छ महिनामै गृहमन्त्री !

काठमाडौँ । आफ्नो व्यक्तिगत हुटहुटीपछि ६ महिनाअघि मात्रै राजनीतिमा हाम्फालेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आमनिर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै संघीय संसदमा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ साल आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाउने अनुमति दिएर सञ्चारकर्मको दोस्रो इनिङको विधिवत सुरुवात गरिदिएको सात वर्षपछि लामिछाने उनकै आग्रहलाई टार्न नसकेर सरकारमा सामेल भएका हुन् भन्दा अत्युक्ति हुँदैन । अरुले नपत्याउँदा ओलीले त्यसबखत लगाएको गुन उनले आफ्नो पहिलो टीभी कार्यक्रम बन्द गरिदिने पुष्पकमल दाहालको नेतृत्वलाई समर्थन गरेर तिरेका छन् ।

सञ्चारकर्मीका रुपमा काम गर्दै गर्दा अमेरिका पलायन भएर उतैको नागरिकतासमेत लिएका लामिछानेले नेपाल आएर ६२ घण्टा लगातार ‘टक सो’ चलाएर विश्व कीर्तिमान राखेपछि केही चर्चा बटुलेका पात्र हुन् । विश्व किर्तिमानी टक सो चलाए पनि नेपाली मिडियाबाट अपेक्षाकृत चर्चा नपाएपछि भने आफूले अमेरिकी नागरिकता लिएको उनले बताउने गरेका छन् ।

आफूलाई महत्त्वाकांक्षी र छिटो निर्णय लिने व्यक्तिका रुपमा चिनाउने लामिछानेको सानिध्यता एमाले अध्यक्ष ओलीसँग नयाँ भने होइन । पहिलोपटक प्रधानमन्त्री भएसँगै ओली र लामिछानेको निकटता बढेको थियो । रविले तत्कालीन प्रधानमन्त्री ओलीलाई आफ्ना योजनाहरू सुनाउँदै ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम नेपाल टेलिभिजनबाट चलाउन राजी गराएका थिए । ओली राजी भएर कार्यक्रम अनएयर हुन थालेपछि लामिछानेले १४ वर्षको अमेरिका बसाइँ छोड्ने निर्णय गरेका हुन् ।

लामिछानेले आफ्नो अमेरिका बसाइँ निकै उत्पादनमूलक रहेको दाबी गर्ने गरेका छन् । तर‚ उनलाई नजिकबाट चिन्नेहरू भने पारिवारिक कलहसँगको आर्थिक उतारचढावले गर्दा अमेरिका छोड्नु उनका लागि हितकर रहेको देखेरै लामिछाने नेपाल आएको बताउँछन् । अमेरिकामा रहँदाको पारिवारिक कलह कस्तो थियो भन्ने विषय उनकी पूर्वपत्नी ईशा लामिछानेले स्वयंले सार्वजनिक गरेकी थिइन् । त्यसबारे रवि र ईशा दुवैको आ-आफ्नो भनाइ बाहिर आएको थियो । जसले रविको अमेरिका बसाइ पारिवारिक रुपमा सुखद नरहेको भने स्पष्ट पारेको थियो ।

ओली प्रधानमन्त्रीबाट हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै उनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ नेपाल टेलिभिजनबाट बन्द भयो । नेपाल टेलिभिजनबाट बिदा भएपछि उनले न्यूज २४ बाट ‘सिधाकुरा जनतासँग’ भन्ने कार्यक्रम चलाउन सुरु गरे । जसले उनलाई चर्चाको शिखरमै पुर्‍यायो । उनको प्रस्तुति शैलीले वाहवाही बटुलिरहेकै बेला २०७६ श्रावण २० गते पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परे । प्रहरी अनुसन्धानको क्रममा पुडासैनीको मोबाइलमा लामिछानेसहित अन्य तीन जनाका कारणले आफूले आत्महत्या गरेको उल्लेख गरिएको भिडियो फेला पर्‍यो । फल स्वरुप रवि लामिछानेलाई प्रहरीले प्रकाउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा नै चलायो । यद्यपि सो मुद्दामा अदालतबाट लामिछानेले सफाइ पाइसकेका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्दा लागेर प्रहरी हिरासतमा पुग्नु उनका लागि भविष्यमा चितवनबाट आमनिर्वाचनमा विजयी हुने आधार नै बन्यो । त्यसबखत लामिछाने हिरासतमा रहँदा उनको समर्थनमा दिनहुँजसो चितवनको सडक अशान्त बनेको थियो । ११ दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएको भोलिपल्ट रविले नारायणी किनारमा आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिन कार्यक्रम राखे‚ जसमा हजारौं सहभागी भएका थिए । त्यसबेला नारायणी किनारमा उर्लिएको भिडले नै रविलाई एक प्रकारको छुट्टै ढाडस दियो । रविलाई नजिकबाट चिन्नेहरूका अनुसार त्यहाँ जम्मा भएको भीडले नै उनको मनमा कुनै दिन राजनीतिमा प्रवेश गर्न सकिन्छ भन्ने सोचलाई पनि अंकुरित गराइदिएको थियो ।

न्युज २४ को व्यवस्थापन पक्षसँग खटपट भएपछि उनले २०७७ फागुनमा नयाँ टेलिभिजन ग्यालेक्सी फोरके सञ्चालन गर्ने घोषणा गरेका थिए भने २०७८ असोज १५ गतेदेखि विधिवत रुपमा टेलिभिजनले आफ्नो प्रशारण सुरु गरेको थियो । तर‚ उनको नयाँ टेलिभिजन यात्रा त्यति सुखद भने रहेन । उनले गत असारमा उक्त टेलिभिजन छोडेर राजनीति गर्ने घोषणा गरे ।

एकातर्फ ग्यालेक्सीमा उनको खस्किँदो साख र अर्कोतर्फ स्वतन्त्रको नाममा काठमाडौं महानगरबाट बालेन्द्र शाह र धरान उपमहानगरबाट हर्क साम्पाङको उत्साहजनक जतिले उनको मनमा केही वर्ष पहिले नारायणी किनारमा अंकुरित भएको राजनीतिज्ञ बन्ने सोचलाई मलजल गरिदियो । त्यसैले उनले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे । परम्परागत पार्टीहरूको विकल्पमा काम गर्ने भन्दै राजनीतिमा होमिएका लामिछानेले अन्तत: विभिन्न अड्कलबाजीबीच चितवन-२ बाट उम्मेदवारी दिए ।

निर्वाचनको केही दिनअघि लामिछानेको नेपाली नागरिकताको वैधतामाथि विवाद भए पनि त्यो विषयले उनको राजनीतिक यात्रालाई धक्का दिन सकेन बरु थप बल पुर्‍यायो । त्यससँगै उनको राहदानीबारे पनि विवाद सतहमा आयो । उनको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनी भने उपप्रधान तथा गृहमन्त्रीका रुपमा शपथ लिँदै सरकारमा सामेल भएका छन् ।

क्याबिनेटभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्छु : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताए ।

‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ’ उनले भने । उनले यो कुरामा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गरे । ‘सबै दलका शीर्ष नेतासँग कन्फर्म गरेर मात्र आएको हो, सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मो हो भन्न हामी सहभागी भएका होइनौं’ लामिछानेले भने ।

११ पुष २०७९, सोमबार १८:१६



तपाईको प्रतिक्रिया