स्पेन र इटाली सेमिफाइनलमा

विदुर । स्पेन र इटाली यूरो कपको सेमिफाइनलमा पुगेका छन् । स्पेनले स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा र इटालीले बेल्जियमलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।

इटालीको जीतमा निकोला बारेल्लाले खेलको ३१ औं मिनेटमा र लोरेन्जो इन्सिङनीले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । बेल्जियमका लागि रोमिलु लुकाकुले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत् गोल गरेका थिए । सबै गोल मध्यान्तरअघि नै भएको थिए । मध्यान्तरपछि कुनै पनि गोल भएन ।

त्यसभन्दा अघिको खेलमा इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रिएको स्विट्जरल्यान्ड अन्ततः टाइब्रेकरमा स्पेनसँग ३–१ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० को यात्रा क्वाटरफाइनलबाट अन्त्य गर्न विवश भयो । स्विट्जरल्यान्डले शुक्रबार उत्कृष्ट खेल पस्केको थियो तर उसलाई भाग्यले साथ दिएन ।

निर्धारित र अतिरिक्त समयको खेलपछि नतिजा १–१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडीमा सीमित हुन पुगेको स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो । स्विट्जरल्यान्डले शुक्रबारको खेलबाट गर्व गर्नुपर्छ । उसले स्पेनलाई १० खेलाडीमा सीमिति हुँदा पनि टाइब्रेकरसम्मको यात्रा गरायो भने धेरैपटक दबाब दिएको थियो ।

स्पेनको पहिलो हाफको अग्रतालाई दोस्रो हाफमा स्विट्जरल्यान्डले फर्काएपछि खेल १–१ को बराबरीमा रहँदै अतिरिक्त समयमा पुगेको हो ।

खेलका सुरुवातमा नै पछि परेको स्विट्जरल्यान्डले खेलको ६८औं मिनेटमा गोल गर्दै खेललाई १–१ को अवस्थामा पु¥याएको थियो । साकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई ऊर्जा थप्ने काम गरे जसले खेलमा रोमाञ्चकता थपिएको थियो । तर, खेलको ७७ मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमिति हुन पुग्यो । फ्रिलर रातो कार्ड पाएर मैदान छोड्ने बाध्य भए पनि स्विट्जरल्यान्डले लय गुमाएको थिएन ।

सुरुवातदेखि नै खेलमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केही अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते भएको प्रभाव मैदानमा देखिन्थ्यो । कर्नरमा कोकेको प्रहार पेनाल्टी क्षेत्रमा रहेका सबैलाई बिट गर्दै गएपछि पेनाल्टी क्षेत्र बाहिर रहेका जोर्डी अल्बाले गरेको प्रहार स्विट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै पोस्टतर्फ गएपछि गोलरक्षक यान सोमरले उक्त प्रहार रोक्ने कुनै अवसर नै पाएनन् ।

स्विजरल्यान्डका कोच भ्लादिमिर पेट्कोभिसले भनेका थिए, ‘हामीले क्वाटरफाइनलको यात्रा तय गर्दा राम्रो खेल्यौं । हामी रोकिनेवाला छैनौं हामी धेरै भोकाएका छौं ।’ उनको यो अभिव्यक्तिको भाव क्वाटरफाइनलको खेलमा पनि देखिएको थियो ।

१९ असार २०७८, शनिबार ११:१७



तपाईको प्रतिक्रिया