केशव पाण्डेको तीन करोड गुम्दै

विदुर । बागमती प्रदेश सांसद केशव पाण्डेले नुवाकोटको आफ्नो निर्वाचन क्षेत्रमा हालेको प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगतको तीन करोड रुपैयाँ गुमाउने भएका छन् ।

पाण्डेकै हेलचेक्राईका कारण विभिन्न ३० शर्षिकमा विनियोजित रकम खर्च नहुने भएको हो । नुवाकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा उनले तीन करोड रुपैयाँ विनियोजन गरेका थिए । विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा उनको बजेट केन्द्रीत रहेको थियो ।

उक्त कार्यक्रम अन्र्तगतको योजनाहरूको कार्यान्वयन गराउनका लागि बेलैमा योजना छनौटसहितको आवश्यक प्रक्रियाका लागि कागजजात अगाडी बढाउनुपर्नेमा सम्झौता समेत गर्न नभ्याउने मितिमा उनले आफ्नो योजना छनोट गरेको विवरण जिल्ला समन्वय समिति नुवाकोटमा पेश गरेका छन् । एमालेबाट निर्वाचित सांसद पाण्डेले असार ६ गते जिल्ला समन्वय समिति (जिसस) मा आफ्ना कार्यक्रमहरू पेश गरेका छन् । जिससले ६ गते नै उनको योजना बाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालयमा पठाएको छ । तर ति योजनाहरूको कार्यान्वयनका लागि अहिलेसम्म विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई कुनै कार्यादेश आएको छैन ।

‘चिठीमा मिति नराखिकन हामीलाई असार ६ गते पत्र सहितको योजनाको विवरण आएको थियो, हामीले त्यही दिन प्रदेशमा इमेल गरेका छौं, जिससका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले भने । उनका अनुसार अन्य सांसदहरूले यही कार्यक्रम अन्र्तगतको योजना माघ/फागुन मै पेश गरिसकेका छन् ।

सांसद पाण्डेले रकम विनियोजन गरेका योजनाहरू मध्ये केही भने पुरा भइसकेको समेत पाइएको छ । पहिल्यै काम भइसकेको योजनामा रकम विनियोजना गरेको पाइएको हो । आफ्ना कार्यकर्तालाई आम्दानीको श्रोत बनाउनका लागि योजना छानिएको छ । ‘काम भइसकेको योजनामा पैसा हालिएको छ, सांसद पाण्डेको योजना हेर्न भ्याएका एक जनप्रतिनिधिले भने– ‘कार्यकर्ता पाल्नका लागि र आफ्नो खर्च चलाउनका लागि योजना राखेको देखिन्छ । हामी यो बजेट कार्यान्वयनमा गएको अवस्थामा पनि अनुगमन र खवरदारी गर्ने र्छौ । निर्माण स्म्पन्न भइसकेको योजनामै रकम थपेर दुरुपयोग हुन दिदिनौं ।’

१३ असार २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया