विदुर । स्थानीय तह निर्वाचनको दोश्रो चरणको निर्वाचनको नतिजासंगै नव निर्वाचित जनप्रतिनिधिहरूले काम थालेका छन् । विशेष गरी पाँच वर्ष संघीयता कार्यान्वय, कार्यालय व्यवस्थापन र जनप्रतिनिधिलाई सिक्नका लागि बढी समय खर्च भएपनि अबको जनप्रतिनिधिबाट नतिजामुखी कामको अपेक्षा नागरिकहरूले गर्न थालेका छन् । नयाँ जनप्रतिनिधिहरू सामान्य कामबाटनै नागरिकहरूलाई प्रभावित बनाउने र नयाँ केही गर्ने योजना सहित चुनिएका छन् । नागरिकहरूको दैनिकीमा सघाउनेदेखि जनउत्तरदायि सरकारका रुपमा स्थानीय तहलाई उभ्याउने क्रममा नुवाकोटमा दुई पालिकाहरूले सुरुवात गरेको फरक दुई कामले आशाको सञ्चार गरेको छ ।
नुवाकोटको तारेकश्वर गाउँपालिकाले २४ घण्टा सेवा दिने गरी निःशुल्क हटलाईन टोल फ्री टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै नुवाकोटको अर्को स्थानीय सरकार म्यागङ गाउँपालिकाले छोरीहरूलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहन गर्नका लागि एक महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले छोरीलाई २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाको मानव विकास सूचांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरू उत्प्रेरित हुने गाउँपालिकाको विश्वास रहेको गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताएका छन् । कम्तीमा एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ ।
उता, तारकेश्वर गाउँपालिकाले २४ घण्टा सेवा दिने गरी निःशुल्क हटलाईन टोल फ्री टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका कार्यालय दाङसिङमा अध्यक्ष शिव अधिकारीले सेवा केन्द्रको उद्घाटन गरेका छन् । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवा केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
नागरिकले १६६००१४५२२२ मा फोन गरेर सल्लाह, सुझाव र जुनकुनै गुनासोलाई २४ सैं घण्टा फोन गरेर टिपाउन सक्ने छन् । नागरिकबाट आएका गुनासोलाई सम्बोधन गरिने र सकारात्मक सल्लाह, सुझावलाई कार्यान्वयन गर्दै जाने योजनाले सेवा सुरु गरेको अध्यक्ष अधिकारीले बताए ।
यो सेवाले नागरिक र जनप्रतिनिधि बीचको सम्बादलाई अझ सहज बनाइए नागरिकको हितमा काम गर्न ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । बर्खायाम पनि सुरु भएको र आगामी बर्षको बजेट निर्माणको तयारी समेत सुरुभएकाले आजैदेखि यो सेवा सञ्चालना ल्याएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाई रहेको छ ।
यस्तै, तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा सञ्चालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय समेत गरेको छ । बैठकले क्रसर र बालुवाखानी सम्बन्धि कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीलाई जिम्मेवारी समेत दिएको छ ।
वडा सदस्यको गाडी भाडामा
दाङसिङ । तारकेश्वर गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा सदस्य चोकराज शाक्यको बा २० च ८८६८ नम्बरको बोलेरो जिप गाउँपालिकाको कार्यालयले भाडामा लिएको छ ।
गाउँपालिकालाई गाडी आवश्यक रहेको र सस्तो भाडामा उपलब्ध भएकोले शाक्यको भाडा लिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताएका छन् । गाउँपालिकासंग एउटा मात्रै सरकारी नम्बर प्लेटको स्कोरपियो गाडी छ । अहिले लिइएको वडा सदस्यको गाडीको मासिक भाडा डेढ लाख रुपैयाँ रहेको छ । शाक्य काँग्रेस महासमिति सदस्यसमेत हुन् । उनी गाउँपालिका अध्यक्षका दावेदार थिए । तर, जिल्ला समन्वय समितिको प्रमुख बनाउने गरी उनलाई वडा सदस्य बनाइएको थियो ।
३० जेष्ठ २०७९, सोमबार १८:४३