त्रिशुली जलविद्युतको शेयर कारोवार कहिले ?

नुवाकोट । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनीले केही सातमै शेयर सुचिकृत गराउने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले असोज महिना भित्रमा शेयर सूचीकरण गराईसक्ने बताएका थिए । तर कान्तरि केही काम बाँकी रहेकोले अब केही साता लाग्ने बताइएको छ । आईपीओको लागि अंकित मूल्यको बाँकी रहेको ९० प्रतिशत रकम माग गरेको समयमा पूर्ण रुपमा आवेदन नपरेकोले शेयर सूचीकरणमा ढिलाई भएको छ । कम्पनीले २०७५ चैत्रमा प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

कम्पनीले बाँकी ९० रुपैयाँको लागि २०७९ असोज ४ देखि १०७९ कार्तिक १७ गतेसम्म आवेदन खुलाएको थियो । २०७५ मा १० रुपैयाँ तिरेर आईपीओ खरिद गरेका सबै लगानीकर्ताले २०७९ मा बाँकि ९० रुपैयाँको लागि आवेदन नदिएपछि शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए । उनका अनुसार करिब ७ करोड रकम जतिको आवेदन परेको थियो । यो शेयर आम सर्वसाधारणकै हकको शेयर भएकोले उनीहरूले आवेदन दिउन् भन्ने उदेश्यले म्याद थप गर्नको लागि कोशिस गरिएकोले सूचीकरणमा ढिलाई भएको हो । म्याद थपको लागि नियामक निकायमा समन्वय गर्दा म्याद थप सम्भव नभएपछि जति आवेदन आएको छ त्यसकै आधारमा शेयर सूचीकरण गराउने तयारी भईरहेको उनले बताए ।

सञ्चालक समितिले निर्णय गर्ने र ७ करोड बाहेकको शेयर सूचीकरण प्रक्रिया अगाडी बढ्ने उनले जानकारी दिए । उनले छिट्टै नै संचालक समितिले निर्णय गर्ने र शेयर सूचीकरण भईसक्ने बताए । शेयर सूचीकरण भए लगत्तै कारोबार गर्न सकिने छ ।

कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । प्रति कित्ता १० रुपैयाँको दरले खरिद गरिएको शेयर त्ख्ऋी सिम्बलमा लगानी कर्ताको मेरोशेयर खातामा आईसकेको छ ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले २०७९ असोजमा प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने थियो । त्यस समय ७ करोडको आवेदन नपरेको कम्पनीले जनाएको छ । कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्पनीको आईपीओमा १० हजार कित्ता आवेदन दिएर जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गरेका थिए । १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता नै माग गरेकोमा २० कित्ता नै शेयर पाएकी थिइन् । तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । आयोजना प्रगति ७० प्रतिशत सम्पन्न भएको र आगामी १ वर्ष भित्रमा विद्युत उत्पादन लक्ष्य कम्पनीको छ ।

१३ कार्तिक २०८०, सोमबार १२:१४



तपाईको प्रतिक्रिया