सरकारी गोदाममा डिएपी मल एक बोरा मात्रै

साल्ट ट्रेडिङको गोदाममा रहेको एक बोरा डिएपी

विदुर । सोमवार प्रदेश सांसद राधिका तामाङले रासायनिक मलका बारेमा नुवाकोटको अवस्था बुझ्न दुई वटा सरकारी गोदामको अनुगमन गरे । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लिएर सरकारी गोदाम अनुगमनमा पुगेका तामाङले जब डिएपी मल एक बोरा मात्रै पाए अनि अलमलमा परे ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय नुवाकोटको बट्टार स्थित गोदाम अनुगमनका क्रममा एक बोरा मात्रै डिएपी मल भेटिएको हो । त्यो पनि पञ्चकन्या गाउँपालिकाको एक सहकारीले दसैं अगाडी नै लैजानुपर्नेमा छुटेपछि गोदाममा रहेको हो । सप्तरंगी महिला कृषि सहकारी संस्थाले आफ्नो कोटामा परेको संख्या खरिद गरि लैजादा एक बोरा मलको बिल कम काटेका कारण त्यो मल गोदाममै अड्किएको छ ।

सरकारी अनुदानको मुल्यमा कम्पनीले विक्रि गर्ने डिएपी मल र युरिया मलको मात्रा जिल्लामा सिमित रहेको यो एक उदाहरण मात्रै हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसंग अहिले नुवाकोटको लागि विक्रि गर्ने मल १५१ बोरा मात्रै छ । डिपो कार्यलय नुवाकोटका निमित्त प्रमुख सन्देश महर्जनका अनुसार युरिया मल १५० बोरा र डिएपी एक बोरा छ । ‘मल विक्रिका लागि जिल्लालाई कोटा निर्धारण भएअनुसार मात्रै आउने र सम्वन्धीत सहकारीलाई मात्रै निर्धारित कोटा अनुसार विक्रि गर्नुपर्ने भएकोले छुटेको उक्त डिएपी एक बोरा मल विक्रि गर्न नसकिने महर्जनले बताए ।

साल्ट ट्रेडिङको गोदाम अनुगन

प्रदेश सांसद राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, प्रहरी प्रमुख एसपी रमेश पण्डितले साल्ट ट्रेडिङ्ग कर्पोरेशनसंग अहिले मौज्जाद रहेको रासायनिक मलको विवरण र विक्रि वितरण प्रणालीको विषयमा अनुगमन गरेका छन् । त्यस क्रममा मलको कोटा पाएका कत्तिपय सहकारीहरु मल लिन नआएको कारण गोदाममै मल थुप्रिएको सांसद राधिका तामाङले बताए । ‘दसैं अगाडी नै लगिसक्नु पर्ने मलका लागि केही सहकारीहरु साल्ट ट्रेडिङ्गको सम्पर्क मै नआएको पाइयो, ति सहकारीहरुलाई तुरुन्त मल लैजान वा त्यसका सट्टामा अर्को सहकारी मार्फत् कृषकलाई मल प्रदान गर्न गाउँपालिकाहरुलाई भनेको छु’ तामाङले भने ।

अनुगमनका क्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले मल गोदाम गरेको स्थान असुरक्षित रहेको भेटिएपछि तत्कालै सुधार गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रिासलले बताएका छन् । चिसो भुइमा मल थुपारिएको र त्यसबाट मल बिग्रन सक्ने भएकोले काठमाथी मल राख्न र पानीबाट जोगिने गरी भण्डार गर्न कम्पनीका कर्मचारीलाई निर्देशन दिएको उनले बताए । ‘चिसो भुइँमा मल थुपारिएको भेटियो, अन्तिमको बोरामा मल विग्रन सक्ने र त्यो खरिद गर्ने किसानलाई मर्का पर्ने भएकोले तत्कालै सुधार गर्न निर्देशन दिएको छु’ प्रमुख जिल्ला अधिकारी रिसालले भने ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको जिल्ला शाखालाई मल वितरण पारदर्शी गर्न र निर्धारित मूल्यमा उपलब्ध गराउन समेत अनुगमन टोलीले सचेत गराएको छ । कम्पनीले सरकारी अनुदानको मललाई डिएपी ५० केजीको एक बोरा दुई हजार ३४६ रुपैयाँमा र युरिया मल ५० केजीको एक बोरा ८९६ रुपैयाँमा विक्रि गरिरहेको छ ।

मल छ बेच्न मिल्दैन

कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय त्रिशुली नुवाकोटको विदुर नेपाल बैंक अगाडीको गोदाममा रासायनिक मल लिनका लागि दिनहुँ किसानहरु नाम्लो बोकेर आउछन् । ‘दिदि आधा बोरा भएपनि मल दिनुन’ भन्दै कार्यालय प्रमुख अनुराधा खनाललाई भेट्न किसानहरुको संख्या दिनहुँ २०/२५ हुन्छन् । तर उनी त्यसरी मल बेच्न सक्दैनन् । तोकिएको पालिकाको तोकिएको सहकारीलाई बाहेक रासायनिक मल विक्रि गर्न नसक्ने उनी मल किन्न आएका सहकारीहरुलाई मिल्ने भए ति किसानलाई मल विक्रि गर्न अनुरोध मात्रै गर्छन् । त्यसरी कम्पनीमा २०/५० बोरा मल लिन आइपुगेका सहकारीका प्रतिनिधिहरुले समेन फुटकर मल बेच्न खास मान्दैनन् । ‘मल त गोदाममा छ नि, तर यसरी आएका किसानहरुलाई हामीले विक्रि गर्न मिल्दैन’, खनालले भने– ‘तोकिएको सहकारी बाहेक अरुलाई हामी एक गेडा पनि दिन सक्दैनौं ।

सोमवार रासायनिक मलको अवस्थाका बारेमा बुझ्न पुगेका प्रदेश सांसद राधिका तामाङलाई समेत उनले मल विक्रि प्रणाली बैज्ञानिक नभएको बताए । किसानहरु मल गोदाममै आइपुग्दा पनि दिन नपाउने विक्रि प्रक्रृयाले गर्दा समस्या भएको उनले सुनाए । मलको कोटा छुट्टिएको केही सहकारीहरु कम्पनीमा नविकरण नभइदिने र केही सहकारी मल लिनै नआएका कारणले अरुलाई बेच्न पनि नमिलेको र गोदोममा थन्किएर बसेको उनले सुनाए ।

कृषि सामाग्री कम्पनी लिमिटेडसंग अहिले युरिया, डिएपी, कृषि चुन र भर्मिक कम्पोट मल छ । पोटास भने छैन । कार्यालय प्रमुख अनुराधा खनालका अनुसार गोदाममा युरिया मल दुई हजार २४९ (प्रति बोरा ५० केजी) डिएपी एक हजार ५१८ (प्रति बोरा ५० केजी) कृषि चुन ३२५ बोरा (प्रति बोरा २५ केजी) भर्मिक कम्पोष्ट २०१ बोरा (प्रति बोरा २५ केजी) छ । ति सबै नुवाकोट र रसुवाका सहकारीहरुको नाममा आएको छ ।

स्थानीय सरकार र सहकारी गम्भिर देखिएनन् : तामाङ

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय नुवाकोट र कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय त्रिशुली नुवाकोटको गोदाम अनुगमन पछि प्रदेश सांसद राधिका तामाङले उपलब्ध भएकै मललाई समेत वितरण नगरिदा किसानहरुलाई समस्या भएको बताए । ‘रासायनिक मलको अभावको सवालमा राज्यले पर्याप्त मल आयात गर्न नसक्नु प्रमुख कारण रहेपनि उपलब्ध भएका मलको वितरणमा रहेको त्रुटी र जिम्मेवार निकाय एवं सहकारीहरुको गैरजिम्मेवारीका कारण किसानहरु थप पीडित हुनुपरेको अवस्था देखियो’ तामाङले भने ।

अनुगमनका क्रममा मल वितरण गर्दा प्रदेश सरकारबाट स्थानीय सरकारलाई कोटा निर्धारण गर्ने सवालमा सम्बन्धित पालिकामा रहेको उत्पादनशील जमिन र आवश्यक्ताको आधारमा कोटा निर्धारण गरिनु पर्नेमा विशुद्ध भौगोलिक क्षेत्रफलको आधारमा कोटा निर्धारण गरिनुले कतै मल बढी हुने र कतै अपुग भएको तामाङले बताएका छन् । स्थानीय सरकारले सहकारीहरुलाई छनौट र सिफारिस गर्दा सहकारीको बैधता र जिम्मेवारीपन प्रति गम्भीर हुन नसकेको उनले बताए । ‘जसको कारण नविकरण नभएका सहकारीहरु सिफारिसमा पर्ने र समयमा मल वितरणमा समस्या पैदा भएको अवस्था भेटिएको छ’ उनले भने ।

जिल्लास्थित मुख्य वितरक निकाय कृषि सामाग्री कम्पनीले कोटा निर्धारण र जिल्लाको माग परिमाणको बीचमा भएको असन्तुलन बारे समयमा समन्वय नगर्नु वा समाधानको पहल नगर्नु समस्याको रुपमा रहेको अनुगनमा सहभागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रसंह ठकुरीले बताए । साल्ट ट्रेडिङ्गमा भएको मलसमेत समयमा वितरण नहुनु, अव्यवस्थित मल भण्डारणका कारण मलको गुणस्तर ह्रास हुने अवस्था देखिएको ठकुरीले बताए ।

कृषि सामाग्री कम्पनीको गोदाम

दुवै कम्पनीको गोदाम अनुगमन र मलको तथ्याङ्क अध्ययन पछि प्रदेश सांसद राधिका तामाङले आम रुपमा नेपाल सरकारले मल आपूर्तिलाई सहज बनाई दिर्घकालीन समाधान दिन गम्भीर भएर तत्काल कदम चाल्न जरुरी रहेको प्रतिक्रृया दिएका छन् । त्यसका लागि आफ्नो पनि दायित्व रहेको उल्लेख गर्दै तामाङले आफ्नो तर्फबाट सम्बन्धित निकायमा पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तत्काल उपलब्ध मलको वितरण प्रणाली व्यवस्थित पार्न समेत दुवै कम्पनीलाई आग्रह गरेका छन् ।

सांसद तामाङले पुस १० गतेसम्ममा सबै पालिकाको स्थानीय सरकारसंग समन्वय गरी माग परिणामको यथार्थ विवरण उपलब्ध आग्रह गरेका छन् । त्यसका लागि जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । संकलन हुने नयाँ तथ्याङ्कको आधारमा पालिका स्तरमा कोटा निर्धारण गरी अब आउने मल वितरण गर्न प्रदेश कृषि मन्त्रालयको सचिवसंग संवाद गरिएको उनले बताए । ‘नुवाकोट जिल्लाको लागि मलको कोटा थप्न तुरुन्तै सचिवलाई टेलिफोन गरेको छु’ तामाङले भने ।

यस्तै, उनले गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई समेत मल गोदामबाटै टेलिफोन गरेर जिम्मेवार ढंगले मलको विषयमा प्रस्तुत हुन आग्रह गरे । कत्तिपय सहकारीले आफ्नो कोटामा परेको मल नै नलैजाने र कत्तिपय पालिकामा मल नै नपुग्ने अवस्था रहेकोले आफ्नो पालिकाको बस्तुस्थिति अध्ययन गर्न उनले स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुलाई आग्रह गरे । ‘नविकरण भएका, क्रियाशील र कार्य सम्पादन क्षमता भएका सहकारीलाई मात्र मल वितरणका लागि सूचिकृत र सिफारिस गर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई आग्रह गरेको छु’ तामाङले भने ।

मल वितरणका लागि सूचिकृत र सिफारिस भएका सहकारीलाई यथाशक्य छिटो कोटा प्राप्त मल सम्बन्धित क्षेत्रको किसान समक्ष वितरण गर्न साथै कार्यक्षेत्रभन्दा अन्यत्र बढी शुल्कमा विक्री गरेको पाईएमा अनुगमन र कारवाहीका लागि समेत स्थानीय सरकारको ध्यानाकर्षण गराएको समेत उनले बताए । तामाङले माग भन्दा बढी मल उपलब्ध भएका पालिकाले तत्काल जानकारीसहित अन्यत्र वितरणका लागि सिफारिस गर्न आग्रह गरेका छन् ।

५ पुष २०७९, मंगलवार ११:४७



तपाईको प्रतिक्रिया