कारागार निर्माण अलपत्र

विदुर । केन्द्रीय कारागार नुवाकोटमा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौँपटक म्याद थप गर्दासमेत पूर्वाधार निर्माण ९० प्रतिशत मात्र पूरा भएको छ । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने तोकिएको समयमा पूरा नहुँदा आयोजनाको लगानी अलपत्र अवस्थामा रहेको छ ।

विदुर नगरपालिका–६ खम्पाली क्याम्पमा निर्माण भइरहेको कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य राखिएको थियो । निर्धारित मिति दुई वर्ष गुज्रिसक्दा पनि कारागार निर्माणले अझै पूर्णता पाउन सकेको छैन । नेपाल सरकारद्वारा बृहत् गुरुयोजनासहित केन्द्रीय कारागार भवनको पहिलो चरणमा घेराबारा लगाउने काम सम्पन्न भएको छ । कारागार निर्माणको दोस्रो चरणको निर्माण कार्य पूरा भएको छैन । हालसम्मको प्रगति ९० प्रतशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका इन्जिनियर अजय भट्टराईले बताए ।

सम्झौता भएको संरचनाको काम सम्पन्न भए एक हजार तीन सय कैदीबन्दी नुवाकोट स्थानान्तरण हुनेछन् । लामा/रमण जेभीले २०७६ असोज २९ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोज ३० गते ४७ करोड ८१ लाख रुपैयाँमा सम्झौता गरेको थियो । छैटौँपटक थप गरिएको म्याद पनि २०८० असोज २ गते सकिएको छ । आर्थिक वर्ष २०७९/८० का लागि आठ करोड ७४ लाख बजेट थियो । सोमध्ये आठ करोड ७४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्यअन्तर्गत आर्थिक वर्ष २०८०/८१ देखि निर्माण कार्य थालनी गर्ने गरी गत वर्ष २०७९/८० अन्तिममा विभागीय तवरमा कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेको छ । आयोजनाले करिब साढे चार अर्ब लागतमा थप पाँच हजार पाँच सय थुनुवा कैदीबन्दी राख्ने संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहित दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।

कारागारमा सीप भएकाहरूका लागि रोजगार कक्ष, खेलमैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योग केन्द्र र किरियापुत्री कक्षलगायतको सुविधा रहने जिल्ला कारागार नुवाकोटका प्रमुख गंगालाल योगीले जानकारी दिए । बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपश्चात् आर्थिक प्रस्तावउपर मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट कार्य भइसकेको छ ।

अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माण कार्यका लागि आव २०८०/८१ का लागि ४० करोड रकम सुनिश्चित गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनील ठाकुरले बताए । ५३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्रीय कारागार अझै पाँच हजार सात सय कैदीबन्दीका लागि राख्न भवन बनाउनुपर्ने आयोजना प्रमुख ठाकुरले बताए ।

३० आश्विन २०८०, मंगलवार २०:५३



तपाईको प्रतिक्रिया