सुरुङमार्गमा चीनको सहयोग मागिदै

विदुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

यातायातसम्बद्ध विभिन्न एजेन्डामध्ये यो विषयलाई सरकारले बढी प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको बजेटमा यो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट छुट्याएका छन् । तर, चीनसँगको नाका केरुङ लक्षित यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिमा बन्ने भन्ने तय हुन भने बाँकी छ ।

असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्ज‘भञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । नसँगको समझदारी अनुसार सुरुङमार्गको डीपीआर बनाउन लाग्ने अध्ययन खर्च चीनले नै ब्यहोरिरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भने नेपाल गर्न‘पर्नेछ । अध्ययन भइरहेको टोखा–छहरे सुरुङमार्ग खण्डको डीपीआर र ईआईए टुंग्याएर निर्माणमा जाने सहमति गर्न नेपाली पक्ष आतुर छ ।

‘चीनले अध्ययन गरिरहेको परियोजना भएकाले यसमा सहमति हुनसक्ने सम्भावना छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले भन्यो, ‘चीनले अनुदानका लागि नेपाललाई दिएको सिलिङभित्रबाट मात्रै खर्च गर्ने अडान राख्यो भने ठूलो लागतको परियोजनामा समझदारी हुन सहज अवस्था पनि छैन ।’ १५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा–छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो ।

अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालभित्र पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने गरी करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराएका थिए । नेपालले गरेको प्रारम्भिक अध्ययन र चीनले गरेको सम्भाव्यता अध्ययनले यो आयोजना सम्भाव्य रहेको देखाइसकेको छ । अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने करिब ४.२ किलोमिटरको सुरुङ बनाउन सकिने देखिएको थियो । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दुरी घटाउन सकिने सडक विभागका अधिकारीहरूको भनाइ छ । टोखाबाट थानसिंग फाँटबाट त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेसी खण्डमा जोडिनेछ । सेनाले नदी किनारै–किनारै धुन्चे भएर जाने सडकको विकल्पमा गल्छी–स्याफ्रुबेंसी खण्डको ट्रयाक खोलिसकेको छ । त्यसैमा टोखाबाट जाने सडकलाई जोड्ने सरकारको योजना छ ।

स्याफ्रुदेखि रसुवागढीसम्म भने चीनले अहिले सडक विस्तारको काम गरिरहेको छ । यो सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक गाडी पनि दुई घण्टामै पुग्न सक्ने अधिकारीहरू बताउँछन् । भूकम्पयता चीनले तातोपानी नाकालाई प्राथमिकतामा राख्न छाडेपछि रसुवाको रसुवागढी नाकासम्मका पूर्वाधार निर्माणलाई सरकारले महत्व दिएको छ । यो योजना पूरा हुँदा नाकासम्म सुविधायुक्त सडक मात्रै बन्ने छैन केरुङ र काठमाडौंको दुरी करिब ८० किलोमिटरमा छोटिनेछ । त्यसैकारण पनि यो एजेन्डालाई प्राथमिकता दिइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

१८ भाद्र २०८०, सोमबार १०:०५



तपाईको प्रतिक्रिया