गाउँमा चिकित्सा र फार्मेसीको कक्षा

किस्पाङ बहुप्राबिधिक शिक्षालय

काहुले । नुवाकोटमै पहिलो पटक किस्पाङ गाउँपालिकामा ‘सामान्य चिकित्सा’ (हेल्थ असिस्टेन्ट) र ‘डिप्लोमा इन फार्मेसी’ पढाइ हुने भएको छ ।

किस्पाङ गाउँपालिकाले किस्पाङ बहुप्राबिधिक शिक्षालय मार्फत जिल्लामै पहिलो पटक ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ पढाउन लागेको हो । गाउँपालिकाले यसका लागि सम्पूर्ण तयारी समेत पूरा गरेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गाउँपालिकाले गाउँसभा मार्फत बजेट सुनिश्चित गरेर किस्पाङ बहुप्राबिधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ को कक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि चिकित्सा शिक्षा आयोगको सहमतिमा प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले सञ्चालन अनुमति दिएको छ ।

परिषद्ले सञ्चालन अनुमति दिएसँगै भर्ना पनि खुलाएको छ । किस्पाङ बहुप्राबिधिक शिक्षालयले ‘सामान्य चिकित्सा’ मा ४० जना र ‘डिप्लोमा इन फार्मेसी’मा ४० जना पढाउने गरी अनुमति पाएको छ । गाउँपालिकाले अनुमति प्राप्त गरेसँगै न्यून शुल्कमा गुणस्तरीय प्राबिधिक शिक्षा दिने भन्दै तीन वर्षका लागि एकमुष्ठ एक लाख पन्चानब्बे हजार रूपैयाँ शुल्क तोकेको छ । तीन वर्षको शुल्क एकमुष्ठ तोकिए पनि तीन किस्तामा तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले जानकारी दिए ।

दुबै विषयमा ४०–४० जना

प्रमुख प्रशासकीय अधिकृत खतिवडाले असोज २३ गते परिषद्को परीक्षा नियन्त्रण कार्यालयले किस्पाङ बहुप्राविधिक शिक्षालयका नाममा सूचना जारी गरी दुवै कार्यक्रमतर्फ ४०–४० विद्यार्थी कोटा निर्धारण गरेर भर्नाको अनुमति दिएको बताए । परिषद्ले अनुमति दिनु अघि किस्पाङ बहुप्राबिधिक शिक्षालयको सम्भाव्यता अध्ययन र निरीक्षण गरेको थियो । अध्ययन र पूर्वाधार निरीक्षण टोलीमा चिकित्सा शिक्षा आयोग र परिषद्का विज्ञहरू सहभागी थिए । उनीहरूको रायपछि परिषद्ले अध्ययनका लागि अनुमति दिएको हो । नुवाकोटकै दुर्गम गाउँको उपमा पाएको किस्पाङमा जिल्लामै पहिलो पटक स्वास्थ्यका दुई विषय ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’को अध्यापन हुनेभएपछि स्थानीयहरू उत्साहित बनेको गाउँपालिकाका अध्यक्ष बीरबल तामाङले बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामा गाउँपालिकाले शिक्षालय सञ्चालनका लागि अनुमति पाउँदा निकै खुशी लागेको र सबैले सहयोग गरेर सफल बनाउनुपर्ने बताए । पूर्व अध्यक्ष लामाले आफूले पनि  सहयोग गरेको बताउँदै सम्बन्धनका लागि गाउँपालिकाको वर्तमान नेतृत्वले निकै मिहेनत गरेको उनले बताए । निजीमा करिब ४ लाख रूपैयाँ फार्मेसी इन डिप्लोमा र करिब पाँच लाख रूपैयाँ सामान्य चिकित्सा अध्ययन गराउन शुल्क छ । तर गाउँपालिकाले एक लाख पन्चानब्बे हजारमै दुबै शिक्षा दिने उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । न्यौपानेले भने, ‘सदरमुकाम भन्दा बाहिर दुर्गममा पनि गरिब र न्यून आय भएकालाई पनि शिक्षा दिनुपर्छ । नुवाकोटका विद्यार्थी देशको अन्य भागमा पुग्दा आर्थिक बोझ थोपरिएर पनि गुणस्तरीय शिक्षा नपाइरहेको अवस्थामा न्यून शुल्कमा गुणस्तरीय प्राबिधिक शिक्षा दिनेगरी तयारी गरेका छौँ । यो सम्पूर्ण जिम्मेवारी नाफाका लागि नभई जनताका लागि  गरेका हौँ । सबैको सहयोगको अपेक्षा गरेका छौँ ।’

त्रिशुली अस्पताल नमूना बनाउन विकास समितिको अध्यक्ष भएर सफल नेतृत्व गरेका न्यौपानेले अब ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ राम्रो नतिजा दिन गाउँपालिकाले हरतरहले वातावरण बनाउने बताए । उनले अब किस्पाङ विस्तारै प्राविधिक शिक्षाका लागि केन्द्र बन्ने दाबी गरे ।

प्राबिधिक शिक्षा दिने पहिलो पालिका

बागमती प्रदेशमा यी कार्यक्रम सञ्चालन गरेर शिक्षा सेवा विस्तार गर्ने पहिलो गाउँपालिका बनेको छ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तह रहेका छन । बागामतीका ७४ गाउँपालिका मध्ये नुवाकोटको किस्पाङ गाउँपालिका आफैँ स्वास्थ्यतर्फको प्राबिधिक शिक्षालय सञ्चालन गर्ने पहिलो पालिका बनेको हो ।

किस्पाङ बहुप्राबिधिक शिक्षालयका लागि तत्कालका लागि ४२ कोठे छात्राबास भवन र २१ कोठाको कक्षाहरू रहेका छन् । प्रशिक्षकहरूको चुनौति रहे पनि सहज रूपमा सञ्चालन गर्न सकिने प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत स्वास्थ्य सेवाका अधिकृत विनोद न्यौपाले जानकारी दिए । गाउँमै बसेर प्राविधिक शिक्षा पढ्न चाहनेका लागि यो धेरै महत्वपुर्ण अवसर हुने न्यौपानेले बताए । उनले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले प्राविधिक शिक्षामा गाउँपालिकाले लगानी गरेको बताए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको किस्पाङ अब प्राविधिकि शिक्षाको केन्द्र पनि बन्ने भएको छ । नुवाकोट जिल्लाको साविक गाविसहरू साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिली किस्पाङ गाउँपालिका बनेको हो । यस गाउँपालिकाको पूर्वमा रसुवाको उत्तरगया, पश्चिममा नुवाकोटको म्यागङ, उत्तरमा धादिङको रुविभ्याली गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ । यस गाउँपालिकाको जनसंख्या १४८६१ र क्षेत्रफल ८२.५७ वर्ग किमी रहेको छ ।

१३ कार्तिक २०८०, सोमबार १२:२६



तपाईको प्रतिक्रिया