चर्चामा रहेका स्वतन्त्र उम्मेदवार : राजन कोइराला

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपनि चर्चामा आउनेहरु छन् । राजनीति दलका उम्मेदवारहरु भन्दा भिन्न र नयाँ कार्य योजनासहित काठमाडौं नागार्जुन नगरपालिकाका मेयर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका राजन कोइराला अहिले चर्चामा छन् ।

स्वतन्त्र उम्मेदवारीको घोषणासंगै उनले आफ्नो योजना सार्वजनिक गरेका छन् । जसले गर्दा उनीतर्फ अधिकांशको ध्यान तानिएको छ ।

स्थानीय तहमा युवाको प्रत्यक्ष सम्लग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवद्र्धन, प्राथमिकतामा राखेर बालबालिका तथा अपाङ्गता भएका नागरिक र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने कोइरालाले बताएका छन् ।

‘विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आवद्दता नजनाई राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भने, ’अब पनि देश विकासको पद्दतीमा परिवर्तन भएन भने हामी ठुलो दलदलमा फस्नेछौ, नेपाल अहिलेको श्रीलंकाको अवस्थामा नपुग्ला भन्न सकिन्न ।’ कसैको निन्दा वा बिरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव छ भन्ने उद्देश्यका साथ कोइरालाले निरर्थक कुरा गर्नुभन्दा काम गरेर देखाउन सक्ने क्षमता भएकाले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।

के छ घोषणापत्रमा ?

१. नगरपालिकामा स्थानीय विकास (सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यस्थापन लगायत) का कार्यक्रम तिव्रगतीमा बढाइने ।
२. फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने ।
३. नगरपालिकाका हरेक घरलाई याड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सुचना–प्रवाहमा सहजताको माहोल शृजना गर्ने ।
४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारीता स्थापना गरिने ।
५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम सञ्चालन गरिने ।
६. नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृति, सामुदायिक भवन, पुस्तकालय, पार्क) सञ्चालन गरिने ।
७. नगरपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिएर बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्दन गरिने ।
८. नागरिकहरुको प्रत्यक्ष सहभागीता हुनेगरी पाक्षिक ’सार्वजनिक–सुनुवाई’ कार्यक्रम संचलान गर्ने, घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँको अहिले सम्मका सबै राजनीतिक दलका नेताहरु आफु र आफ्नो परिवारको बारेमा मात्र सोच्ने गरेको आरोप छ । नागार्जुन नगरपालिकाका मतदाताले नगर विकासको लागि स्वतन्त्र उम्मेदवार राजन कोइरालाई मत दिनपर्नेमा उनले जोड दिएका छन् । उनले भने, ‘यो नगर विकासको लागि सुनौलो अवसर हो । अमेरिका बसेर पनि नेपालको विकास गर्न आउनुभएको कोइरालालाई मत नदिए नगरबासी पछुताउन पर्नेछ ।’ कोइरालालाई मत दिएर जिताउन सम्पुर्ण नगरबासीलाई बानियाँले आग्रह गरेका छन् । कोइरालालाई भोट नदिएमा नगरवासीहरुले राम्रो मान्छे गुमाउने पनि उनले जिकिर गरे । स्वतन्त्र उम्मेदवारलाई जिताएमा खामबन्दीको अन्त्य हुने पनि उनले जिकिर गरे । कोइराला निर्वाचित भएमा ५ वर्षको अवधिमा नगरमा आजसम्म नभएको विकास हुने उनले उल्लेख गरे । कुने दलको नभई समग्र नागर्जुनको परिवार भएर काम गर्न स्वतन्त्र उम्मेदारी कोइरालाले दिन लागेको बानियाँले स्पष्ट पारे ।

को हुन् राजन कोइराला ?

२०४२ सालमा केवलपुर, धादिङ्गमा जन्मेका कोइरालाले विगत एक दशकदेखि युवा शशक्तिकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आएका छन् । २०४७ मा आफ्नो परिवारसँगै काठमाण्डौ बसाईं सरेका कोइरालाले पिपल्स क्याम्पसबाट पत्रकारिता र राजनीतीशास्त्रमा आइएको स्वर्णपदक पाएलगतै उच्चशिक्षाको लागि अमेरिका गएका थिए । अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर ९ वर्षपछि २०६९ मा स्थाई रुपमा नेपाल फर्केका हुन् ।

अहिलेसम्म ५० हजार बढी युवाहरुलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरुले सञ्चालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथि प्रशिक्षककासाथै अन्य स्वयंसेवी भूमिकामा छन् । सयौ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन् ।

अमेरिकाबाट ९ वर्षको प्रवासी जीवन बिताएर २०६९ मा नेपाल फर्केका कोइरालाले धेरै कुरा गुमाईसकेको भान भयो; प्रदुषित माटो, भविष्यको खोजीमा विदेश पलायन भएका युवाहरु, पाश्चात्य संस्कृतिको हावी भएको समाज, बिल्कुल नयाँ थियो उनको लागि । राष्ट्र बदल्न आफु स्पष्ट हुनुपर्ने धारणा बोकेर युवाका समस्या नजिकबाट नियाल्न कोइराला अध्ययन गर्न थाले । रोजगारीको क्षेत्रमा स्थापित मेरोजब डट कम र इडियुसञ्जाल जस्ता संस्थासंग प्रत्यक्ष ८ वर्ष काम गर्ने क्रममा शिक्षा प्रणाली र रोजगारदाता बिचको अन्तर पत्ता लगाए ।

कोइराला दिनहुँ विहानीको शारीरिक अभ्यासका लागि वरिपरी हिड्ने क्रममा ५० को दशकको नागार्जुन सम्झनछन; पौडी खेलेका पल आँखामा छाउँछ तर अहिले खोला ढलले दुर्गन्धित छ, वनजंगल छिर्छन तर पहिलेजस्तो चराचुरुंगी र जनावर भेटिन्नन, ऐसेलु–चुत्रो खाने ठाउँ फोहोरका पोकाले छोपिएका छन्, अनि यस्ता समस्याको सूची कति हो कति । कोइराला सोच्छन, ‘त्यहिँ अवस्था नहोला तर हाम्रो नगरपालिका धेरै सुन्दर बनाउन सकिन्छ, आजको भन्दा धेरै गुणस्तरीय ।’ स्वअध्ययन र अन्वेषणपश्चात कोइराला नागार्जुन विकासको खाका कोर्न थाल्छन् ।

७ बैशाख २०७९, बुधबार ११:३७



तपाईको प्रतिक्रिया