बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र

काठमाडौँ । निर्वाचनका दिन मतदान अधिकृत र मतदानस्थलमा तैनाथ सुरक्षाकर्मीसहितका कर्मचारीबाट हुन सक्ने आचारसंहिताविपरीतका गतिविधि निगरानी गर्न सरकारले सबै निर्वाचन क्षेत्रमा विशेष टोली परिचालन गरेको छ । निर्वाचन आयोगसँग समन्वय गरेर गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत खटाएको टोलीलाई आयोग र प्रमुख जिल्ला अधिकारीको समेत अधिकार प्रत्यायोजन गरिएको छ ।

सत्ता र प्रतिपक्षमा रहेका दलले नतिजा आफ्नो पक्षमा पार्न कर्मचारी तथा सुरक्षाकर्मीलाई प्रभावित बनाउन सक्ने जोखिम औंल्याउँदै गृहले मतदानस्थलको अनुगमन र निगरानी गर्न विशेष अधिकारसहितको छुट्टै संयन्त्र खटाएको हो । संयन्त्रलाई मंसिर १ देखि ५ सम्मको कार्यावधि तोकिएको छ ।

आयोगले शिक्षक, निजामती र अरू सेवाका सरकारी कर्मचारीलाई मतदान अधिकृत बनाएर खटाएको छ । उनीहरूका दलीय आस्था कार्यसम्पादनका क्रममा पर्न सक्ने जोखिम देखिएपछि घुम्ती टोलीलाई निगरानीमा पठाइएको हो । सहसचिव प्रमुख जिल्ला अधिकारी रहने जिल्लामा उपसचिव र उपसचिव प्रमुख जिल्ला अधिकारी रहने जिल्लामा शाखा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा अनुगमन संयन्त्र खटाइएको छ । टोलीलाई आचारसंहिता पालनादेखि बुथ क्याप्चर र फर्जी मतदानजन्य गतिविधिमाथि पनि विशेष निगरानी राख्न भनिएको छ । त्यस्तै विगतमा अस्वाभाविक रूपमा मत खसेका बुथलाई पनि विशेष निगरानीमा राख्न निर्देशन दिइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिताविपरीत गतिविधि गर्ने कर्मचारी र सुरक्षाकर्मी सबैलाई कारबाही गर्न फिल्डमै अधिकारसम्पन्न संयन्त्र तैनाथ गरिएको बताए । ‘हामीले केन्द्रबाट तल परिचालन गरेको टिमलाई सूचना दिने र तत्काल एक्सनमा जानका निम्ति यस पटक कारबाहीको अधिकार तल प्रत्यायोजन गरेका छौं,’ थपलियाले भने, ‘मूल रूपमा जिल्लामा अनुगमन गर्न संयन्त्र छ । त्यस मातहत प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा प्रमुख र हामीले अनुगमनका लागि भनेर तोकेका अधिकृत छन् । यसो हेर्दा शान्त अवधि तर विगतका व्यवहार हेर्दा सबैभन्दा अशान्त अवधि भनेजस्तो व्याख्या भएको छ । अहिले हामीले यो साँच्चिकै शान्त अवधि हो भन्ने पार्नका लागि निजामती कर्मचारीको नेतृत्वमा आयोग र प्रमुख जिल्ला अधिकारीका अधिकार प्रत्यायोजन गरेर जिल्ला–जिल्लामा संयन्त्र परिचालन गरिसकेका छौं ।’

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूबाट हुन सक्ने बुथ कब्जा र फर्जी मतदानदेखि निर्वाचनविरोधी समूहका गतिविधि थप बढ्न सक्ने भन्दै त्यहीअनुसार सुरक्षा व्यवस्थापन तयारी गर्नुपर्ने सुझाव सुरक्षा निकायले गृह मन्त्रालय र आयोगलाई दिएका थिए । सोहीबमोजिम गृहले अधिकारसम्पन्न संयन्त्र परिचालन गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि एकै चरणमा निर्वाचन हुँदै छ । निर्वाचनले आगामी शक्तिको समेत हिस्सा तय गर्ने भएकाले अनुकूल नतिजा हात पार्न दलहरूले नै सुरक्षाकर्मी र कर्मचारीलाई दुरुपयोग गर्न सक्ने जोखिम रहन्छ । त्यसप्रति संवेदनशील भएरै सरकारले मतदान सम्पन्न गर्ने जिम्मेवारी लिएका कर्मचारी र सुरक्षाकर्मीका कामकारबाहीमाथि नै छड्के निगरानी गर्न छुट्टै संयन्त्र तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ । कैदी, कर्मचारी, सुरक्षाकर्मी र वृद्धाश्रममा रहेकालाई मतदान गर्न १ सय ४१ अस्थायी मतदानस्थल निर्धारण गरेको छ । तोकिएका मतदानस्थलमध्ये करिब एकतिहाइलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

गृह मन्त्रालयका अनुसार ३ हजार ८० अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ लाई कम संवेदनशील मतदानस्थलको सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलताअनुसार वर्गीकरण गरिएका मतदानस्थलको सुरक्षा चुनौती र रणनीति पनि फरक–फरक रहने भन्दै संयन्त्रले सोहीअनुरूप कार्यसम्पादन गर्ने गृहले जनाएको छ । संयन्त्रलाई पदीय मर्यादा र आचारसंहिताविपरीत गतिविधि गर्नेमाथि कारबाही सिफारिस, शान्ति सुरक्षामा खलल पुग्ने स्थिति आए गोली हान्ने अधिकारदेखि मतदानमा सहजीकरण गर्नेसम्मका जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि संयन्त्रलाई प्रत्येक निर्वाचन क्षेत्रमा खटाइएको बताए । शुक्रबार गृह सचिव सिंहले सेनाका रथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई साथमै राखेर आयोजित पत्रकार सम्मेलनमा निष्पक्षता कायम नगर्ने सुरक्षाकर्मी र कर्मचारीमाथि कारबाही गरिने स्पष्ट पारे । निष्पक्षताको परिपालना कर्मचारी र सुरक्षाकर्मीबाट हुनुपर्ने भन्दै उनले कसैले दलीय आस्था झल्किने व्यवहार देखाए उनीहरू कारबाहीको भागीदार हुने उनको भनाइ छ ।

गृह सचिव संघमा रहने संयुक्त निर्वाचन कार्यसञ्चालन केन्द्रको प्रमुख पनि हुन् । प्रदेश र जिल्लामा पनि निर्वाचन कार्यसञ्चालन केन्द्र प्रयोगमा ल्याइएको छ । ‘मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीको दायित्व निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु हो,’ सिंहले भने, ‘त्यसबाहेक कार्य गर्ने जोकोहीलाई कारबाही हुन्छ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल निर्वाचनको व्यवस्थापन गर्ने र सुरक्षा दिने निकायको विश्वसनीयता सबैभन्दा महत्त्वपूर्ण हुने बताउँछन् । चुनावी मैदान सबैका लागि समान हुनुपर्ने उनको भनाइ छ । ‘निर्वाचन व्यवस्थापन र सुरक्षा दिने संस्थाको जति धेरै विश्वसनीयता भयो, उसले गरेका कामको विश्वसनीयता त्यति नै बढ्छ । सानातिना कमीकमजोरी भए पनि नियतवश होइन, थाहा नभएर होला भनेर हेरिन्छ,’ पोखरेल भन्छन्, ‘विश्वसनीयता बढाउन उसका कामकारबाही र बोली एउटै र समान हुनुपर्छ ।’

निर्वाचनमा साढे ५ लाखजति सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । गृह सचिव सिंहका अनुसार २ लाख ९८ हजार ५ सय ७९ सुरक्षाकर्मी र २ लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालित छन् । निर्वाचन सुरक्षाअन्तर्गत मतदानस्थल सुरक्षामा प्रहरी र म्यादी प्रहरी खटिएका छन् । मतदानस्थलबाहिर सेना वा सशस्त्र जुन संयन्त्र नजिक छ, उसैबाट नियमित गस्ती गर्नेदेखि निर्वाचन क्षेत्र निगरानीमा तैनाथ गराइएको छ । सेनाले निर्वाचन क्षेत्रलाई कम्तीमा एक, भूगोल तथा जनसंख्याका आधारमा आवश्यकताअनुसार थप अस्थायी बेस खडा गराएर ‘एरिया डोमिनेसन’ मा जनशक्ति परिचालन गरेको छ । गृह सचिव सिंहले घटना घटेको ३० मिनेटभित्र घटनास्थल पुग्ने गरी सैनिक जनशक्तिलाई निर्वाचन सुरक्षामा खटाइएको जानकारी दिए । उनका अनुसार मतदानअघि, मतदान अवधि र मतदानपछिको तीन चरणलाई छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर सुरक्षा कार्ययोजना लागू गरिएको छ ।

‘चुनावलाई लेबल अफ प्लेन फिल्ड पनि भन्छन्, मैदान सबै खेलाडीलाई बराबर भयो भने मात्रै खेल निष्पक्ष हुन्छ, फिल्डलाई कतै अग्लो, कतै होचो बनाइदिने हो भने खेल निष्पक्ष हुँदैन,’ पूर्वआयुक्त पोखरेल भन्छन्, ‘खेलको अम्पायर (निर्वाचन आयोग) हो, उसको व्यवहार समान भएन, उसको बोली र काममा एकरूपता भएन भने त्यसले पनि लेभल प्लेन फिल्ड बिगार्न सक्छ । कसैलाई कडा कारबाही गरिदियो, कसैलाई कारबाही गरेन भने खेल बिग्रिन्छ ।’

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व निर्वाचन आयोग, सरकार र राजनीतिक दल, सबैको सामूहिक दायित्व रहेको बताउँछन् । ‘निर्वाचनमा विशेष भूमिका निर्वाचन आयोगको हुनु स्वाभाविक हो, सबैले मिलेर निष्पक्ष, विश्वसनीय बनाउनुपर्छ,’ यादव भन्छन्, ‘निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्ने अम्पायरको भूमिका आयोगको हो, निर्वाचनमा भाग लिने दलहरू आयोगका लागि सबै समान हुन्, निर्वाचनमा सरोकारवालाहरूले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।’

९ सय ३ स्थानमा बम डिस्पोजल टोली तैनाथ

सेनाले निर्वाचनविरोधी समूहबाट हुन सक्ने विस्फोट र आगजनीजन्य गतिविधि निगरानी र नियन्त्रण गर्न देशभरका ९ सयभन्दा बढी स्थानमा बम डिस्पोजल टोली परिचालन गरेको छ । जिल्लाको सुरक्षा संवेदनशीलता र निर्वाचनविरोधी समूहका प्रभाव क्षेत्र एवं अन्य जोखिमको आकलन गरेर सेनाले देशका विभिन्न ९ सय ३ स्थानमा बम डिस्पोजल टोलीलाई खटाएको हो । आवश्यकताअनुसार डिस्पोजल टोलीको संख्या बढाइने सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले जानकारी दिए ।

गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन बहिष्कार गर्ने राजनीतिक दल, व्यक्ति तथा समूह उच्च निगरानीमा रहेको जनाए । निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न गर्नु सरकारको दायित्व भन्दै गृह सचिव सिंहले मतदानमा अवरोध पुर्‍याउने र भौतिक क्षति गराउने पक्षविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर कारबाहीको दायरामा ल्याइने बताए । निर्वाचनविरुद्ध गतिविधि गर्ने कतिपय प्रहरी नियन्त्रणमा रहेको पनि उनले स्पष्ट पारे । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसहित विभिन्न डेढ दर्जन समूहले निर्वाचनविरुद्ध गतिविधि गरिरहेको र उनीहरूका गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई मध्यनजर गरेर देशभरबाट प्रशासनले दर्ता भएका १ हजार ८ सय ५४ हतियार संकलन गरेको छ भने विभिन्न व्यक्तिको साथमा रहेका तर दर्ता नभएका १ सय ७१ जफत गरेको छ । यसैगरी निर्वाचनमा मतपेटिका ढुवानीदेखि गस्तीसम्मका काममा सेनाबाहेक निजी हेलिकोप्टर पनि आवश्यकताअनुसार प्रयोग गरिने गृहले जनाएको छ । गस्तीका लागि इटहरी, बर्दिबास, काठमाडौं, पोखरा र सुर्खेतमा हवाई बेस स्थापना गरिएको छ । हिमाली र उच्च पहाडी तथा आवश्यक ठानिएका इलाकाबाट मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिने गृहले जनाएको छ ।

३ मंसिर २०७९, शनिबार ०९:५७



तपाईको प्रतिक्रिया