कलाकार र खेलाडीको सम्मान

विदुर । सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा लोकगायक स्रस्टा बलराम खतिवडा र तेक्वान्दो रेफ्री जगन्नाथ अधिकारीलाई सम्मान गरेको छ ।

गएको शनिबार विदुरमा आयोजित समारोहकाबीच सम्मानित द्वय खतिवडा र अधिकारीलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कार विरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत संगित कामर्मज्ञ गायक खतिवडाको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिए । दुप्चेश्वर गाउँपालिकाका निवासी स्रस्टा खतिवडाका ‘बाँसको लिङ्गो गरालो, मनै बरालो’ बोलको गीत प्रख्यात छन् ।

समारोहमा नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा संयुक्त अरब इमिरेट्स (युएइ) मा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम राख्न सकेकोमा विदुर नगरपालिका–८ निवासी जग्गनाथ अधिकारीलाई सम्मान गरेको छ ।

वि.सं. २०६० सालदेखि तेक्वान्दो डोज्याङबाट खेल जीवन सुरु गरेका अधिकारीले हाल युएइमा तेक्वान्दो खेलको प्रशिक्षण दिईरहेका छन् । यसैगरी नुवाकोट एफएमले समारोहमा दुई दर्जनभन्दा बढी पूर्वकर्मचारीहरूलाई समेत सम्मान गरेको छ ।

ओमकारेश्वर भजन समूह प्रथम

नुवाकोट एफएमको वार्षिक साधारणसभाको अवसरमा आयोजित खुला खैँजडी भजन प्रतियोगितामा नुवाकोटको बेलकोटगढीको ओमकारेश्वर भजन समूह प्रथम भएको छ ।

भजन प्रतियोगितामा बेलकोटगढी नगरपालिकाको भजन समूह प्रथम भएको हो । दोश्रोमा बागभैरम भजन समुह भैरमकोट भएको छ । विजेताहरू प्रथम, द्वितीय र तृतीयले क्रमशः रुपैंयाँ २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले जानकारी दिएका छन् ।

२२ आश्विन २०८०, सोमबार ०५:३३



तपाईको प्रतिक्रिया