नुवाकोटका बजारमा तिब्र र प्रभावकारी अनुगमन

विदुर । चाडपर्व नजिकिएसँगै नुवाकोटमा बजार अनुगमनलाई सरकारी निकायहरूले तीव्रता दिएको छ । सदरमुकामका साथै ग्रामिण भेगमा समेत बजार अनुगमन तिब्र भएको छ । अनुगमनका क्रममा फेला परेका अनियमित कार्यलाई कानूनी कारबाहीमा ल्याएको छ ।

बजारमा गुणस्तरहीन सामग्री बिक्री वितरण भइरहेको उपभोक्ताबाट गुनासो आएपछि म्यागङ गापाको विभिन्न बजारमा अनुगमन गरिएको छ । गाउँपालिकाका विभिन्न बजारबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गर्नुका साथै पसललाई जरिवाना समेत गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको म्यागङ गाउँपालिका २ र ३ मा रहेका विभिन्न वजारमा विभिन्न ३८ वटा किराना पसल, एग्रोभेट, खाद्यान्न पसल, मदिरा पसल र सप्लायर्सको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

मापदण्ड विपरीत गरिएको फेला परेपछि एउटा औषधि पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी सात हजार रुपैयाँ जरिवाना गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

अनुगमनका क्रममा म्यागङबाट म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीतका विभिन्न सामग्रीसमेत गरि कुल ८५ हजार ४६० रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरेको छ ।

उता, बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा बजार अनुगमन भएको छ । अनुमगमनका क्रममा किस्पाङबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको हो । संयुक्त बजार अनुगमन टोलीले किस्पाङ गाउँपालिकाको १४ वटा किराना पसल, होटेल, मासु पसल र औषधि पसलको अनुगमन गरेको हो । एकै दिन किस्पाङ गापा २, ३ र ५ मा रहेका पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु नष्ट गरिएको गरिएको छ । २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १० हजार जरिवाना भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

उनका अनुसार किस्पाङ २ को ऋतु सप्लायर्सलाई ५ हजार, किस्पाङ २ कै न्यौपाने खाद्य स्टोर्सलाई नगद ५ हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसलहरूलाई समेत मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरी कुल ३५ हजार ५ सय १५ रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा सबै पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्बन्धमा वजार अनुगमन गरिएको छ । बजार अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिंदै, सुधार गर्न र केही व्यवसायीलाई आवश्यक कागजातसहित घरेलु तथा साना उद्योग कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख किशोर सापकोटाको भनाई छ ।

सर्वसाधारणले भने वर्षको एक–दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेको गुनासो गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन् । दसैं, तिहार तथा नयाँ वर्ष आसपासको समयमा मात्रै बजार अनुगमन हुने गरेको र अन्य बेलामा भने अनुगमन नहुने गरेको उपभोक्ता बताउँछन् । खाद्य वस्तुमा गुणस्तरीयताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरूको उजुरी तथा गुनासो छन् ।

यसै बीच, नुवाकोटको बट्टारबजारका पसलबाट गुणस्तरहीन सामान जफत गरी जरिवाना गरिएको छ । नुवाकोटको संयुक्त बजार अनुगमन समितिद्वारा अनुगमनका क्रममा अखाद्य वस्तु नियन्त्रणमा लिएर पसलवाट जरिवाना गरिएको गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ । मापदण्ड विपरित गरिएको फेला परेपछि २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी १०/१० हजार रुपैयाँ जरिवाना गरि राजश्व संकलन भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार विदुर–२ को आरके ट्रेडर्सलाई १० हजार, विदुर ४ को न्यु दाजुभाई जनरल स्टोर्सलाई नगद १० हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसललाई मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिइएको छ ।

यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरि कूल १३ हजार ९२० रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा जफत गरिएको छ । ति सामग्रीहरू नष्ट गरिने घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार अनुगमनका क्रममा गुणस्तरीयता, लेवल, व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, नापतौल, खाद्यवस्तु खरिद बिल र बिक्रि बिलको निरीक्षण गरिएको हो । संयुक्त बजार अनुगमन समितिद्वारा दुई साताको अवधिमा ७२ वटा विभिन्न पसलहरूमा अनुगमन गरिएको छ । विभिन्न पसलहरूवाट एकलाख २५ हजार रुपैयाँ नगद जरिवाना गरिएको प्रमुख सापकोटाले जानकारी दिए ।

२२ आश्विन २०८०, सोमबार ०५:३७



तपाईको प्रतिक्रिया