देवराज घिमिरे सभामुख निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । झापाको अर्जुनधारा नगरपालिका –६ घर भएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६७ मत प्राप्त गरेका छन् ।

उनले प्राप्त गर्नुगरेको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाएका छन् । उनी नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुन् । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ।

सभामुख घिमिरेको बाल्यकाल

सभामुख घिमिरेको बाल्यकाल ताप्लेजुङ जिल्लामा बितेको थियो । ताप्लेजुङको साविक सिकैँचा गाविस हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा बुवा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट भएको हो । १२ जना छोराछोरीमध्ये घिमिरे माइलो छोराको रुपमा विसं २०१३ साल जेठ १३ गते जन्मेका हुन् ।

निम्न मध्यम परिवारमा जन्मिएका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिए। उनले ताप्लेजुङ सदरमुकाम फुङलिङको भानु पब्लिक हाई स्कुलबाट विसं २०२९ सालमा एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षाका लागि उनी धरान हुँदै काठमाडौं आएका हुन् । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमाबाट उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिमा प्रवेश

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी कोके गठनपछि विद्यार्थी सङ्गठनमार्फत पार्टी काममा होमिएक हुन् । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे ।

राजनीतिक जिम्मेवारी

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी पाएका छन् । उनको कम्युनिस्ट राजनीतिमा पूर्वी क्षेत्रमा विशेष योगदान रहेको छ। २०३५ साल पुस ११ गते कम्युनिष्ट घटक मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका थिए । २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी पाएका उनले २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा एमालेको पाचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बने ।

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज बनेका उनी २०५८ सालमा केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य विभागको इन्चार्ज बने । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जको जिम्मेवारी पूरा गरेको अनुभव उनीसँग रहेको छ।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्षको जिम्मेवारी सम्हालेका उनी एमालेको दशौं महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बने । पञ्चायत अवधिमा उनी राजनीतिक गतिविधिकै कारण पटक पटक पक्राउ परेका थिए । २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका घिमिरे पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएसँगै उनले पहिलो पटक सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी पाएका छन् ।

५ माघ २०७९, बिहीबार १८:१३



तपाईको प्रतिक्रिया