वैकल्पिक शक्तिको नेतृत्व गर्दै सुमनविक्रम पाण्डे

विदुर । मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा संघीय सांसदमा उम्मेदवारी दिएका सुमनविक्रम पाण्डे स्वन्तन्त्र र पुराना दलको विकल्प खोजिरहेका मतदाताहरूको रोजाईमा परेका छन् । पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिएका छन् ।

पुराना राजनीतिक दलबाट बैरागिएका र राजनीति परिवर्तनको अपेक्षा गरेका मतदाताहरूले पाण्डेको पक्षमा खुलेर प्रचार र सहयोग गर्न थालेका छन् । उम्मेदवार पाण्डेले पनि मतदाताहरूको आग्रह अनुसार उम्मेदवार बनेकोले उनीहरूको सहयोग र परिवर्तनको अपेक्षा आफुसंग रहेको बताए ।

क्षेत्र नं. २ र सिङ्गै नुवाकोटको विकास र समृद्धीका लागि दृढ भएर काम गर्ने इच्छाशक्ति लिएर व्यावसायीक यात्राबाट राजनीतिक यात्र तय गरेका पाण्डेले मतदाताको पहिलो रोजाइमा आफु परेको दाबी गरेका छन् । निर्वाचन केन्द्रित रहेर गरिएको घर दैलो कार्यक्रम र वैकल्पिक शक्तिमाथि स्थानीयको ‘क्रेज’ले पनि आफू यस क्षेत्रको दह्रिलो प्रतिस्पर्धीका रूपमा खडा भएको पाण्डेले बताए । सिंगो राष्ट्रसहित नुवाकोटको विकासका लागि स्प्रस्ट खाका नै तयार गरेर अघि बढेको पाण्डेको दावी छ । यस क्षेत्रका स्थानीय र उनीहरूसँगको अन्तरक्रियात्मक गतिविधिमा पनि पाण्डे मतदाताको पहिलो रोजाइ छन् ।

आफ्नो चुनावी लहर मतदाताको घरघरमा पुगिनै सकेको बताउने पाण्डे प्रतिस्पर्धात्मक निर्वाचन प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घन्टीका बारेमा जनतालाई सू–सुचित गर्न र उनीहरूको गुनासो, चासो र नुवाकोटको विकासको खाका तयार गर्न आफू निरन्तर जनतासँग भेटघाटमा रहेको बताउँछन् ।

तीन दशक लामो व्यावसायिक यात्रा र विभिन्न कम्पनीहरू चलाउँदै आएका एक सफल उद्यमी हुन् पाण्डे । करिब ३३ वर्ष लामो समय पर्यटन क्षेत्रमा रहेर काम गर्दै आएका पाण्डे अनुभव र क्रियाशिलताका हिसाबले पनि एउटा खुल्ला विश्वविद्यालय नै भएको युवाहरूको बुझाई छ । लामो समय पर्यटन क्षेत्रमा रहेर काम गरेको अनुभव र ज्ञानमात्र नभएर नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको साक्षी बनिसकेका पाण्डे हाल दुई वटा हवाइजहाज कम्पनी सहित १८ कम्पनीका सञ्चालक छन् । ‘म अरु जस्तो कमाउन राजनीतिमा आएको होइन, नागरिकहरूको सेवाकै लागि मात्रै हो’, पाण्डेले भने– ‘पुराना दलहरूले केही गरेनन्, नागरिकहरू वाक्कदिक्क छन्, समाज परिवर्तन र उनीहरूको जीवनस्तर कसरी माथि लानुपर्छ भन्ने कुरा म अब गरेर देखाउछु ।’

आर्थिक सक्षमता, ब्यावसायिक सफलता र व्यवस्थापकिय अब्बलता सबै हिसाबमा पाण्डे आवश्यक व्यक्ति भएको युवाहरूको ठहर रहेको छ । ब्यावसायिक जीवनसँगै नुवाकोटका हरेक गतिविधिमा सेवा भावसहित उपस्थित रहेन र यहाँका स्थानीय नागरिकको शैक्षिक, आर्थिक, सामाजिक स्तर उकास्नका लागि सदैव सक्रिय रहँदै आएका पाण्डे युवाहरूको पहिलो रोजाइमा पर्न सक्ने उनीहरू बताउँछन् ।

नुवाकोटका युवा अभियन्ता सरोज बानियाँ भन्छन्– ‘सुमन पाण्डे एक हिसाबले एउटा खुल्ला किताब जस्तै हुनुहुन्छ । जस्तै सयौं युवालाई उत्प्रेरणा दिँदै आउनु भएको छ र विभिन्न तालिम, ज्ञान र सीप दिएर युवाहरूलाई आत्मनिर्भर हुन उत्साह प्रदान गर्दै आउनु भएको छ’।

बानियाँ थप्छन्, ‘नुवाकोटको राजनीतिमा सुमन पाण्डेको आगमन हुनेवित्तिकै हजारौं युवाका लागि अवसर सृजना हुने छ र शैक्षिक, आर्थिक र सामाजिक सबै पक्षबाट नुवाकोटको समृद्धीमा उहाँको विशेष भूमिका रहने छ ।’

यस्तै अर्का युवा इञ्जिनियर किसन अधिकारी नुवाकोटको समग्र विकासका लागि सुमन पाण्डेको आवश्यकता रहेको बताउँछन् । उनी भन्छन्– ‘नुवाकोटको राजनीतिमा उहाँको उपस्थिति नै विशेष हुने छ’, उनी थप्छन्, ‘उहाँ एक क्षमता भएको मान्छे हो, र उहाँ जस्तो मान्छे आएर केहि गर्नुहुन्छ भन्ने सबैलाई आशा पनि छ ।’

नुवाकोट क्षेत्र नं. २ मा संघीय सांसदका लागि पाण्डे सहित बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा एमालेका नारायणप्रसाद खतिवडाको उम्मेदवारी छ ।

२० कार्तिक २०७९, आईतवार १६:४७



तपाईको प्रतिक्रिया