पाठक क्यानको कार्यवाहक सचिव

विदुर । नेपाल क्रिकेट संघ (क्यान)को कार्यवाहक सचिवको जिम्मा दुर्गाराज पाठकले पाएका छन् । पाठक नुवाकोटका हुन् ।कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लले पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा पदबाट राजिनामा दिएपछि केन्द्रीय सदस्य पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी तोकिएको हो ।

पछिल्लो समय नेपाल टी २० लिग लगाएतका विभिन्न विषयमा क्यानभित्रै विवाद बढेपछि मल्लले पदबाट राजिनामा दिएको बुझिएको छ । आउँदो असोजसम्म कार्यसमितिको कार्यकाल रहेकोमा मल्लले कार्यवाहक सचिवबाट राजिनामा दिएपछि पाठकले यो बाँकी कार्यकालमा कार्यवाहक सचिवको रुपमा काम गर्ने छन् । तर, क्यानको निर्वाचन आउँदो जेठमा हुने लगभग तय भएको बुझिएको छ । यस्तो अवस्थामा पाठकले पाँच महिना यो जिम्मेवारी सम्हाल्ने छन् । पाठक क्यानको पाँच सदस्यीय कार्य सम्पादन समितिको सदस्य पनि छन् ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरूले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।

२५ माघ २०७९, बुधबार १४:०८



तपाईको प्रतिक्रिया