मोरुङ — कोरोना भाइरस संक्रमण पुष्टि भएर आइसोलेसनमा राखिएका १० जना निको भएर घर फर्केका छन् । प्रदेश १ का संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या २ सय ३४ पुगेको छ ।
विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट शुक्रबार साँझ उनीहरुलाई डिस्चार्ज गरिएको हो । प्रदेश सरकारका अनुसार मोरङका दुईजना, खोटाङका तीनजना, सुनसरीका तीनजना र उदयपुरका दुई जना संक्रमणमुक्त भइ घर फर्केका हुन्। फर्कनेमध्ये चारजना महिला छन् ।
संक्रमण पुष्टि भएपछि उनीहरुलाई उक्त उपचार केन्द्रमा भर्ना गरिएको थियो । पछिल्लो पटक गरिएको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय २२ छ । डिस्चार्ज गरिएकाबाहेकलाई आइसोलेसनमा राखेर चिकित्सकहरुले हेरचाह गरिरहेका छन् ।
विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा गरी १ सय ८८ जना भर्ना गरिएका छन् । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा २५, मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा ८५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना भर्ना गरिएका छन् ।
पछिल्लो पटक शुक्रबार मोरङको बुढीगंगाका एक र झापाको दमकका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ असार २०७७, शनिबार २२:०३