विदुर । बेलकोटगढी नगरपालिका–५ ले हरेक वर्ष आयोजना गर्ने झिल्टुङ क्रसकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते हुने भएको छ । स्थानीयहरूलाई एथलेटिक्समा प्रेरित गर्ने उद्देश्यबाट सुरु भएको यो दौडमा उकालोओरालो रुटमा १३.५ किलोमिटरमा राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । यस विषयमा जानाकरी दिनका लागि बेलकोगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ्ग। उपप्रमुख शिवप्रसाद दाहाल, वडा अध्यक्ष मदन भुजेलले आइतवार विदुरमा पत्रकार सम्मेलन गरेका छन् ।
बेलकोटगढी ५ कोल्पुटारबाट सुरु हुने दौड बेलिनी, छाप, राज ओडार, खड्काछाप, सालचौर हुँदै पुनः कोल्पुटारमा आएर समापन हुनेछ । प्रतियोगितामा स्थानीय प्रतिभालाई लक्षित गरी ४.५ किलोमिटर जुनियर छात्रछात्रा, स्थानीय छात्रछात्रा, ४५ वर्षमाथि स्थानीय पुरुष, १३.४ किमि भेट्रान्स खुल्ला पुरुष र स्थानीय पुरुष तथा ४.५ किलोमिटर स्थानीय आमा समुूह दौड गरी १० विधा समावेश गरिएको छ ।
दौडको प्रमुख विधा खुला क्रसकन्ट्रीको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउँछन् । आमा समूह दौडका विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउँछन् । सबै विधाका विजेतालाई नगद पुरस्कार छ ।
प्रतियोगिताका व्यवस्थापक तथा बेलकोटगढी–५ का वडाध्यक्ष मदन भुजेलले समुदायस्तरमा दौडको पहिचानका लागि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले भने, ‘यो दौड स्थानीयलाई प्रेरित गर्ने सकारात्मक उद्देश्यसहित सुरु भएको हो । हामी उसलाई अपनत्व लिन्छौं र निरन्तरता दिने प्रतिवद्धता व्यक्त गछौं ।’
कसरी सुरु भयो ?
उपत्यकाभन्दा बाहिर गएरा झिल्टुङमा क्रसकन्ट्री गराउने कन्सेप हो पुर्व एटथेट समेत रहेका मोहन नेपालको ।
‘यो मेरो पुख्र्यौली ठाउँ पनि हो। एकपटक घुम्दै आउँदा यति राम्रो रुट देखेँ कि जुन किसिमको ट्र्याक छ त्यस्लाई देख्दा दौडको लागि एकदमै उपयुक्त लाग्यो,’ पहिलो एभरेस्ट म्याराथन दौडिएको बताउने नेपालले त्यसपछि प्राविधिक अध्ययनका लागि काठमाडौबाट एथलेटिक्स विज्ञलाई बोलाएँ । अझ कान्छीमाया कोजु, भूमिराज लगायतका खेलाडीहरू यो ट्र्याकमा दौडिएर पनि हेर्दा क्रस कन्ट्रीको लागि एकदमै उपयुक्त स्थान हुनसक्ने भनेर प्राविधिक टोलीसहितले निस्कर्ष निकालेका थिए ।’
त्यतिबेला स्थानीयहरूलाई दौडबारे खासै चासो नभएकोले काठमाडौबाटै खेलाडीहरू बोलाएर दौड सुरु गराएका थिए । बिस्तारै स्थानीयहरूले पनि यसमा चासो दिन थालेपछि विधा थपिए । चासो थपियो । र, वर्षमा एकपटक हुने यो दौड गाउँकै एक पर्वका रुपमा विकसित भयो । तर नेपालको सपना अझै पुरा भएको छैन ।
उनी क्रस कन्ट्रीका लागि यो रुट एकदमै राम्रो भएकाले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता बनाउने होडमा देखिन्छन् । ‘आजैको भोलि त भन्दिनँ । तर हामीले यसरी नै निरन्तरता दिन सके अबको ५ वर्षमा अन्तर्राष्ट्रिय बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय ट्रेल बनाउने र खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ ।’
९ माघ २०७९, सोमबार ०५:३०