१७ उम्मेदवारको शुन्य मत

विदुर । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका १७ उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् ।

नुवाकोटका १२ स्थानीय तहको ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । दुई लाख ३७ हजार ४ सय ३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले एकमत पनि पाएका छैनन् । १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै आएको छ ।

एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामिछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार छन् ।

किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले पनि एकमत प्राप्त गर्न सकेनन् ।

पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् ।

तारकेश्वर गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तलाल तामाङ, लिखु गाँउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपचन्द्र राई, ककनी गाँउपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी–९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केशबप्रसाद भट्ट, विदुर–१२ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङले एक–एक मत मात्र प्राप्त गरेका छन् ।

यस्तै, तादी–५ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ–४ वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी–४ मा महिला सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार ठुलीकान्छी पाण्डे, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक–एक मत मात्र ल्याएका छन् । विदुर–३ को वडा सदस्यमा एकीकृत समाजवादीको उम्मेदवार केशव खड्का, विदुर ६ को वडासदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवारहरू लालबहादुर राई र सन्तोष सुनारको एक–एक मत आएको छ ।

पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार उद्धव कोइराला, तादी गाँउपालिकाको अध्यक्ष पदमा मौलिक जरोकिलो पाटीका उम्मेदवार बासु उप्रेती, नेकपा (समाजवादी) पार्टीबाट तादी गाँउपालिकाको अध्यक्षको उम्मेदवार टिकाराम तामाङ र स्वतन्त्रका उम्मेदवार भोगबहादुर अधिकारी, ककनी गाँउपालिकाको उपाध्यक्षमा सामाजिक एकता पार्टीका उम्मेदवार पुतली तामाङ, बेलकोटगढी–४ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार सुजाता नेपाल (पाण्डे) बेलकोटगढी–१० को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार अप्सरा घिमिरेले दुई–दुई मत मात्र प्राप्त गरेका छन् ।

यस्तै शिवपुरी–३ को वडाध्यक्षमा नेपाली कांग्रेस (बिपी)का उम्मेदवार विकाश तामाङ, तादी–३ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मानबहादुर तामाङ, तादी–६ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ठकुराम तामाङ, ककनी–३ मा वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार नवराज बजगाई, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार केशब तामाङ, शिवपुरी–४ को वडासदस्यमा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार सुदन थापाले दुई–दुई मत पाए ।

नुवाकोटका झण्डै एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार धनमाया बिश्वकर्माले ७ सय ३७ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी जनसमाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याए ।

निर्वाचनको मतदान अन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

१३ जेष्ठ २०७९, शुक्रबार ०८:४८



तपाईको प्रतिक्रिया