राष्ट्रिय कृषि गणना वैशाखबाट सुरु हुने

विदुर । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो ।

राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया सुरु भएको छ । त्यसका लागि देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिने छन् । उनीहरूको सहजीकरणका लागि १ हजार २८० जना सुपरिवेक्षकहरू खटिने भएका छन् । राष्ट्रिय जनगणना पूरा भएकै वर्ष कृषि गणना गरिदै आएको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।

के–के विवरण भरिन्छ ?
कृषि गणनाका दौरान दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने सरकराको अपेक्षा रहेको छ ।

कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्याङ्क संकलन गरिने भएको छ । यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा मुलुकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध हुने भएको छ ।

१६ फाल्गुन २०७८, सोमबार १३:४९



तपाईको प्रतिक्रिया