काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) ले आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।
यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । यस पटक सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा अटाएनन् । त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् ।
नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ । सन्दीप बिग बास लिग खेल्ने क्रममा अस्ट्रेलियामा रहेका छन् । उनी केही दिनमै नेपाल फर्किने बताइएको छ । उनले बुधबार जारी सिजनमा आफ्नो खेल टुंग्याएका छन् ।
होबर्ट हरिकेन्समा आबद्ध उनले जारी सिजनमा बुधबार मेलबर्न स्टारसँग अन्तिम खेल खेलेका हुन् । मेलबर्नले १०६ रनले जितेको उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएका थिए ।
नेपाली टिम
- सन्दीप लामिछाने -कप्तान
- कुशल भुर्तेल
- आसिफ शेख
- दीपेन्द्रसिंह ऐरी
- ज्ञानेन्द्र मल्ल
- शरद भेषावकर
- आरिफ शेख
- करण केसी
- जितेन्द्र मुखिया
- अविनाश बोहरा
- शहाब आलम
- कुशल मल्ल
- कमलसिंह ऐरी
- विवेक यादव
- प्रदीप ऐरी
- लोकेश बम
६ माघ २०७८, बिहीबार ११:४८