नुवाकोट कोरोना मुक्त

विदुर । नुवाकोट जिल्लामा गएको सोमवारदेखि विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएको छ । यसअघि संक्रमित भएकाहरू सबै निको भएका र नयाँ परिक्षणबाट कुनै संक्रमण फेला नपरेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा १९ महिनापछि कोरोनाको संक्रमण हराएको हो । २०७७ साल जेठदेखि जिल्लामा लगातार कोरोना संक्रमितहरू भेटिदै आएका थिए । स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनका अनुसार गएको सोमवारदेखि आइतवारसम्मको एक हप्ताको अवधिमा नुवाकोटमा कुनै संक्रमण फेला परेको छैन ।

उनले आइतवार जारी गरेको तथ्याङ्क सहितको सूचना अनुसार कोरोनाका कारण नुवाकोटमा ५२ जनाको निधन भएको छ । काठमाडौं वा अन्य जिल्लामा निधन भएको नुवाकोटका नागरिकको संख्या भने यसमा समावेश छैन । जिल्ला बाहिर कत्ति जना जिल्लावासीको कोरोनाका कारण निधन भयो भन्ने यकिन तथ्याङ्क पनि सरकारी पक्षसंगै छैन ।

जिल्ला कोरोना मुक्त भएसंगै जिल्ला अस्पताल त्रिशुलीको ३० वटा, खरानीटार अस्पतालको ३० वटा र १६९ वटा आइसोलेसन सेन्टरहरूका बेड खाली भएका छन् । हालसम्ममा विदुर नगरपालिकाका नागरिकहरू बढी संक्रमित भएका छन् । ३३ सय ८९ जना विदुर नगरपालिकाको संक्रमित भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् । त्यस्तै दोश्रोमा तारकेश्वर गाउँपालिकाको ९ सय ५८ जना संक्रमित भएका छन् । सबै भन्दा कम पञ्चकन्या गापाको १९३ जना र म्यागाङ गापाको १९४ जना छन् ।

२० पुष २०७८, मंगलवार १२:१०



तपाईको प्रतिक्रिया