विद्यार्थी बटुल्न प्राध्यापकहरु नै ब्यानर बोकेर गाउँ टोलमा

विदुर । नुवाकोटको मात्रै नभई तीन जिल्ला (नुवाकोट, रसुवा र धादिङ) को पहिलो क्याम्पस नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा अहिले ब्याचलर पहिलो वर्षमा भर्ना खुलेको प्रचार नुवाकोटको मुख्य–मुख्य बस्ती र गाउँटोलमा अहिले देख्न पाइन्छ । ‘फ्लेक्स ब्यानर’ ले गरिरहेको यो विज्ञापनमा क्याम्पसको नयाँ जोश र जाँगर प्रर्दशन भएको छ । क्याम्पसका प्राध्यापकहरू अहिले आफ्नो अनुकुलको भुगोलमा विज्ञापनको ब्यानर बोकेर कुदिरहेका छन् ।

प्राध्यापकहरू आफ्नो पायक गर्ने क्षेत्रमा तथा समुह नै तयार गरेर क्याम्पसमा नयाँ भर्ना खुलेको प्रचार गर्न दैडिरहेका छन् । जिम्मेवारीका हिसावले आफ्नो विषयमा कक्षा कोठामा ‘लेक्चर’ दिएर पारिश्रमिक बुझ्दा हुने प्राध्यापकहरूको यो प्रयास र जाँगरका कारण सामाजिक सञ्जाल समेत तरंगित बनेको छ । प्राध्यापकहरू कोही रुखको टुप्पोमा त कोही घरका छानोमा उक्लेर क्याम्पसको विज्ञापन टाँसिरहेको तस्बिरहरू सार्वजनिक भइरहेका छन् । ‘हाम्रो जिम्मेवारी क्याम्पसमा विद्यार्थी ल्याउनुपनि हो, त्यस बाहेक हामी कुशल प्राध्यापनमा त उत्तिकै दत्तचित्र छौं’ क्याम्पसका प्राध्यापक सुकमान डंगोलले भने ।

२०७० सालदेखि ‘भर्ना अभियान’ को अभ्यास गरिरहेका प्राध्यापकहरू रोमाञ्चित समेत छन् । क्याम्पसको साखलाई विद्यार्थी र अभिभावकसम्म पु¥याउन पनि यो अभियान प्रभावकारी रहेको पुर्व क्याम्पस प्रमुख समेत रहेका प्राध्यापक नारायणमान डङ्गोल बताउछन् । ‘हामी नै क्याम्पसमा खुलेको भर्नाको विषयमा प्रचार गर्न र यसरी तुल ब्यानर बोकेर गाउँ गाउँ पुग्दा विद्यार्थी र अभिभावकमा बेग्लै विश्वासको सृजना हुने अनुभव मैले बटुलेको छु’ डङ्गोलले भने । यसरी प्राध्यापक र क्याम्पसका कर्मचारीहरू भर्ना खुलेको सन्देश बोकेर गाउँ गाउँ पुग्ने चलनको सुरुवात उनैले गरेका थिए । आफु क्याम्पस प्रमुख हुँदा थालिएको यो अभियनले निरन्तरता पाइरहेको उनले सुनाए । ‘७० साल अघि त नुवाकोटमा खासै क्याम्पसहरू पनि थिएन, क्याम्पस पढ्नका लागि विद्यार्थी नै क्याम्पस खोज्दै आउने अवस्था थियो र प्रचारको खास आवश्यकता परेको थिएन’, पुर्व क्याम्पस प्रमुख डङ्गोलले भने– ‘गाउँ गाउँमा पनि क्याम्पस सञ्चालन हुन थालेपछि हामीले विशेष गरी माध्यामिक तहका विद्यालय भएका गाउँमा केन्द्रित भएर अभियान सञ्चालन गर्ने गरेका छौं ।’

यसरी प्राध्यापक तथा क्याम्पसका कर्मचारीहरू भर्ना अभियान र शैक्षिक गतिविधिको जानकारी बोकेर समुदायमा औपचारिक रुपमा जाँदा अभिभावक र विद्यार्थीहरूलाई लाभ पुगेको सुनाउँछन् क्याम्पस प्रमुख जितेन्द्र अर्याल । उनका अनुसार आफ्नो आँगनमा क्याम्पसमा हुने पढाईका विषय, शुल्क देखि सबै जानकारी प्राध्यापक स्वयम्बाट अभिभावक र विद्यार्थीहरूले पाउने गरेको छ । ‘यसले गर्दा हाम्रो गुणस्तरिय पढाई र गुणस्तरिय शिक्षाको बिषयमा उनीहरूलाई आस्वस्त पार्न पूर्ण रुपमा सहयोग पुगेको छ’ अर्यालले भने ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारले अहिले स्नातक तहको विविएस, विएड र विएमा भर्ना लिन थालेको छ । विएडमा अंग्रेजी, नेपाली, पपुलेसन र म्याथ, विएमा विएसडब्लु, इग्लिस र सोस्योलोजी, विविएसमा एकाउन्ट, फाइनान्स, इकोनोमिक्स र मार्केटिङ्गमा भर्ना लिइरहेको छ । अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने उक्त क्याम्पसमा यही फागुन मसान्तसम्मा भर्ना हुने विद्यार्थीहरूलाई छात्रवृत्ति लिनका लागि आवेदन दिन पाउने क्याम्पस प्रमुख अर्यालले बताए ।

२७ फाल्गुन २०७८, शुक्रबार १२:५८



तपाईको प्रतिक्रिया