चार जनाको आलोपालो हारजित

विदुर । यसपटक सम्पन्न स्थानीय निर्वाचनमा नवाकोटका केहि स्थानीय तहमा गत २०७४ को निर्वाचनमा जोसँग पराजित भए उसैसँग निर्वाचन लडेका उम्मेदवारले बदला लिएका छन् । कहिले सासुको पालो कहिले बुहारीको पालो भने जस्तै, जोसंग पराजित भएका उनैलाई हराएर स्थानीय सरकारको नेतृत्वमा नुवाकोटमा दुई जना पुगेका छन् ।

गत निर्वाचनमा जोसँग हारे उसैलाई यसपटक हराएका छन् । नुवाकोट जिल्लाको अघिल्लो स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिका हारेका प्रमुख पदका उम्मेदवारले जोसँग हारे, उसैलाई हराएर प्रमुख पदमा बिजयी भएका छन् ।

सङ्घीयता कार्यान्वयन आएपछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा नुवाकोटको दुईवटा पालिकाको प्रमुखमा पराजितले यसपटक जितेका छन् । जितेका प्रमुखले पहिले जोसँग हारे यसपटक उसैसँग प्रतिस्पर्धा गरेर हराएका हुन् । पहिलो स्थानीय तह निर्वाचनमा नवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा पराजित जगतबहादुर गुरुङ पाँच वर्षपछि राजेन्द्ररमण खनाललाई फराकिलो मतान्तरले पराजित गर्न सफल भएका छन् ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार भएका गुरुङलाई नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजेन्द्ररमण खनालले २९२ मतले पराजित गरेका थिए । गत निर्वाचनमा गुरुङले ६ हजार तीन सय १८, र खनालले ६ हजार ६४३ मत पाएका थिए । यसपटक निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले ६ हजार ४२८ को मतान्तरले खनाललाई पराजित गरेका छन् । उनले १३ हजार २२२ र खनालले ६ हजार ७२४ मत पाएका थिए ।

किस्पाङ गाउँपालिकामा गत २०७४ को निर्वाचनमा अध्यक्षमा पराजित बीरबल तामाङले यसपटक गत वर्षको प्रतिस्पर्धी छत्रबहादुर लामालाई पराजित गरे । गत निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका लामाले नौ सय तीन मतले तामाङलाई पराजित गरे । गत निर्वाचनमा लामाले दुई हजार ५६८ र तामाङले एक हजार ६६५ मत पाए ।

यसपटक नेकपा माओवादीसँग गठबन्धन गरेर तामाङ गत निर्वाचनको बदला लिन सफल भएका छन् । तामाङ यसपटक लामालाई १८६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । तामाङले तीन हजार ६६८ र लामाले तीन हजार ४५२ मत प्राप्त गरेका छन् । गत २०७४ को निर्वाचनमा किस्पाङ गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार छनोट भएका छत्रबहादुर लामा मनोनयनको अघिल्लो दिन काङ्गेस प्रबेश गरी उम्मेद्धवार बने ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा तामाङले मतदान गरेको उक्त पालिकामा काङ्गेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पराजित भएका छन् ।

यस पटक ४ जनाले मात्रै जितेका छन् । दोश्रो कार्यकाल जित्नेहरूमा नुवाकोटको म्यागङ गाँउपालिकाका अध्यक्ष आशा तामाङ, लिखु गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ, पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेश र सुर्यगढी गाँउपालिकाका अध्यक्ष सन्तबहादुर घले छन् ।

दोश्रो कार्यकालको लागी उम्मेदवार बनेर पराजित हुनेहरूमा विदुर नगरपालिकामा नेकपा एमालेका उम्मेद्धवार सञ्जु पण्डित, किस्पाङ गाँउपालिकामा नेपाली काँग्रेसबाट छत्रबहादुर लामा, दुप्चेश्वर गाँउपालिकामा एमालेबाट योबिन्द्रसिङ तामाङ र तारकेश्वर गाँउपालिकामा नेकपा एमालेबाट रमेश वस्ती छन् ।

२३ जेष्ठ २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया