खण्डहर धर्मशाला

देविघाट । विदुर नगरपालिका वडा नं. ५ देविघाट ऐतिहासिक र धार्मिक स्थानको रुपमा परिचित छ । २०७२ साल बैशाख १२ गतेको भुकम्पका कारण गुमेको भौतिक संरचनाको पुननिर्माणको क्रम धिमा गतीमै भएपनि चलेको छ । तर देविघाटमा रहेको एउटा ऐतिहासिक पाटो भने कुनामा परेको छ ।

२०३८/३९ सालमा निर्माण भएको देविघाटको धर्मशाला पुननिर्माणका लागि कसैको ध्यान गएको देखिएको छैन । भुकम्पले क्षति पु-याएको यहाँको धर्मशालाको निर्माणका लागि स्थानीयहरुले आबाज उठाइरहेका छन् । तर पुननिर्माण प्राधिकरणदेखि स्थानीय सरकारसम्मको ध्यान पुग्न नसकेको गुनासो छ ।

जालपा क्षेत्र विकास समितिका उपाध्यक्ष गोविन्दलाल चित्रकारका अनुसार दाताहरुको सहयोगमा निर्माण भएपछि यो धर्मशालाको मर्मत भएको छैन । भुकम्पपछि प्रवेशमा रोक लगाएर राखिएकोमा अहिलेसम्म पुननिर्माणको काम हुन सकेको छैन । ‘पुन निर्माणका लागि वडादेखि प्राधिकरणसम्म भन्यौं, तर कसैबाट चासो देखाइएन’ चित्रकारले भने ।

देविघाटमा अन्य भौतिक संरचनाको निर्माणको साथमा पुराना सम्पदाहरुको संरक्षणमा समेत योजना र बजेटको आवश्यकता रहेको स्थानीयहरुले सुनाए । माधवकुमार गजुरेलका अनुसार धर्मशाला अतिक्रमणको चापमा समेत परेको छ । जालपा क्षेत्र विकास समिति अन्र्तगत रहेको यो भवन बजेट अभावकै कारण भत्कने दिन कुरिरहेको उनको भनाई छ । ‘पुननिर्माण प्राधिकरणले व्यक्तिको घर, स्कुल बनाएजस्तै यसको पनि पुननिर्माण गरिदिनु पर्यो’ गजुरेलले भने ।

यो धर्मशालामा तिर्थयात्री र पैदल हिड्नेहरु बस्ने गरेका थिए । होटलमा बास बस्ने संस्कारको विकास नहुँदा यो धर्मशालाले उत्तिबेला यो क्षेत्रको बाटो हिडिडुल गर्नेहरुलाई रातमा बास दिएको थियो । पछिल्लो समय देविघाटमा लाग्ने जात्रा, विशेष पुजाआजामा आउने भक्तजनहरुलाई रातको समयमा बास बस्न र दिउँसो आराम गर्नका लागि प्रयोग हुँदै आएको थियो । २०७२ सालदेखि यहाँ लगाइएको ताल्चा भने अहिलेसम्म खुलेको छैन । वरपर जानै डरलाग्दो भएर यो प्रयोगमा ल्याइएको छैन ।

देविघाटको खण्डहर धर्मशाला यहाँबाट हेर्नुहोस्

१ कार्तिक २०७७, शनिबार २१:०८



तपाईको प्रतिक्रिया