तीन वर्षमा परिचयपत्र

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । बागमती प्रदेशमन्त्री, प्रदेशसभा सदस्यको उपस्थितिमा बिहीबार औपरचारिक समारोह आयोजना गरी कार्यालयले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण थालेको हो ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङ, स्वास्थ्यमन्त्री उत्तम जोशी, प्रदेश सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीलगायतले परिचयपत्र सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए ।

आर्थिक मामिला मन्त्री लामा ले राष्ट्रिय परिचयपत्र प्रदान गर्दै मुलुक डिजिटल प्रविधिमा गइरहेको बताए । उनले राष्ट्रिय परिचयपत्रको आधुनिक कार्ड हेर्ने मेसिन पनि छिट्टै ल्याउन आग्रह गरे । राष्ट्रिय परिचयपत्र नुवाकोटमा २०७७ असार ३१ गतेदेखि एउटा स्टेसनबाट सुरु गरिएको थियो । २०७८ चैत १ गतेबाट दुईवटा र २०७९ माघबाट थप गरी ३ वटा स्टेसनबाट काम सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी गराए । हालसम्म ४४ हजार विवरण संकलन भइसकेको छ ।

२०८० जेठ १२ गतेबाट परिचयपत्र अभियान टोली म्यागङबाट विवरण दर्ता संकलन थालिएको थियो । दुप्चेश्वर, किस्पाङ, तारकेश्वर गाउँपालिकामा विवरण दर्ता संकलन सकेको छ भने सूर्यगढी र लिखु गाउँपालिकामा विवरण दर्ता संकलन अभियान जारी रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । हालसम्म राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान टोलीबाट २३ हजार ७८१ विवरण संकलन भइसकेको छ ।

विवरण संकलन गर्ने टोली गाउँगाउँमा

विदुर । नुवाकोटमा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न विवरण संकलन गर्ने टोलीहरू टोल टोलमा पुगेको छ । सर्वसाधारणको सुविधाका लागि नुवाकोटमा पहिलो पटक राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन भएको छ । नुवाकोटको १२ वटा स्थानीय तहका ८८ वटै वडाबाट पूर्ण विवरण संकलन गर्न टोली खटिएको हो ।

गत जेठ १२ गतेबाट सुरु भएको बिवरण संकलन अभियान म्यागङ गाउँपालिकाबाट सुरु भई दुप्चेश्वर, किस्पाङ र तारकेश्वरमा समाप्त सकिएको छ भने सूर्यगढी र लिखु गाउँपालिकामा अभियान सञ्चालन भईरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विदुरमा सबै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गरेपछि टोली पालिकास्तरमा पुगेको हो ।

हालसम्म नुवाकोटमा ४४ हजारभन्दा बढीको विवरण संकलन भइसकेको छ । २०७७ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन परेका एक हजार ४८१ जनाको हाल परिचयपत्र बनेर आएको छ ।

नुवाकोटमा २०७७ साल असार ३१ देखि एउटा स्टेशनबाट बिवरण संकलन सुरु गरिएकोमा सेवाग्राहीको चाप बढ्दै गएपछि २०७९माघबाट ३ वटा स्टेशनमा विवरण संकलन गर्ने काम भईरहेको छ ।

यसै बीच, नुवाकोटमा गत ०८० जेठ १२ गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान गएको सोमबारदेखि सूर्यगढी गाउँपालिकाको सबै वडामा सुरु भएको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान म्यागङबाट सुरु भएको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानबारे सूर्यगढी गाउँपालिकाका सबै वडाध्यक्ष र वडाका कर्मचारीलाई गत असार २८ गते बिहीबार अभिमुखीकरण गरिएको थियो । सो कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अबुद अली, सूर्यगढी गाउँपालिका– ४ का वडाध्यक्ष तथा प्रवक्ता रामशरण राई, पाँचवटै वडाको वडाध्यक्ष तथा सचिव, वडासदस्य, पालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीलगायत अन्य सरोकारवालाको सहभागितामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवश्यक तयारीको छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न अपनाइने ऐन, नियम, विधि र प्रक्रियाबारे सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाहलाई सहज बनाई व्यावहारिक ढङ्गले समेट्नुपर्ने बताए । सेवाग्राहीलाई सदरमुकाम विदुरसम्म धाउनुपर्ने बाध्यता हटेकाले यो अभियानमा बढीभन्दा बढी सहभागी गराउन जनप्रतिनिधि र वडाका कर्मचारीलाई उनले आग्रह गरे ।

राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने नागरिकतालगायत कागजपत्र बनाउन स्थानीयलाई आग्रह गरिने सूर्यगढी गाउँपालिका–४ का वडाध्यक्ष एवम् प्रवक्ता राईले बताए । अहिले देशभर उक्त कार्यक्रम अभियानको रूपमा जारी रहेको छ । राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियानलाई सघाउन गाउँपालिकाको साथ–सहयोग रहने प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलले बताए । एक वडामा सातदेखि १० दिनभित्रमा राष्ट्रिय परिचयपत्रको दर्ता विवरण संकलन कार्यक्रम गरिसक्ने बताइएको छ । साउनको पहिलो साताबाट पाँचवटै वडा कार्यालयमा प्राविधिक, रुजु अधिकारी बसेर काम थाल्ने तयारी भइरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अलीले प्राविधिक समस्या र समाधानका उपायमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै रुजु गर्ने र भर्ने तरिकाबारे जानकारी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले २०७७ असारदेखि जिल्लाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु गरेको थियो । कार्यालयबाट हालसम्म ४४ हजारले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिसकेका छन् । दर्ता गरेकामध्ये एक हजार ४८१ जनाको राष्ट्रिय परिचयपत्र कार्ड आइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिँदै उक्त कार्ड यसै हप्ता वितरण गर्ने तयारी भइरहेको बताए । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानमा अहिलेसम्म म्यागङका ६ हजार १२, किस्पाङका पाँच हजार ३८५, दुप्चेश्वरका आठ हजार ४३८ र तारकेश्वरका तीन हजार ६४६ ले विवरण भरिसकेको उनले जानकारी गराए । तारकेश्वर गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान जारी रहेको छ भने सूर्यगढीमा सुरु भइरहेको छ ।

उता, लिखु गाउँपालिकमाा ५७३ जनाको रााष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन भएको छ । साउन ११ गते बिहिबारसम्म वडा नम्बर २ का ५७३ जनाको विवरण संकलन भएको हो । यही साउन ६ गतेबाट सुरु भएको विवरण संकलन कार्यको पहिलो दिनमा ४२ जनाको विवरण संकलन गरिएको थियो ।

यस्तै दोस्रो दिनमा १ सय २३ जना, तेस्रो दिनमा ८८ जना चौथो दिनमा ८७ जना पाँचौ दिनमा ११६ र सातौ दिनमा एकसय १७ जनाको विवरण संकलन गरिएको हो ।

१५ श्रावण २०८०, सोमबार १५:३६



तपाईको प्रतिक्रिया