प्रमुखमा महिलाले अवसर पाएनन्

विदुर । नुवाकोट र रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको छ । रसुवामा अघिल्लो पटक एक स्थानीय सरकार प्रमुखमा महिला थिए भने नुवाकोटमा दोश्रो पटक समेत महिला सरकार प्मुख हुन पाएनन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नुवाकोटको १२ स्थानीय तह र रसुवाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । २०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा पनी नुवाकोटको १२ वटै स्थानीय तहमा महिला प्रमुख शुन्य भएको थियो । रसुवाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख निर्बाचित भएका थिए । पहिलो स्थानीय निर्बाचनमा नुवाकोटको १ स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेद्धवार थिए ।

बिशेषगरी ठुला राजनीतिक दलहरूले प्रमुख पदमा पुरुषलाई मात्रै प्राथमिकतामा राख्ने गरेको छ । नुवाकोटमा पहिलो स्थानीय तहको निर्बाचनमा १२ वटै पालिकामा उपप्रमुख/उपाध्यक्षमा महिला निर्बाचित भएका थिए । तर यस बर्ष उपाध्यक्ष पदमा समेत महिलाको संख्या घटेको छ । गठबन्धनका कारण नुवाकोटको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाँउपालिकामा प्रमुख र उपप्रमुख पदमा पुरुष मात्रै निर्बाचित भएका छन् । यस्तै, किस्पाङ गाँउपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष पदमा पुरुषनै निर्बाचित भएका छन् । शिबपुरी गाँउपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष पद दुबैमा पुरुष छन् ।

एकै दलबाट उम्मेदवार बनाउदा अध्यक्ष र उपाध्यक्ष पद मध्ये कुनै एकमा महिला अनिबार्य भएपनि राजनीतिक दलहरूको गठबन्धन र तालमेलका कारण दुबै पदमा पुरुष हाबी भएका हुन् । यस बर्ष भने सबै स्थानीय तहको प्रमुखमा पुरुष र उपाध्यक्षमा पनी ४ वटा स्थानीय तहमा पुरुष निर्बाचित भएका छन् । हाल नुवाकोटको १ नगरपालिकाको उपप्रमुख र ७ गाँउपालिकाको उपाध्यक्षमा महिला निर्बाचित भएका छन् ।

उता रसुवा जिल्लामा रहेको ५ स्थानीय तहमा कुनै पनि गाँउपालिकाको अध्यक्षमा महिला छैनन् । दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी भएता पनि उनीहरू निर्बाचित नहुँदा महिला सहभागी प्रमुखमा शुन्य भएको हो । नौकुण्ड गाउँपालिकामा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो ।

उत्तरगया गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अर्चना लामालाई उम्मेदवार बनाएको थियो । तर निर्वाचनको नतिजा अनुसार दुवै जना पराजित भएसँगै जिल्लाका स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य भएको हो ।

उपाध्यक्षमा चार वटा गाउँपालिकामा महिलाले नेतृत्व पाएका छन् । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको उपप्रमुखमा चण्डिका तामाङ, गोसाईंकुण्ड गाउँपालिकामा प्रतिमा तामाङ, कालिका गाउँपालिकामा मिरा लामा र उत्तरगया गाउँपालिकामा चमेली गुरुङले नेतृत्व पाएका छन् ।

गुरुङले २०७४ को निर्वाचनमा पनि उत्तरगया गाउँपालिकाको उपाध्यक्षको नेतृत्व पाएका थिए ।

२३ जेष्ठ २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया