अपाङ्ता भएका नागरिकको साथमा स्थानीय सरकार

चौघडा । नुवाकोटको लिखु गाउँपालिका वडा नं. २ सुन्दरीटारका ४५ वर्षिया यदुनाथ पौडेलका लागि विश्व महामारी नोबेल कोरोना भाइरस झन् जीवन धान्नका लागि मुस्किल पर्ने सकसको रुपमा आइलाग्यो । शारिरिक रुपमा अपाङ्गता भएका उनलाई हिडडुल गर्नका लागि ह्लिचियरको आवश्यकता पर्छ । अनि दिसापिसाव गर्नका लागि उनी आफै शौचालय जान सक्दैनन् । अरुको सहारामा ओछ्यानबाट उठ्नुपर्ने र दिसा पिसाव समेत अरुले फालिदिनुपर्ने यदुनाथ एक वर्षदेखि बढीनै उकुसमुकुस भएका छन् । आफ्नै घरपरिवारका सदस्यहरु समेत टाढा बस्नुपर्ने, सकेसम्म अर्को व्यक्तिसंग भौतिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा उनलाई आफ्नो अत्यावश्यक कामका लागि समेत अरुको सहारा लिन गाह्रो पर्यो ।

यही गुम्फनका बीचमा उनले आफ्ना लागि सहयोगी सामाग्री प्राप्त गरेपछिको उनको खुसीको सिमा छैन । अहिले उनी ह्यिल चियरमा गुड्छन्, दिसा पिसाव गर्नका लागि ‘ट्याइलेट चियर’ प्राप्त भएको छ । यसबाट उनको परिवारका सदस्यहरुलाई पनि ठूलो राहत मिलेको छ । आफ्नो मान्छे शारिरिक रुपमा अपाङ्गता भएर ओछ्यान परेको सधै देखिरहनुपर्ने पिडा त छदै थियो, अर्को तर्फ उनको स्याहार सुसारका लागि समेत परिवारका सदस्यले ठुलै झण्झट उठाउनु परेको थियो । ‘तर अब मलाई मात्रै होइन मेरा घरमा मान्छेका लागि समेत सहयोग भएको छ’ पौडेलले भने ।

त्यसो त, लिखु गाउँपालिका वडा नं. ४ कोइलीकान्छा राईको पनि अवस्था र खुस यस्तै छ । पौडेलकै जस्तो नियती भाग्दै आएका राई अहिले ओछ्याननै परेपनि दंग छन् ।

नुवाकोटको लिखु गाउँपालिकाको ६ वटै वडाका यस्ता शारिरिक रुपमा अपाङ्गता भएका नागरिकहरु आजभोली सुखको सास फर्न थालेका छन् । अरुको सहयोग नभई आँगन समेत राम्रोसंग देख्न नपाउने अवस्थाका उनीहरुले नयाँ जीवन सरहकै उपहार पाएका छन् ।

बहु अपाङ्गता भएका वडा नं. ६ छहरेका यादव सिलवाल, शारिरिक अपाङ्गता भएका वडा नं. ५ का गिता विश्वकर्मा, दिष्टिविहिन नारायण अवस्ती, शारिरिक अपाङ्गता भएका ढिकुरेका जगतमाया श्रेष्ठ, शारिरिक अपाङ्गता भएका अन्तकुमार अधिकारी लगायतका २३ जनाको जीवन र दैनिकीमा अहिले परिर्वतन आएको छ ।

नुवाकोटको लिखु गाउँपालिकाको आर्थिक वर्ष २०७७-७८ को कार्यक्रमबाट लिखु गाउँपालिका महिला शाखाले अपाङ्गता भएका व्यक्तिहरुका लागी सहायक सामाग्री बितरण गरेको हो । यही कार्यक्रममा समेटिएका अपाङ्ता भएका व्यक्तिहरुले अहिले सहज जीबन यापन गरिरहेको शाखा प्रमुख पार्वती उप्रेतीले बताए । पछिल्लो समय ह्विलचियर १० थान, ट्वाईलेट चियर ८ थान, बैशाखी ५ थान, सेतो छडी २ थान, वाल्किङ्ग स्टिक ६ थान, ट्वाईलेट पट १० थान, नेकक्याप २ थान वितरण गरेको उप्रेतीले जानकारी दिएका छन् । शारिरिक रुपमा अपाङ्गता भएका नागरिकहरुलाई मद्दत गर्नका लागि गाउँपालिकाले बजेट नै विनियोजन गरेको थियो ।

लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठ फरक क्षमता भएका र शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय सरकारले विशेष रुपमा हेर्नुपर्ने बताउँछन् । विशेष अवस्थामा रहेका व्यक्तिहरुलाई खास प्राथमिकता नदिएको राज्यको पुरानो शैलीको स्मरण गर्दै उनी भन्छन्– ‘उनीहरुको हेरचाहमा विशेष कार्यक्रम ल्याउने मेरो चुनावी एजेण्डा र सोच नै थियो ।’ गाउँपालिकाका अध्यक्ष श्रेष्ठ अघि थप्छन्– ‘चुनावको समयमा बोकीबोकी भोट हाल्न मतदान केन्द्रमा लैजाने र त्यसपछिको समयमा उनीहरुको उपेक्षा गर्ने कार्य सर्वथा अन्यायपुर्ण हुन्छ ।’

विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण सबै क्षेत्र अस्तब्यस्त बनिरहेको समयमा झन् अप्ठ्यारोमा परेका अपाङ्गता भएका व्यक्तिहरुलाई यसबाट सहजता मिलेको लिखु गाउँपालिका अन्र्तगतको अपाङ्ग सेवा समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।

सहयोगी सामाग्री वितरणमा सहजिकरण तथा नापजाँचमा सहयोग पु¥याएको अपाङ्ग मानव अधिकार मञ्चले स्थानीय सरकारले यसरी फरक क्षमता भएका र शारिरिक रुपमा अपाङ्ता भएका व्यक्तिहरुलाई सहयोग गर्नका लागि अग्रसरता लिनु प्रशंसनिय रहेको बताएको छ । मञ्चका रामशरण थापाका अनुसार नुवाकोटको लिखु गाउँपालिका अन्य स्थानीय सरकार भन्दा यसरी शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्नेमा अग्रणी देखिएको छ ।

लिखु गाउँपालिकाले अहिले कोभिड–१९ बाट बढी प्रभावित भएका शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुको अध्ययन र खोजी समेत गरिरहेको छ । गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको अवस्थाको बारेमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको समेत शाखा प्रमुख पार्वती उप्रेतीले बताएका छन् । अपाङ्गता भएका व्यक्ति शारीरिक, मानसिक, इन्द्रियजन्य सिमितताका कारणले कुनै पनि प्रकोपबाट असमान रुपले प्रभावित तथा बढी जोखिममा हुने गर्छन् । निश्चित खाले अपाङ्गता भएका व्यक्तिहरूको लागि थप असहज भएको अनुभूति गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड–१९ प्रतिकार्यका लागि सुरुमै गरेको सर्वेक्षण अनुसार १८ सय ६३ जना अपाङ्गता भएका व्यक्तिहरू आवासीय गृहमा बसिरहेका छन् । यी आवासमा रहनेहरूको संख्या धेरै भएकोले खाद्य सामग्री, सरसफाई, स्वास्थ्य सामग्री आपूर्तिमा अपर्याप्त हुन गई दैनिकी कष्टकर बन्न पुगेको छ । बहिरा व्यक्तिका लागि सांकेतिक दोभाषे नभइदिँदा सेवा उपलब्ध गराउन सञ्चारमा पनि कठिनाई भएको छ । यसले गर्दा न्यूनतम सेवाबाट बञ्चित भएका छन् । ह्विलचेयरमा आवतजावत गर्नेका लागि खाद्य आदि सामग्रीको आपूर्तिमा उत्तिकै कठिनाइ बेहोर्नुपरेको छ । लिखु गाउँपालिकामा मात्रै होइन नुवाकोट जिल्लामै विभिन्न खाले अपाङ्गता भएका व्यक्तिहरुले निषेधाज्ञाको बेलामा खाद्यान्नको अभावले दुःख भोग्नु परिरहेको छ । घरपरिवार र सदस्यहरु समेत बेरोजगार बनेको अवस्थामा उनीहरुलाई अभावले चरम गाँजेको छ । रातो परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएकाहरुले मात्रै सरकारले उपलब्ध गराउने आर्थिक सहायता पाइरहेका छन् । त्यस बाहेकका अपाङ्गता भएका व्यक्तिहरु परिवारकै आम्दानीको भरमा बस्नु परेको छ । यसबाट पनि बढी समस्या हुने गरेको लिखु गाउँपालिका वडा नं. ४ का कोइलीकान्छो राई बताउँछन् ।

त्यसोत, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्नै पर्ने केही कामहरु पनि नगरेको गुनासो छ । सरकारी तथा अन्य सरोकारवाला निकायहरूले कोरोना सम्बन्धी जानकारी, संक्रमणबाट बच्ने उपायहरू तथा अन्य आवश्यक सबै सूचनाहरू सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त ढाँचामा उपलब्ध गराएको छैन । संघीय सरकारले यस सम्बन्धी केही सकारात्मक कार्यहरू गरेको भएपनि पूर्ण रुपमा सन्तोषजनक नरहेको अपाङ्ग मानव अधिकार मञ्चका रामशरण थापा बताउछन् । सूचना तथा जानकारी पनि कोरोना भाइरसबाट बच्ने ओखती जस्तै हुने भएकोले सम्पूर्ण सूचनाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच हुनुपर्ने तर्क गर्छन् थापा ।

अपाङ्ग सेवा समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको बुझाई र अपेक्षा पनि यस्तै छ । उनका अनुसार अपाङ्गता भएका व्यक्तिलाई पर्ने मनोसामाजिक दशाको समयमै निराकरण गर्नेतर्फ सरकार सचेत रहनु जरुरी छ । त्यसका लागि उपयुक्त कदम चाल्नु आवश्यक रहेको उल्लेख गर्दै उनी अगाडी भन्छन्– ‘यसमा के संघ, के प्रदेश, के स्थानी सरकार ? सबैले उही भूमीका निर्वाह गर्नु आवश्यक छ, यो हाम्रो अधिकार पनि हो ।’

त्यसो त स्थानीय सरकारहरूले जुनसुकै हालतमा अपाङ्गता भएका व्यक्तिलाई अत्यावश्यक सामग्री र औषधिहरू यथेष्ट रुपमा सजिलै उपलब्ध गराई कोभिड–१९ को संक्रमण र त्योसँगै आउने अरू समस्याबाट जोगाउनु आवश्यक रहेको तर्क जनप्रतिनिधिहरुकै छ । नुवाकोट जिल्लाको एउटा स्थानीय तह तादी गाउँपालिकाका अध्यक्ष समेत रहेका गाउँपालिका महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद पाण्डे समाजमा रहेको सबै खाले समुदाय, वर्ग र क्षमता भएका नागरिकहरुको सुरक्षामा जनप्रतिनिधिहरु बरोबरी देखिनुपर्ने बताउँछन् । बलिया र सक्षमहरुका लागि मात्रै कार्यक्रम र योजनाहरु ल्याउँदा समाजको सार्वाङ्गिण विकास नहुने उनको भनाई रहेको छ । ‘यदि बलिया र सक्षमहरुका लागि मात्रै स्थानीय सरकारहरुले नीति कार्यक्रम ल्याउने हो भने समाजले नकारात्मक परिणाम प्राप्त गर्नेछ,’ पाण्डेले भने– ‘हामी जनप्रतिनिधिहरु बेलैमा यस तर्फ सचेत हुनु जरुरी छ ।’

१८ असार २०७८, शुक्रबार १४:०१



तपाईको प्रतिक्रिया