बर्खा र हिउँदमा फरक फरक शुल्क

विदुर । सरकारले औद्योगिक तथा व्यापारी ग्राहकको लागि बर्खा र हिउँदमा विद्युत् महसुल दर फरक–फरक निर्धारण गरेर असारदेखि लागू गरेको छ ।

विद्युत् नियमन आयोगले औद्योगिक तथा व्यापारिक ग्राहकका लागि बर्खा र हिउँदको समयमा दुईखाले महसुल दर कायम राखेको हो । औद्योगिक तथा व्यापारिक ग्राहकका लागि विद्युत् महसुल ८ देखि १४ प्रतिशतसम्म बढाएको छ । नयाँ महसुल दर निर्धारण गरेपछि विगतदेखि नै विद्युत् प्राधिकरणले लगाउँदै आएको डेडिकेटेड तथा ट्रंक लाइनको अतिरिक्त ६५ प्रतिशत हटाएको छ । नयाँ महसुल दरले उद्योग क्षेत्रमा बिजुली खपत बढ्न गई समग्र आर्थिक गतिविधि बढ्ने दाबी आयोगले गरेको छ । बर्खाको अफपिक समयका लागि पिक समयको भन्दा करिब ४७ प्रतिशतसम्म कम दर कायम गरिएको छ ।

आयोगले निर्धारण गरेको महसुलदर अनुसार १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले ३० रुपैयाँ न्यूनतम शुल्क मात्र तिरे पुग्नेछ । २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले डिमान्ड शुल्क ३० रुपैयाँ र प्रतियुनिट ३ रुपैयाँको दरले तिनपर्ने छ । त्यसै गरी, महिनामा २१ देखि ३० युनिट बिजुली खपत गर्ने ग्राहकले न्यूनतम डिमान्ड शुल्क ५० रुपैयाँ र प्रति युनिट ६ रुपैयाँ ५० पैसाको दरले तिर्नुपर्ने हुन्छ । ३१ देखि ५० युनिटसम्म खपत गर्नेले न्यूनतम डिमान्ड शुल्क ५० रुपैयाँ र प्रति युनिट ८ रुपैयाँका दरले तिनुपर्नेछ ।

५१ देखि १०० युनिटसम्म खपत गर्नेले न्यूनतम डिमान्ड शुल्क ७५ र प्रतियुनिट ९ रुपैयाँ ५० पैसाको दरले तिर्नुपर्नेछ । एक सय एकदेखि एक सय ५० युनिटसम्म खपत गर्ने उपभोक्ताले न्यूनतम एक सय रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट नौ रुपैयाँ ५० पैसाको दरले बुझाउनुपर्नेछ । असारदेखि लागू हुने नयाँ महसुल दर अनुसार एक सय ५१ युनिटदेखि दुई सय ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले न्यूनतम डिमान्ड शुल्क एक सय २५ र प्रति युनिट १० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसैगरी, दुई सय ५० देखि ४ सय युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले भने न्यूनतम डिमान्ड शुल्क एक सय ५० रुपैयाँ र प्रति युनिट ११ रुपैयाँ महसलु तिर्नुपर्नेछ ।

२३ असार २०७७, मंगलवार १२:४९



तपाईको प्रतिक्रिया