एमालेको नमिलेको हिसाव

सत्ता गठबन्धनबाट नुवाकोटमा निर्वाचित उम्मेदवारहरू क्रमशः अर्जुननरसिंह केसी, रामप्रसाद ढुङ्गाना, बहादुरसिंह लामा तामाङ, हितबहादुर तामाङ, राधिका तामाङ र रमेशकुमार महत ।

विदुर । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई नुवाकोटमा क्लीन स्वीप’ गरेको छ । दुई प्रतिनिधि निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमालेका कुनै पनि उम्मेदावर विजयी हुन सकेनन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले नुवाकोटमा बरावरी सिट जितेको छ । काँग्रेसले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट, माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट जितेको छ ।

काँग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ मा जिल्ला सभापति रमेशकुमार महत र प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २ मा केन्द्रीय सदस्य तथा निर्वतनमा संघीय सांसद बहादुरसिंह लामा तामाङ बिजयी भए ।

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पोलिटव्युरो सदस्य हितबहादुर तामाङ विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा केन्द्रीय सदस्य तथा बागतमी प्रदेशका निर्वतनमा उपसभामुख राधिका तामाङ र प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ माओवादीको बागतमी उपाध्यक्ष रामप्रसाद ढुङ्गाना बिजयी भए ।

सत्ता गठबन्धनको जितले नेकपा एमालेका आशालाग्दा नेताहरूलाई राजनीतिक अवरोध सृजना गरेको छ । निर्वतनमा संघीय सांसद नारायणप्रसाद खतिवडा, जिल्ला अध्यक्ष तथा निर्वतनमा प्रदेश सांसद बद्री मैनाली, एमाले बागमतीका अध्यक्ष तथा निर्वतनमा सांसद केशवराज पाण्डेलाई धक्का लागेको छ । भर्खरै काँग्रेस छाडेर एमाले आएका प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार सुशिल खड्काको भने ‘राजनीति विज्ञापन’ भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार पुर्णलाल श्रेष्ठलाई पार्टी भित्र र आम जनताबीच राजनीति स्थापित गर्न अहिलेको हारले मद्दत गरेको छ । चुनाव जित्न गाह्रो छ भन्ने मानसिकता लिएर मैदानमा गएको श्रेष्ठले अर्को पटकका लागि सजिलो हुने रणनीति अनुसार सक्रिय भएको देखिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. २ मा उम्मेदवार बनेका बिजय लोप्चनलाई भने लामो समयपछि पार्टीमा प्राप्त भएको अवसरको सदुपयोग गर्न नसकेको खिन्नता निर्वाचन परिणामले दिएको छ ।

एमालेहरू प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ भने जित्नेमा बढी आशावादी थिए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना कमजोर र प्रदेश सभामै काँग्रेसको तर्फबाट गीता अमात्यको कायम भएको उम्मेदवारीका कारण केशवराज पाण्डेको जितको सम्भावना रहेको उनीहरूको तर्क थियो । पाण्डे आफैंमा बलियो र २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट जितेका कारण पाण्डे चाँही जित्नेमा ढुक्क थिए । ४४९ मतले ढुङ्गानाले जित्नुले पनि उनीहरूको यो तर्कलाई बल पुगेको छ । रुख चिन्हका गीता अमात्यले पनि ४ हजार ६२ मत लिएको छ ।

प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडा भने यस पटक उठ्ने मुडमा थिएनन् । उनले यस पटक उठ्ने उम्मेदवार नपाएकै कारण बाध्यताले उम्मेदवारी दिएका हुन् । खतिवडाले चुनाव अघि पटक पटक खुलेर ‘कोही कसैलाई रहर भए उठ्नु’ भन्दै आएका थिए ।

क्षेत्र नं. १ मा बद्री मैनाली भने काँग्रेस–माओवादीको अन्र्तसंर्घष र माओवादी नरुचाउने भोटका कारण जित्ने दाउमा थिए । काँग्रेसबाट माओवादीमा पर्याप्त भोट ‘ट्रान्सफर’ नहुने र द्धन्द्धकालिन कुरा सम्झेर र २०७४ मा डा. रामशरण महत हराएको इखले यो पाली काँग्रेसले नै माओवादी हराउने बुझाई एमालेमा थियो । शिवपुरी र दुप्चेश्वरको मत गणना नहुँदासम्म जितिरहेका बद्री मैनालीलाई अन्तिम परिणामसम्म पुग्दा माथी उक्लन दिएन । तर काँग्रेसबाट गठबन्धका नाममा हितबहादुरलाई जानुपर्ने उल्लेख्य मत भने मैनालीले लिए ।

२०७९ बैशाखमा काँग्रेस त्यागेर एमाले आएका सुशीलकुमार खड्काको भने हिसाव कहिपनि मिलेन । पैसा भएपछि चुनाव जितिन्छ भन्ने मानसिकताका उम्मेदवार खड्का आफै एमालेभित्र रुचाइएन । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका राधिका तामाङसंग प्रतिस्पर्धा गरेका खड्कालाई कत्तिपय एमालेले समेत असहयोग गरे । पदका लागि पार्टी फेरेको र टिकट नपाए एमालेपनि छाड्ने उनको धम्कीकै कारण पार्टी लाचार भएर टिकट दिएको चुनाव अघिदेखिनै टिप्प्णी हुने गरेको थियो । खड्काको ‘अराजनीतिक इन्ट्री’ भन्दै एमालेका पुराना कार्यकर्ताहरूले जिल्ला अध्यक्ष मैनाली समक्ष विद्रोहको आबाज समेत बुलन्द गरेका थिए । ‘भोलिको चुनाव छ यसो नगरु’ भनेर उनले कार्यकर्तालाई साम्य पारेका थिए । शिवपुरी गाउँपालिकाको मत गणना सुरु हुँदैमा खड्काले आफ्नो फेसबुक पेजमा पोष्ट गरेर मतदाताहरूलाई धन्यवाद सहित आधार व्यक्त गरेका थिए ।

खसेको मतको २० प्रतिशत मत समेत गणना नभइकनै उनलाई चुनाव जितन्न भन्ने लागेको थियो । शिवपुरीका पहिलो गणना भएकै वडामा राधिका तामाङ साढे सात सय भन्दा बढी मतले अगाडी लागेपछि खड्काले आश मारेका थिए ।

हितबहादुर तामाङ
प्रतिनिधि सभा सदस्य, नुवाकोट क्षेत्र नं. १

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् । दुई छोरी र एक छोरा सहित हितबहादुर काठमाडौंको चण्डोलमा डेरामा बस्छन् । दाजुभाइ सामान्य किसानी कर्ममा छन् । हितबहादुरले अमरज्योती मावि खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरे । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण पेशा गरे ।

हितबहादुर १६ वर्षकै उमेरमै २०३६ सालमा राजनीतिमा लागेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव बने । उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने । २०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने । २०५२ सालमा जनयुद्धमा सहभागी हुँदै भूमिगत रहे । २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । हितबहादुर तामाङ २०५८ मा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० माघ १ मा ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।

उनलाई २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई पटनास्थित जेलमा राख्यो । माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत तामाङ बने । तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने । २०६४ सालमा नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतसँग १०४ मतले पहिलो संविधान सभा निर्वाचनमा पराजित भए । २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।

नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, काँग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं. १ बाट काँग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने ।

राधिका तामाङ
प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. १ प्रदेश नं. १

२०४० सालमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंं. ३ (साविकको लिखु गाविस पोखरे) मा जन्मिएका राधिका तामाङको यो दोश्रो विजय यात्रा हो ।

२०७४ सालमा उनी यही क्षेत्रबाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए । बागमती प्रदेशको निवर्तनमा उपसभामुख तामाङ संघीय सरकारको कृषि राज्यमन्त्री समेत भइसकेका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका तामाङ २०६२ सालमा नुवाकोटको जनसरकार प्रमुख समेत थिए । माओवादीको त्यस बेलाको समानान्तर सत्ता जनसरकार प्रमुख बन्दा तामाङ १८/१९ वर्षका मात्रै थिए । १० कक्षा पढ्दापढ्दै माओवादी जनयुद्धमा पुर्णकालिन बनेर भुमिगत भएका तामाङले शान्ति प्रक्रियापछि मात्रै आफ्नो पढाईलाई निरन्तरता दिएका हुन् । २०६४ मा एसएलसी दिएर ब्याचलर अध्ययनरत छन् ।

कृषक परिवारमा जन्मिएका उनको पहिलो पतिको युद्धकालमा तत्कालिन शाही नेपाली सेनाबाट हत्या भएको थियो । विवाह भएको एक महिनामै तामाङ पतिको पार्टीको काम गर्ने सिलसिलामा (पार्टीको मुखपत्र ‘छाल’ प्रकाशन गर्न जाने क्रममा बाटोमा) हत्या भएको थियो । सिन्धुलीका डिबी तामाङसंग दोश्रो विवाह गरेका उनको हाल एक छोरा छन् । आमा राम्री तामाङ र बाबु शेरबहादुर तामाङको उनी कान्छी छोरी हुन् । उनको दुई दिदी मात्रै छन् । आमा काँग्रेसको तर्फबाट तत्कालिन समयमा दुई पटक वडा अध्यक्ष निर्वाचित भएका थिए । बुबा शाही नेपाली सेनामा जागिरे जीवन विताएर सेवा निवृत्त भएका हुन् । उनका बुबाआमाको निधन भइसकेको छ ।

रमेशकुमार महत
प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. १ प्रदेश नं. २

५४ वर्षिया रमेशकुमार महतले दुई वटा महत्वपुर्ण जित हातपार्न दुई वटै निर्वाचनसम्म पुग्नु परेको छ । अहिले प्रदेश सांसद र काँग्रेसको जिल्ला सभापतिमा दुई/दुई पटकको प्रयासमा उनले सफलता हात पारेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ मा उम्मेदवारी दिएका ५४ वर्षिया रमेशकुमार महतको जन प्रतिनिधिका रुपमा चुनिने दोश्रो प्रयासमा सफल भएका छन् । उनले यही क्षेत्रमा २०७४ सालको चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालिन चुनवामा उनी अहिलेका क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा हितबहादुरसंग पराजित भएका बद्री मैनालीसंग हारेका थिए ।

अहिले महतले विजयी हासिल गरेको प्रदेश निर्वाचन क्षेत्रमा यस अघि एमालेका मैनाली निर्वाचित भएका थिए । मैनाली अलिहे एमाले नुवाकोटका अध्यक्ष समेत छन् । महतले यस क्षेत्रमा एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ मतले हराएका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनसंग भिडेका महत पराजित भएका थिए । अघिल्लो निर्वाचनमा हराउने माओवादीनै साथ लिएर अहिले महत निर्वाचित भएका छन् । नेपाली काँग्रेस नुवाकोटका सभापति समेत रहेको महत नुवाकोट काँग्रेसको राजनीतिमा मध्यकालिन नाम हो । डा. रामशरण महतको उदयसंगै उनी काँग्रेसको राजनीतिमा सक्रिय छन् । जनमोर्चाबाट राजनीति थालेका रमेशकुमार महतले डा. रामशरण महत नुवाकोटको तत्कालिन क्षेत्र नं. २ मा (यस अघि नुवाकोटमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वटा) उम्मेदवार बनेपछि उनी काँग्रेसमा उदाएका हुन् ।

सात पटक अर्थमन्त्री बनेका काका डा. रामशरण महतको निजी सचिवका रुपमा झण्डै दुई दशक काम गरेका उनले आफुलाई त्यहीबाट पार्टी भित्र स्थापित गरेका हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी १० मतले जिल्ला सभापतिमा निर्वाचित भए । महत र केसी गुटगत राजनीति झाँगिएको नुवाकोटको काँग्रेस राजनीतिलाई उनले दोश्रो पटकको प्रयासमा मात्रै आफ्नो हात पारेका हुन् । यो पटक डा. केदारनरसिंह केसीलाई उनले हराए भने पार्टी १३ औं महाधिवेशनमा डा. केदारनरसिंहका भाई जगदीश्वरनरसिंह केसीसंग १६ मतले जिल्ला सभापतिमा पराजित भएका थिए ।

अर्जुननरसिंह केसी
प्रतिनिधि सभा सदस्य, नुवाकोट क्षेत्र नं. २

केन्द्रीय राजनीतिक वृत्तमा चलेको नाम अर्जुननरसिंह केसी अहिले ७५ का भए । मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धना तफृबाट उनी नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई झण्डै १२ हजार मतले पछि पार्दै जित हासिल गरेका छन् ।

उनको यो चुनाव सहितको उम्मेदवारी नवौं पटक हो । ५ पटक विजयी भएका छन् चने ४ पटक पराजित भए । उनी तीन पटक मन्त्री र एक पटक राज्य मन्त्री बनेका छन् । स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना, सहरी विकास मन्त्रालय गरी चार वटा मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

केसी २००४ साल असोज ११ गते नुवाकोटको तत्कालीन राउतबेशी–४ मा जन्मिएका हुन् । उनी ०१८ साल अर्थात १४ वर्षको उमेरदेखि नै राजनीतिमा आवद्ध भएका थिए । केसीले पार्टी प्रतिबन्धको अवस्था र आन्दोलनका क्रममा पटक–पटक भूमिगत भएको एवं ६ वर्ष ९ महिना बन्दी जीवन बिताएका छन् । केसीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुन शास्त्रमा स्नातक गरेका छन् । तत्कालीन प्रतिबन्धित काँग्रेसको राजनीति गर्दै उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा राजनीति शास्त्र अध्यापन गराईरहेका थिए । पञ्चायत समर्थकहरूले २०३२ सालमा उनलाई जागिरबाट बर्खास्त गरिदिएका थिए ।

२०३८ साल बैशाख २७ गते अर्जुननरसिंह केसी राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यसबेला नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्यमा दुई जना प्रतिनिधि चुनिन्थे । त्यो निर्वाचनमा नुवाकोटमा १ लाख ६ हजार ३ सय मतदाता थिए । जसमा २० हजार २ सय १९ मत प्राप्त गरी केसी पहिलो पटक राष्ट्रिय पञ्चायतमा छिरेका थिए । त्यस निर्वाचनमा नुवाकोटबाट राष्ट्रिय पञ्चायतमा चुनिनका लागि २२ जनाबीच प्रतिस्पर्धा भएको थियो । २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलामा असार २४ गते केसी स्वास्थ्य राज्य मन्त्री बने ।

केसी २०४४ जेठमा भएको जिल्ला पञ्चायतको निर्वाचनबाट नुवाकोटको जिल्ला पञ्चायत सभापति चुनिएका थिए ।

२०७४ को निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. २ बाटै झण्डै १० हजार मतान्तरमा तत्कालीन बाम गठबन्धनका एमाले उम्मेदवार नारायणप्रसाद खतिवडासँग पराजित भएका थिए । खतिवडा ३६ हजार ८९२ मत मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुँदा केसीले २६ हजार ३३५ मत लिए । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. १ बाट १७ हजार ३४६ मत ल्याएर निर्वाचित भए । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमला सुवेदीले ९ हजार १४५ मत प्राप्त गरे । २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा केसी तत्कालीन सुवेदीसँग पराजित भएका थिए । सुवेदी २० हजार ५८१ मत ल्याएर विजयी हुँदा केसीले १२ हजार ९८४ मत मात्रै पाएका थिए ।

त्यस अघि २०५६ को निर्वाचनमा पनि केसी नुवाकोट क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट तेस्रो पटक उम्मेदवार भएका थिए । त्यो निर्वाचनमा उनी नेकपा (एमाले) का महेन्द्रबहादुर पाण्डेसँग ५६९ मत अन्तरले पराजित भए । त्यसबेला पाण्डेले १३ हजार १७७ र केसीले १२ हजार ८०८ मत प्राप्त गरेका थिए । २०५१ को मध्यावधी निर्वाचनमा केसी नुवाकोटको क्षेत्र नं. ३ बाटै उम्मेदवार भएका थिए । त्यस पटक १५ हजार ९५१ मत ल्याएर निर्वाचित भए । केसीका निकटतम् प्रतिद्धन्द्धी राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले १० हजार ३८७ र महेन्द्रबहादुर पाण्डेले ९ हजार ९४० मत प्राप्त गरेका थिए । २०५१ मा केसीको जित तेस्रो पटक संसद प्रवेश थियो ।

सभापति गिरिजाप्रसाद कोइरालाको कालमा केसी काँग्रेसका सह महामन्त्री, प्रवक्ता र विभिन्न विभागीय प्रमुख भए ।

रामप्रसाद ढुङ्गाना
प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. २ प्रदेश नं. १

नुवाकोट जिल्ला पञ्चायतका उपसभापति समेत भइसकेका रामप्रसाद ढुङ्गाना यतिबेला उमेरले ठ्याक्कै ७२ काटेर ७३ वर्षमा कुँदिरहेका छन् । उनी उप सभापति हुँदा अहिले उनीसंग गठबन्धनमा रहेर प्रतिनिधि सभामा नुवाकोट क्षेत्र नं. २ बाट भर्खरै निर्वाचित भएका काँग्रेस नेता अर्जुननरसिंह केसी नै सभापति थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका १ आरुखर्कमा २००६ साल फागुन २ गते जन्मिएका रामप्रसाद ढुङ्गाना पञ्चायतदेखि बहुदल हुँदै जनयुद्ध र संघीय लोकतान्त्रीक गणतन्त्रको यो व्यवस्थासम्म अविराम राजनीतिको यात्रामा क्रियाशील छन् । ढुङ्गाना अहिले नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष छन् ।

पिता गुरुप्रसाद र आमा टिकादेवीको सन्तानको रूपमा सामान्य किसान परिवारमा जन्मिएका उनले २०२७ सालमा मेट्रिक्स पास गरेका थिए । उनी २०३३ सालदेखि राजनीतिक सक्रिय छन् । पञ्चायतको राजनीतिमा इमान्दारिताको पहिचान बनाएका उनी माओवादी आन्दोलनमा होमिएपछि सबैको ‘बा’ उपनाम पाएका थिए । उनको पार्टी भित्र उपनाम थियो ‘कमरेड कपिल’ । जनयुद्धको बेला चितवन, मकवानपुर, धादिङ, नुवाकोटका विभिन्न भुगोलमा उनको जिम्मेवारी थियो ।

नुवाकोट जिल्ला पञ्चायतका उपसभापतिसम्म भएका उनलाई जनयुद्धमा माओवादीको जनसत्ता संयुक्त क्रान्तिकारी जनपरिषद्ले सञ्चालन गरेको जनअदालतमा जिल्ला न्यायाधिशको जिम्मेवारी दिएको थियो । उनी २०५८ सालको मंसिर ११ गते संकटकाल घोषणासँगै भूमिगत राजनीतिको यात्रामा सामेल भए ।

उनको सांसदका रुपमा पहिलो जिम्मेवारी हो । लाभको पदमा कहिल्यै देखानपरेका ढुङ्गानाले पहिलो अवसरलाई नै सदुपयोग गरेका छन् । माओवादी नेताका रुपमा भन्दा पछि उनी पुराना राजनीतिज्ञका रुपमा जिल्लामा परिचित छन् ।

बहादुरसिंह लामा तामाङ
प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. २ प्रदेश नं. २

विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङले जनप्रतिनिधिको भूमिकामा प्रदेश सभाको यात्रा आरम्भ गरेका छन् । दुई पटक संघीय सांसद भइसकेका काँग्रेसका केन्द्रीय सदस्य तामाङले नुवाकोटबाट यस पटक बागमती प्रदेश सांसदमा उम्मेदवारी दिए र भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार जित निकाले । तामाङको ५ बर्षे राजनीतिक यात्रा प्रदेशमा खुम्चिएको छ ।

कुनै समय तत्कालिन नेकपा माओवादकिा केन्द्रीय उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई प्रतिनिधि सभाको चुनवामा पराजित गरेर ‘हाइट बढाएका’ तामाङ प्रदेश सभामै यस पटक भिड्लान् भन्ने अनुमान कमलाई थियो । तर प्रदेशको मुख्यमन्त्री बन्नका लागि भन्दै उनी प्रदेश सभामा उठेको चर्चा चुनाव अघिदेखि सुरु भएको छ । सत्ता पक्षको गठबन्धनबाट नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा २ मा विजयी भएका तामाङ बागमती प्रदेशको मुख्यमन्त्री नै हुने ठोकुका सहयात्री दलका नेताहरूले गरका छन् । चुनावी सभामा यस कुरालाई माओवादी केन्द्र नुवाकोटका सह ईञ्चार्ज एवं यही निर्वाचन क्षेत्रका निर्वतनमा सांसद हिरानाथ खतिवाडाले व्यक्त गरेका थिए । यस विषयमा तामाङ स्वंयमले भने मुख खोलका छैनन् ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा नुवाकोटको तत्कालिन प्रतिनिधि सभा क्षेत्र नं. ३ मा माओवादकिो पोष्टबहादुर बोगटीसंग बहादुरसिंह लामा तामाङ एक हजार ६०० मसतले पराजित भएका थिए । २०७० को दोश्रो संविधान सभा निर्वाचनमा त्यत्तिनै मतले बोगटीलाई तामाङले हराएर ऐतिहासिक जित निकाले । २०७४ को चुनवामा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका तामाङ अहिले प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । संघीय मन्त्री बन्ने दौडधुपमा पछाडी परेका तामाङ अहिलेको देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने हल्ला ब्यापक थियो । उनले त्यो अवसर पाएनन् ।

२०४३ सालदेखि विद्यार्थी राजनीतिमा लागेका तामाङले २०५४ सालमा गाबिस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकाको सुरुवात गरेका हुन् ।

१२ मंसिर २०७९, सोमबार ०५:४४



तपाईको प्रतिक्रिया