‘लम्पी स्क्रिन’ बाट नुवाकोट र रसुवामा १२ सय पशु मरे

विदुर । देशैभरि फैलिएको ‘लम्पी स्क्रिन’ रोगको महामारीले नुवाकोट र हिमाली जिल्ला रसुवालाई पनि छाडेन । यो रोगको कारण नुवाकोट र रसुवाका पशुपालक कृषकले करोडौँको क्षति व्यहोरेका छन् । नुवाकोट र रसुवामा ‘लम्पी स्क्रिन’ रोगबाट एक हजार दुई सय ७० भन्दा बढी पशु चौपाया मरेको तथ्याङ्क भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले सार्वजनिक गरेको छ ।

नुवाकोटमा गत ०७९ चैत ३१ गते सूर्यगढी गाउँपालिका–५ को फेदीबेँसीमा बिरामी पशु चेकजाँच गर्दा ‘लम्पी स्क्रिन’ रोगको पुष्टि भएको थियो । रोग पुष्टि भएको साढे चार महिनाको अवधिमा नुवाकोटमा एक हजार ३४ पशु चौपाया मरेका छन् भने रसुवामा यो अवधिमा दुई सय ३६ पशु चौपया मरिसकेका छन् । लम्पी स्क्रिन रोगको महामारी फैलिएसँगै नुवाकोट र रसुवा जिल्लामा पशु चौपायालाई लम्पी स्क्रिनविरुद्धको खोप लगाउन सुरु गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले जानकारी दिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त लम्पी स्क्रिनविरुद्धको खोप पालिकासँग समन्वय गरेर यो अवधिमा १३ हजार पाँच सय पशुलाई लगाएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए ।

नुवाकोटको १२ पालिकामा प्रदेशबाट प्राप्त तीन हजार नौ सय र स्थानीय तहबाट प्राप्त आठ हजार सात सय खोप भदौ १४ गतेसम्म लगाइसकेको विवरण कार्यालयले सार्वजनिक गरेको छ । रसुवाका पाँच पालिकामा समेत लम्पी स्क्रिन रोगको महामारी फैलिएसँगै भदौ १४ सम्म प्रदेशबाट प्राप्त एक हजार चार सय र स्थानीय तहबाट खरिद भएको चार हजार पाँच सय खोप लगाइसकिएको छ । खोपको माग बढिरहे पनि कार्यालयले तत्काल खोप उपलब्ध गराउन सक्ने अवस्था छैन । महामारीबाट नुवाकोटमा १५ हजार पाँच सय ५६ र रसुवामा दुई हजार एक सय ९३ पशु सङ्क्रमण रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । महामारीबाट नुवाकोटमा सङ्क्रमणमुक्त पशु चौपायाको सङ्ख्या १६ हजार पाँच सय २८ र रसुवामा दुई हजार तीन सय २९ रहेको कार्यालयका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी दिए । हरेक हप्ता सङ्क्रमणमुक्त पशुको सङ्ख्या घट्ने क्रममा रहेको उनले बताए । गत हप्ता सङ्क्रमणमुक्त पशु चौपायाको सङ्ख्या नुवाकोटमा १५ हजार पाँच सय ५६ रहेको थियो भने यो हप्ता सङ्क्रमणमुक्तको संख्या बढेर १६ हजार पाँच सय २८ पुगेको छ ।

त्यसैगरी, रसुवामा अघिल्लो हप्ता सङ्क्रमणमुक्त पशु चौपायाको संख्या दुई हजार एक सय ९२ रहेकोमा यो हप्ता बढेर सङ्क्रमणमुक्त संख्या दुई हजार तीन सय २९ पुगेकोसमेत उनले जानकारी दिए । नुवाकोटमा प्रभावित पशुको संख्या गत हप्तासम्म १९ हजार चार सय ४५ रहेकोमा सबैभन्दा बढी प्रभावित पशुको संख्यामा गाईगोरु १९ हजार एक सय ७८, भैँसी दुई सय ३८, चौँरी २९ रहेको छ । त्यसैगरी, रसुवामा प्रभावित पशुको सङ्ख्या दुई हजार सात सय ४० मध्ये गाईगोरुको सङ्ख्या दुई हजार चार सय ४६, भैँसीको सङ्ख्या १६, चौँरीको दुई सय ७८ रहेको छ । लम्पी स्क्रिन रोगबाट मृत्यु भएका पशुको सङ्ख्या नुवाकोटमा एक हजार ३४ मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा तीन सय २० र सबैभन्दा कम किस्पाङ गाउँपालिकामा २६ रहेको छ । मृत्यु हुने पशुमध्ये नुवाकोटको १२ पालिकामा एक हजार ३१ गाईगोरु र चौँरीको संख्या तीनवटा रहेको छ । विज्ञ केन्द्रको तथ्याङ्कअनुसार लम्पी स्क्रिन रोगबाट नुवाकोटमा हालसम्म भैँसीको मृत्यु भएको छैन । प्रभावित पशुको सङ्ख्यामा पनि गाईगोरुको अनुपातमा भैँसीको संख्या कम रहेको छ । रसुवाको पाँच पालिकामध्ये लम्पी स्क्रिन रोगबाट प्रभावित पशुको सङ्ख्या सबैभन्दा बढी गोसाइँकुण्ड गाउँपालिकामा १३ सय २५ रहेको छ । गोसाइँकुण्डमा एक हजार एक सय ५० गाईगोरु र एक सय ७५ चौँरी रोगबाट प्रभावित भएको छ । रसुवामा लम्पी स्क्रिन रोगबाट सबैभन्दा कम प्रभावित पशुको सङ्ख्या उत्तरगया गाउँपालिकामा एक सय ७५ रहेको छ । प्रभावित पशु सबै गाईगोरु रहेका छन् ।

कार्यालयले पालिकासँगको समन्वयमा किसानको गोठगोठमै पुगेर पशु प्राविधिकले लम्पी स्क्रिनको नियन्त्रणका लागि प्राप्त खोप लगाइसकेका छन् । कार्यालय प्रमुख पाण्डेका अनुसार भेटेरेनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । किसानलाई पशुमा लम्पी स्क्रिन देखिनासाथ सगोलमा रहेको पशुलाई छुट्याएर राख्न सुझाव दिएको उनले बताए । पशुलाई टोक्ने लामखुट्टे, झिँगाबाट जोगाउन किसानलाई सचेतना जोगाउने काम पनि भएको छ । प्रमुख पाण्डेले भने, ‘नुवाकोटमा विशेषगरी गाईभैँसीपालन व्यावसायिक रूपमा हुने गरेकाले पशुमा क्षति नपुगोस् भनेर लम्पी स्क्रिनविरुद्धको खोप लगाइसकेका छौँ ।’ थप खोपका लागि प्रदेश र स्थानीय तहमा माग गरेर यसको नियन्त्रणका लागि भेटेरेनरी अस्पतालले दिनरात नभनी परामर्श दिइरहेको छ ।

२९ भाद्र २०८०, शुक्रबार १२:११



तपाईको प्रतिक्रिया