झिल्टुङ क्रसकन्ट्रीमा ५ सयभन्दा बढी सहभागि हुने

‘जे गरौं, गजबले गरौं’ भन्ने नारासाथ हुँदै आएको झिल्टुङ क्रसकन्ट्री दौडको सातौं संस्करण आउँदो माघ १४ मा हुने भएको छ । दौड नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुरटारमा हुनेछ । कोल्पुटारबाट सुरु भएर बेलिनीछाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै सोही ठाउँमा टुंगिनेछ ।

बेलकोटीगढी नगरपालिका ५ र एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा महिला र पुरुषको १३.५ किमि दौड, ४.५ किमिको खुला जुनियर छात्रछात्रा, ४५ वर्षमाथिको स्थानीय पुरुषको ४.५ किमि, खुला भेट्रान १३.५ किमि र ४.५ किमिको आमा समूहको दौड गरी १० इभेन्टमा प्रतिस्पर्धा गराइने छ ।

प्रतियोगितामा ५ सयभन्दा बढीको सहभागिता रहने एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले बताए । जहाँ राष्ट्रियस्तरका खेलाडीले पनि सहभागिता जनाउनेछन् ।

प्रतियोगिताका आयोजक बेलकोटगढी ५ का वडा अध्यक्ष मदन भुजेलले समुदायको पहिचानलाई स्थापित गरेको दौडलाई वडाले अपनत्व लिँदै वार्षिक कार्यक्रमको रूपमा अगाडि बढाएको बताए ।

झिल्टुङ दौडका योजनाकार एथलेटिक्स पूर्व खेलाडी मोहन नेपालले आफ्नो पालामा प्रतियोगिता नहुँदाको पीडा महसुस गर्दै कम्तीमा राष्ट्रिय स्तरका खेलाडीले उकालीओराली रुटमा खेल्ने अवसर पाओस् भनेर क्रसकन्ट्री दौड सुरु बताए ।

सबै इभेन्टका पहिलो, दोस्रो र तेस्रो स्थानका विजेताले नगद पुरस्कार पाउनेछन् ।

गोल्डेन एथलेटिक्स मिट रंगशालामा हुने

एथलेटिक्स परिवारले गोल्डेन एथलेटिक्स मिट २०२३ आयोजना गर्ने भएको छ । माघ २० र २१ मा दशरथ रंगशालामा हुने प्रतियोगितामा ट्र्याक एन्ड फिल्डका २७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

यो निजी क्षेत्रबाट हुन लागेको ठूलो एथलेटिक्स प्रतियोगिता हो । ट्र्याकतर्फ महिला र पुरुष दुवैको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर, ४ गुणा १०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । ४ गुणा ४ सय मिटर मिक्स्ड रिलेमा पनि प्रतिस्पर्धा हुनेछ । यो नेपालमा पहिलोपल्ट गरिन लागेको इभेन्ट भएको परिवारका अध्यक्ष राजन खत्रीले बताए ।

फिल्डतर्फ महिला र पुरुष दुवैको लङजम्प, ट्रिपलजम्प, हाइजम्प, सटपुट र ज्याभलिन थ्रोमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट खेलाडीले भाग लिने खत्रीले जानकारी दिए । उनले प्रदेश खेलकुद परिषदमार्फत सातै प्रदेशमा र विभागीय टिमहरूलाई पत्राचारका लागि निमन्त्रणा गरिने बताए ।

करिब १६ लाख खर्च लाग्ने प्रतियोगितामा स्वर्ण जित्नेले ६ हजार, रजतले ४ हजार र कांस्य जित्ने खेलाडीले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । रिलेमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपाल एथलेटिक्स संघसँगको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले प्रोत्साहनस्वरुप ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

२९ पुष २०७९, शुक्रबार २०:५२



तपाईको प्रतिक्रिया