नुवाकोटमा एकैदिन पाँच जना संक्रमित

covid-19 nuwakot report

विदुर । हिजो (साउन १५) गतेसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या १ जना मात्रै थियो । नुवाकोट जिल्ला विस्तारै सुरक्षित हुँदै छ भन्ने अड्कलबाजीलाई आजै फेला परेको पाँच जनाले गलत सावित गरेको छ ।


स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर र बेलकोगढी नगरपालिका, शिवपुरी र पञ्चकन्या गाउँपालिकामा संक्रमितहरु फेला परेका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट प्राप्त रिपोर्ट अनुसार पीपीआर परीक्षणबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


विदुर नगरपालिका वडा नं. ८ का २७ वर्षिया महिला, बेलकोटगढी नगरपालिकाका २७ वर्षिया एक पुरुष, शिवपुरी गाउँपालिकाको २४ वर्षिया एक पुरुष, र पञ्चकन्या गाउँपालिकाको ३१ र २४ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार शिवपुरी र बेलकोटगढीका संक्रमितहरु काठमाडौंमा उपचार गरिरहेका छन् । विदुर र पञ्चकन्याका संक्रमितहरु त्रिशुली अस्पतालको आइसोलेसनमा छन् । नुवाकोटका संक्रमितहरु मध्ये तीन जनाको यही र तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य छ ।


योसँगै नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । कोरोना संक्रमित मध्ये ३७ जना निको भएर घर गएका छन् ।


यसै बीच, कोरोना संक्रमित भेटिएपछि बिहिबार मध्यरातदेखि लागू हुने गरी विदुर नगरपालिका वडा नं. ८ मा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको सूचना अनुसार पूर्वमा सुनाखेती चौतारा, पश्चिममा पिडालुवारी, उत्तरमा टाँडे विसौना, दक्षिणमा केउरेनी पञ्चकन्या मन्दिर क्षेत्रको चारकिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।


उता, सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि आइतबार रातीदेखि लगाईएको निषेधाज्ञा अन्त्य भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ संक्रमण परीक्षण नतिजा अनुसार सुर्यगढ़ी गाउँपालिका–२ स्थित क्वारेन्टिनमा रहेका एक व्यक्तिमा संक्रमण देखिएसँगै सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि उक्त वडा आसपासको चारकिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

१६ श्रावण २०७७, शुक्रबार १८:२७



तपाईको प्रतिक्रिया