उल्टो पथमा शुक्रपथ

विदुर । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुकर वाग्लेले सहकारीको सो पदबाट राजिनामा दिएको एक महिना ११ दिन भयो । सञ्चालक समितिको जर्वजस्ती राजिनामा गर्न दवाव झेलेका उनले फागुन ११ गते सिइओ पदबाट राजिनामा दिए र सोही दिन सञ्चालक समितिले उनको राजिनामा स्विकृत गर्यो । तर शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आधिकारिक वेभ साइट कजगपचबउबतज।यचन मा हाल (आइतवार साँझ) सम्म उनै मधुकर वाग्ले नै सिइओका रुपमा छन् ।

पुर्व सिइओ वाग्ले र सो सहकारीको बोर्डबीच कार्यशैलीमा भिन्नता देखियो । सहकारीको सिद्धान्त र नियमावली भन्दा बाहिर पर्ने काममा तत्कालिन सिइओ वाग्लेको असहमती भएपछि उनलाई सहकारीका अध्यक्ष नरेन्द्र विष्ट लगातका पदाधिकरीले पद छाड्न दवाव दिन थाले । आफुले राजिनामा नदिए सञ्चालक समितिको बैठकबाट निर्णय गरेर सिइओ पदबाट हटाउने र अध्यक्ष विष्ट अनुकुलको सञ्चालक समितिको पदाधिकारीलाई नै सिइओमा ल्याउने जानकारी सञ्चालक समितिबाटै पाएपछि वाग्ले राजिनामा दिन बाध्य भएका हुन् ।

सामाचार श्रोतका अनुसार ‘बजारमा म्यासेज राम्रो नजाने’ भन्दै वाग्लेलाई आफ्नो वेभ साइट र सहकारीका अन्य कागजातमा शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुकर वाग्ले नै प्रचार गरिरहेको छ । श्रोतले भन्यो– ‘राजिनामा नदिए निकाल्ने धम्की आउन थालेपछि वाग्ले सरले बाध्य भएर सहकारी छाड्नु परेको हो, सहकारी भित्रको थुप्रै विषय र कार्यको विषयमा उहाँको असहमती रहदै आएको थियो, उहाँ विधि विधानबाटै काम गरौं भन्नुहुन्थ्यो ।’

नुवाकोटमा सेवा केन्द्र सञ्चालन गर्ने विषयमा पनि पुर्व सिइओ मधुकर वाग्लेकै भुमिका प्रधान रहेको थियो । सहकारीले बागमती प्रदेशको १० जिल्लामा काम गर्ने भएपछि नुवाकोटमा शाखा सञ्चालनमा ल्याउने रणनीतिक योजना उनको थियो । वाग्ले नुवाकोट बेलकोटगढी नगरपालिका मदानपुरका हुन् ।

हटाइएपछि पुर्व कर्मचारी, सञ्चालक तथा सरोकार राख्नेहरूको सम्पर्कमा वाग्ले छैनन् । धेरै दिनको प्रयास पछि इमेज साप्ताहिकको सम्पर्कमा आएका पुर्व सिइओ वाग्लेले छाड्न वाध्य पारेको पुष्टि गरे । ‘मैले राजिनामा दिइसके म अहिले यो सहकारी सिइओ होइन’, वाग्लेले इमेज साप्ताहिकसंग भने– ‘राजिनामा दिइसकेको व्यक्तिलाई किन सिइओ भनेर प्रचार गर्नुभयो मलाई जानकारी छैन ।’

४ वर्षका लागि वाग्लेलाई सहकारीले सिइओ बनाउनका लागि सञ्चालक समितिको सदस्यबाट राजिनामा दिन लगाएका थिए । सञ्चालकबाट राजिनामा दिएर सिइओ बनेका उनलाई अहिले सो पदबाट पनि हटाइएको छ । उनलाई राजिनामा दिन लगाइएर सिइओमा सञ्चालक समितिका सचिव जीवन ओझालाई जिम्मेवारी दिइएको छ ।

फागुन ११ गतेदेखि नै सिइओको रुपमा कार्यरत ओझालाई सहकारीले गोप्य राखेको छ । उनको सामान्य विवरण समेत वेभ साइट तथा सहकारीको अन्य लिखित कागजातमा भेटिएको छैन । उनी सञ्चालक समितिको सचिव रहेको विवरण समेत सहकरीले सार्वजनिक गरेको छैन । वेभ साइटमा सञ्चालक समितिका सबै व्यक्तिको विवरण, नाम, फोटो सार्वजनिक हुँदा पनि सचिव तथा सिइओ ओझाको विवरण छैन ।

सहकारीसंग वडाले कर लिन मानेन

वडा नं. २ को कार्यालयमा मंगलवार सहकारीका कर्मचारीहरु

बट्टार । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कर्मचारी ‘कर तिर्ने’ भन्दै अघिल्लो हप्ता विदुर नगरपालिका वडा नं. ४ को कार्यालयमा पुगेको थियो । उप शाखाका प्रवन्धक जयबहादुर थापा सहितको एक टोली वडा कार्यालयमा पुगेको थियो । ‘कुन शिर्षकको के विषयमा कर तिर्ने भन्ने हामीलाई प्रष्ट नपारी शुक्रपथ सहकारीको कर तिर्न आएको बुझिदिनु पर्यो भन्दै थिए’, वडाका एक कर्मचारीले भने– वडा नं. २ मा कार्यालय राखेर बसेको तपाईहरूको राजश्व वा अन्य कुनै कर हामीले लिन मिल्दैन भनेर पठायौं ।’

सहकारीका कर्मचारीले वडा कार्यालयमा राजश्व लिइदिन निक्कै नै जोडबल गरेका थिए । तर वडाका कर्मचारीहरूले सहकारी तोकिएको आफ्नो वडामा नबसेर अन्यत्र कार्यालय स्थापना गरेको जानकारी पाएकोले उनीहरूको प्रस्ताव स्विकार नगरेका हुन् । हाल कार्यालय स्थापना भएको स्थानको विवरण सहित सहकारीको सम्पूर्ण कागजात वडा कार्यालयले माग गरेपछि ‘भोलि ल्याउला’ भनेर हिडेका उनीहरू अहिलेसम्म वडा नं. ४ कार्यालय गएका छैनन् । ‘आजसम्म त्यो सहकारीले मलाई कुनै जानकारी दिएका पनि छैन र सम्पर्कमा आएका पनि छैनन्’, वडा अध्यक्ष टलकमान श्रेष्ठले भने– ‘कर लिइदिनु पर्यो भनेर कार्यालयमा आएको बेलाका कर्मचारीहरूले सहकारीको आधिकारिक कागजात सहित जानकारीमा आउन भनेपछि उनीहरू फेरि बेपत्ता भएका छन् ।’

त्यस लगत्तै वडा नं. २ को कार्यालय हान्निएका सहकारीका कर्मचारीहरूलाई वडा अध्यक्ष विरेन्द्र शाहीले ‘साढे छ महिनासम्म के हेरेर बसेको’ भनेर जिज्ञासा गरेका थिए ।

मंगलवार वडा अध्यक्ष शाहीको कार्यकक्षमा पुगेका सेवा केन्द्रका प्रवन्धक थापा र ऋण शाखाका प्रमुख रामेश्वर वाग्ले ठेगाना परिर्वतनका लागि सिफारिस लिनका लागि वडा कार्यालय पुगेका हुन् । आधा वर्षसम्म वडा कार्यालयलाई जानकारी नदिई र नगरपालिकाको सहकारी शाखामा समेत जानकारी नगराइ आर्थिक कारोवार गरेको भन्दै वडा अध्यक्ष शाहीले आपत्ति जनाएका थिए । आफुले पत्रिकामा समाचार आएपछि मात्रै आफ्नो वडामा सहकारीको कार्यालय रहेको र कारोवार गरिरहेको जानकारी पाएको भन्दै अब लफडा भएपछि सहकारीको जिम्मा नलिने भन्दै पन्छिए । ‘तपाईहरूले यत्ति लामो समयसम्म के के पो गरिसक्नु भयो, अब वडाबाट चिठ्ठी दिएर म विवादमा आउने र फस्के काम गर्दिन भन्दै वडा अध्यक्ष पन्छिए’, सो छलफल सुनेका एक व्यक्तिले भने– ‘सहकारीको सन्र्दभमा आफ्नो केही अधिकार नभएको भन्दै वडा अध्यक्षले विदुर नगरपालिकाका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमाललाई नै मिटिङ्गमा बोलाइदिए ।’ सहकारीका प्रतिनिधिहरू वडा कार्यालयमा छलफलका लागि पुगेको सूचना पाउने वित्तिकै वडा नं. २ को कार्यालयमा यस इमेज साप्ताहिकका प्रतिनिधि पुगेको थियो । हाम्रा प्रतिनिधिको उपस्थिति देखेपछि सेवा केन्द्रका प्रवन्ध थापा र ऋण प्रमुख वाग्ले पिउदा पिउदैको चिया छाडेर बाहिरिए ।

वडा अध्यक्ष बिरेन्द्र शाहीले वडा कार्यालयमा सहकारीका कर्मचारीहरू सिफारिस अहिल्यै दिनु पर्यो भन्दै आएका र त्यस विषयमा जानकारी नभएकोले सहकारी शाखाका प्रमुख रिमाललाई बोलाइदिएको बताएका छन् । ‘उनीहरूले सिफारिस मागेको शैली र तरिका अल्ली शंकास्पद लाग्यो’, वडा अध्यक्ष शाहीले भने– पुष्करजीले उनीहरूलाई तपाईहरूको कानूनी कागजात के कस्तो छ त्यो उपलब्ध गराउनु पर्यो, निवेदन दर्ता गराउनुस् पहिला भन्नुभयो ।’ त्यसपछि उठेर हिडेका उनीहरूले वडा अध्यक्षलाई फोनबाट मात्रै दवाव दिइरहका छन् । ‘कहिले सहकारीको अध्यक्ष हुँ भनेर त कहिले सहकारीको फलानो पदको कर्मचारी हुँ भन्दै सिफारिस तत्कालै चाहियो भनेर फोन आउछ’ वडा अध्यक्ष शाहीले भने । उनीहरूले सिफारिस लिनका लागि वडा कार्यालयमा निवेदन समेत दिएका छैनन् । सहकारीको कुनै पनि दर्ता प्रमाणपत्र लगायतका कागजपत्र अहिलेसम्म कही प्रस्तुत गरेका छैनन् ।

वडा नं. २ को कार्यालयले शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई अनाधिकृत रुपमा कार्यालय स्थापना गरेर आर्थिक कारोवार गरिरहेको विषयमा स्प्रष्टिकरण सोध्ने भएको छ । वडा अध्यक्ष शाहीले एक दुई दिन भित्र सहकारीको नाममा वडाबाट चिठ्ठी जाने र सहकारीको सम्पुर्ण जानकारी सहित कागजातहरू माग हुने बताएका छन् ।

अरु जिल्लामा पनि यस्तै लफडा


नुवाकोट । विदुर नगरपालिका वडा नं. ४ मा सेवा केन्द्र स्थापना गर्ने स्विकृत लिएर वडा नं. २ मा बस्दै आएको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको यही प्रकृतिको लफडा अन्य जिल्लामा पनि भेटिएको छ । न्यूरोडको प्रधान कार्यालय बाहेक यो सहकारीले अन्य नौं स्थानमा सेवा केन्द्र स्थापना गरेको छ । काठमाडौंमा प्रधान कार्यालय सहित छ वटा र अन्य चार जिल्लामा एक÷एक वटा सेवा केन्द्र छन् । ललितपुरको लगनखेलमा, भक्तपुरको सुर्यविनायकमा, चितवनको भरतपुर र नुवाकोटको विदुरमा सेवा केन्द्र छ ।

नुवाकोटमा जस्तै भक्तपुर र चितवनमा समेत सहकारीको सेवा केन्द्र अनुमती लिएको भन्दा बाहिर बसेको फेला परेको छ । नुवाकोटमा जस्तै समस्या भोगिरहेको दुवै जिल्लामा भने समाधान भइसकेको सहकारीले दावी छ ।

सहकारीको लेखा समिति सदस्य देवप्रसाद घिमिरे भने नुवाकोटमा मात्रै समस्या बाँकी रहेको र अन्य जिल्लामा ‘मिलिसकेको’ दावी गर्छन् । ‘दुई ठाउँको विवरण सच्याउने काम भइसकेको छ, नुवाकोटको मात्रै ढिला भएको हो, तपाईले चैत महिना भरी नुवाकोटको पनि समाधान भएको खबर पाउनुहुने छ’ घिमिरेले भने । तर सहकारीको सदस्यलाई वितरण गर्ने प्रचार सामाग्री र वेभ साइटमै ठेगाना फरक फेला परेको छ । भक्तपुरको सेवा केन्द्रको ठेगाना एक ठाउँमा सुर्यविनायक–सुनदेवी ०५ र अर्को ठाउँमा सुर्यविनायक–४ भक्तपुर रहेको छ ।

–इमेज साप्ताहिकबाट

२१ चैत्र २०७८, सोमबार १०:२५



तपाईको प्रतिक्रिया