आफ्नै खुट्टामा बञ्चरो हान्दैनौं : तामाङ

विदुर । नुवाकोट क्षेत्र नं. १ मा बाम–लोकतानित्र गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्का नेता हितबहादुर तामाङले गठबन्धनका उम्मेदवारलाई भोट नहाली सुखै नभएको बताएका छन् । माओवादीका उम्मेदवारलाई काँग्रेसले र काँग्रेसका उम्मेदवारलाई माओवादीले भोट नहाल्ने हल्ला एमालेले योजनाबद्ध रुपमा फैलाएको उनले बताएका छन् । एकीकृत समाजवादीका मतदाताले एमालेलाई भोट हाल्ने र माओवादी–काँग्रेसमा समस्या आउने भनेर गलत हल्ला फैलाएको तामाङले बताए । ‘हामी अग्रगामी नागरिक र हाम्रा कार्यकर्तालाई आफ्नै खुट्टामा बञ्चरो हान्ने छन् भनेर विश्वास गर्दैनौं’ तामाङले भने ।

हिजो सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उम्मेदवार तामाङले गठबन्धनले चुनाव हार्यो भन्दै अपत्यारिलो भ्रमको खेती एमालेले गर्नु हाँसोलाग्दो विषय बाहेक केही नभएको बताएका छन् । काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतसंगै मञ्चमा रहेका तामाङले डा. महतले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिन र उनको सपना पुरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । ‘मलाई डा. रामशरण महतलाई नेता मान्नका लागि मलाई कुनै पश्चाताप हुनेछैन, हिचकिचाहट हुँदैन, यो क्षेत्र गठबन्धनमा काँग्रेसको भाग परेको भए म उहाँलाई नै सिफारिस गरेर यसै गरी काँधमा काँध मिलाएर यो अभियानमा हुन्थ्येँ’ तामाङले भने ।

२३ कार्तिक २०७९, बुधबार १४:२९



तपाईको प्रतिक्रिया