादी गाउँपालिकामा छ वटा वडा छन् । बैठकमा भएको छलफल अनुसार काँग्रेस र माओवादीले गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र र छ वटा वडा मध्ये काँग्रेसलाई १, माओवादीलाई ३ र समाजवादीलाई २ प्रस्ताव भएको थियो । समाजवादीले वडा अध्यक्षमा मात्रै चित्त नबुझाउने अडान राखेपछि माओवादीले आफुले प्राप्त गरेको उपाध्यक्ष समाजवादीलाई छाडेको छ ।

समाचार श्रोतका अनुसार काँग्रेसलाई गाउँपालिका अध्यक्ष सहित एउटा वडा, समाजवादीलाई गाउँपालिका उपाध्यक्ष सहित एउटा वडा र माओवादीलाई चार वटा वडा विभाजन गरेर गठबन्धन कायम गर्न माओवादी केन्द्रले नयाँ प्रस्ताव अघि सारेको छ । तर समाजवादीले गाउँपालिका अध्यक्ष सहित दुई वटा वडा प्राप्त भएर गठबन्धनमा नबस्ने बताएपछि तीन दलिय बैठकको अन्त्य भएको छ । माओवादी केन्द्र तादी अध्यक्ष अनुपकुमार पाण्डेले गठबन्धन जोगाउनका लागि माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष त्यागेको बताए । ‘हामले चार वटा वडा अध्यक्ष माओवादी केन्द्रलाई दिए उपाध्यक्ष समाजवादीलाई छाड्ने प्रस्ताव गरेका हौं’ पाण्डेले भने । काँग्रेस तादी सभापति तथा गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले समाजवादीलाई उपाध्यक्ष सहित एउटा वडा दिन तयार रहेको बताए । तर समाजवादीले गाउँपालिका अध्यक्षको विकल्पमा छलफल नहुने बताएपछि काँग्रेस र माओवादीबीच मात्रै तादी गाउँपालिकामा गठबन्धन हुने बताए । ‘समाजवादीसंगको छलफल टुटिसकेको छ, हामी र माओवादी मात्रै मिलेर जाने भयौं’ पाण्डेले भने ।

गठबन्धन कायम गरेर जाने विषयमा गम्भिर रहेको र अझ छलफल भइरहेको माओवादी तादीका अध्यक्ष अनुपकुमार पाण्डेले बताए । तर गाउँपालिका संयन्त्रले जिल्ला संयन्त्रमा तीन वटा निर्णय गरेर पठाएको समाचार श्रोतले बताएको छ । गापा अध्यक्ष सहित तीन वडा काँग्रेस र उपाध्यक्ष सहित तीन वडा माओवादीले लिने गरी सहमती भएको जिल्ला संयन्त्रमा प्राप्त भएको छ ।

‘तादी गाउँपालिका बाहेक नुवाकोटका अन्य पालिकाबाट यसरी तोकेर आएको छैन, तीन गतेसम्म प्रष्ट खाका आउनु पर्नेमा अरु पालिकाबाट थुप्रै बिकल्प सहित प्रस्ताव गरिएको छ’, जिल्ला संयन्त्रका एक नेताले भने– ‘तादी गाउँपालिकामा दुई दल काँग्रेस र माओवादी कुन पद र कुन कुन वडासम्म भन्ने प्रष्ट विभाजन सहितको सुझाव र प्रस्ताव आएको छ ।’

नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य एवं तादी गाउँपालिकामा अध्यक्ष पदका आकांक्षी केपी लामिछानेले तादी गाउँपालिका मात्रै नभई शिवपुरी गाउँपालिकामा पनि अध्यक्ष समाजवादीलाई दिनुपर्ने बताएका छन् । उनले गाउँपालिका, जिल्ला वा प्रदेश तहसम्म नटुंगिए केन्द्रबाट भएपनि कार्यान्वय गराएर ल्याउने बताए । ‘गठबन्धको अर्थ के हो त ? हामीलाई उपाध्यक्ष दिएर पनि गठबन्धन हुन्छ ? तादी र शिवपुरीमा हामीलाई अध्यक्ष चाहिन्छ’ लामिछानेले भने । उनले तादी गाउँपालिका अध्यक्ष नपएमा समाजवादी गठबन्धनमा सहभागि नहुने र एक्ले चुनाव लढ्ने बताएका छन् ।

‘केन्द्रदेखि तादीमा हामीले अध्यक्ष नपाउने गरी निर्णय भयो भने पनि तादी गाउँपालिकामा समाजवादी एकै निर्वाचनमा जान्छ’ केपी लामिछानेले भने ।

५ बैशाख २०७९, सोमबार ०६:०५



तपाईको प्रतिक्रिया