तीन सय असी हेक्टरमा सिँचाइ

रसुवा । क्रमिक रूपमा कुलो निर्माण हुनथालेसँगै रसुवाको खेती प्रणालीमा सुधार आएको छ । खेतीयोग्य जमिनमा आवश्यक पानीको आपूर्ति भएपछि कृषि प्रणाली सुधारिएको हो ।

सिँचाइ डिभिजन कार्यालय रसुवाले किसानको आवश्यकता मूल्याङ्कन गरी गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण गरेको जनाएको छ ।

विभागका अनुसार १० वटा भइराखेको सिँचाइ कुलो मर्मत गरेर रसुवाका उर्बरा भूमिमा पानीको आपूर्ति व्यवस्थित बनाएको छ । सिँचाइ डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार रसुवामा गत वर्ष कूल ३८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्याईएको छ । संघीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण एवं मर्मत गरी सिँचाइ सुविधा पुर्याइएको छ भने जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएका छन् ।

सिँचाइ कुलो निर्माण एवं मर्मत सुधार तथा नदी नियन्त्रण लगायतका कार्य सम्पन्न गर्न गत आर्थिक वर्षमा कूल १३ करोड पाँच लाख रुपैयाँ बजेट खर्च भएको डिभिजन प्रमुख भुर्तेलले जानकारी दिए । उपभोक्ता समितिले जिम्मा पाएको प्राय सिँचाइ योजना निर्माण सम्पन्न भइसकेको र टेण्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन् ।

रसुवाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जीवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमूना थोपा सिँचाइ आयोजनाबाट ३५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । पाखोवारीलाई खेतमा रूपान्तरण गर्दै वर्षायाममा सौरेनी मूलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्याङ्कीमा संकलन गरी हिउँद याममा तरकारी उत्पादन गरिँदै आएको छ ।

पानीको स्रोत नहुँदा बाँझो बस्ने जमिनलाई थोपा सिँचाइको अवधारणा ल्याई २०७४ सालबाट क्रमागत रूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट ३५० घर परिवार लाभान्वित भएको बताइएको छ ।

अधिकांश समय बाँझो रहने जमिनमा गरिएको सिँचाइको व्यवस्थापनले मङ्सिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान खुशी भएका छन् । भदौरे थोपा सिँचाइ योजना देशकै नमूना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकले बताएका छन् ।

४ भाद्र २०८०, सोमबार ०५:१८



तपाईको प्रतिक्रिया