नुवाकोट १ को प्रदेश २ मा काँग्रेसका महत विजयी

खरानीटार । नुवाकोटमा सत्ता गठबन्धनका उम्मेदवारहरुले दोश्रो जित हात पारेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् । उनले एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ ले हराए । यसको आधिकारिक घोषणा हुने भने बाकी छ ।

यस अघि नुवाकोट क्षेत्र नं. २ को १ मा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना प्रदेश सभामा एमालेलाई हराउदै विजयी भइसकेका छन् ।

महत नेपाली काँग्रेस नुवाकोटका सभापति समेत हुन् । महतले १३ हजार ७२७ मत ल्याएका छन् भने उनका निकटम एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाए । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट बद्री मैनालीले जितेका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।

नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश २ मा ककनी, लिखु, सुर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाको १, २ र ५ नम्वर वडा छन् ।

एमाले नुवाकोटका अध्यक्ष समेत रहेका मैनाली अहिले क्षेत्र नं. १ बाटै प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट प्रतिस्पर्धा गरिरहेका छन् । उनी माओवादी केन्द्रका हितबहादुर तामाङ भन्दा अहिले ४०४ मतले पछि परेका छन् । मत गणनादेखि अगाडी रहेको एमालेका मैनालीलाई शिवपुरी गाउँपालिकाको वडा नंं १ र २ सम्म आइपुग्दा माओवादी केन्द्रका तामाङले पछि पारेका हुन् । नुवाकोट क्षेत्र नं. १ को सुर्यगढी, लिखु, पञ्चकन्या र ककनी गाउँपालिकाको मत गणना भईसकेको छ । अब शिवपुरीको वडा नंं. ३ देखिका बाँकी वडा, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको मत गणना हुन बाँकी छ ।

८ मंसिर २०७९, बिहीबार १६:४१



तपाईको प्रतिक्रिया