नुवाकोट र रसुवामा करोडको क्षति

विदुर । लम्पी स्किन संक्रमणले गाईगोरु मर्ने क्रम बढिरहँदा गोठ रित्तो हुने डरले नुवाकोट र रसुवाका किसान यतिबेला चिन्तित छन् । लम्पी स्किनका कारण दुई जिल्लामा एक करोड रुपैयाँभन्दा बढी क्षति भएको बताइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोट–रसुवाका प्रमुख तथा पशु विज्ञ भरत पाण्डेका अनुसार गाई गोरु मरेर एक महिनामै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

‘२० क्यान दुध बेच्ने गरेका किसानहरूले अहिले १० क्यान दुध मात्रै बेचिरहेका छन् । गाईगोरु धमाधम मरिरहेका छन् । किसानलाई महिनामै एक करोडभन्दा बढी क्षति भएको छ,’ पाण्डेले भने । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोट–रसुवा कार्यालयका अनुसार नुवाकोटमा ४११ वटा र रसुवामा ३२ वटा गाई र गोरु मरिसकेका छन् । एक साता अघि मात्रै शिवपुरी गाउँपालिका ८ थापागाउँका बैकुण्ठ आचार्यले पालेका ६ वटा गाई मरे । आचार्य भन्छन्, ’सुरुका दिनमा गाईले घाँसपानी खान छाड्यो । ज्वरो आयो । औषधि ल्याएर खुवाएँ । तर बिस्तारै घाँसपानी खानै छाडेर गाई मरे । बँचेका गाईलाई औषधि खुवाएर उपचार गरिरहेको छु ।’

लम्पी स्किनले आफ्नो मात्रै १५ लाख जतिको क्षति भएको बताउँछन् आचार्य । संक्रमण फैलनुअघि दैनिक १५० लिटर दुध बेच्ने गरेका आचार्य अहिले ७० लिटर दुध मात्रै बिक्री गर्न थालेका छन् । यस्तै विदुर नगरपालिका १० माझगाउँका रघुनाथ प्याकुरेलका हलगोरु हालै मरे । खेत रोपाइँका लागि तयार पारिएका गोरु मरेपछि ४ हजार जति क्षति भएको बताउँछन् प्याकुरेल । सोही वडाका नारायण खतिवडाको जोत्ने बेला भएको बाच्छो मरेपछि उनले पनि छिमेकीको गोरु मागेर रोपाइँ जसोतसो सकाए ।

किर्ना, भुसुना, डाँठ र लामखुट्टेको टोकाइबाट लम्पी स्किन सर्ने गरेको पशु चिकित्सकको भनाइ छ । यो रोग पशुचौपायामा लागेपछि छालाभित्र गाँठागुँठी आउने, ज्वरो आउने, दुध उत्पादन घट्ने, चिप्रा लाग्ने, खान मन नगर्ने त्यसपछि मर्ने गरेका छन् । लम्पी स्किनले धमाधम पशु मरिरहँदा रोग नियन्त्रणको लागि सरकारले खोप उपलब्ध गराइदिनुपर्ने किसनहरूको माग छ । उपलब्ध खोप पनि सर्वसुलभ नहुँदा किसानहरू थप चिन्तामा परेका छन् । कार्यालय प्रमुख पाण्डेका अनुसार संक्रमित पशुलाई सिटामोल, मोलफेन पी–१६००, रेस्कोबल, टिबल, चर्मिल मल्हम लगायतका औषधि जतिसको चाँडो उपलब्ध गराउनुपर्ने देखिएको छ । नुवाकोटमा मात्रै १ लाख र रसुवा ३० हजार पशुचौपाया रहेको तथ्याङ्क छ ।

८ श्रावण २०८०, सोमबार ११:२१



तपाईको प्रतिक्रिया