नयाँ निकुञ्ज थपिदै

ZIMBABWE - MARCH 14: Elevation, Chimanimani National Park, Zimbabwe. (Photo by DeAgostini/Getty Images)

नुवाकोट । सरकारले नुवाकोट, रसुवा र सिन्धुपाल्चोकलाई मिलाएर छुट्टै राष्ट्रिय निकुञ्ज बनाउने तयारी गरेको छ । हाल भैरहेको लाङटाङ राष्ट्रिय निकुञ्जसँगै अर्को एउटा निकुञ्ज थप्न गृहकार्य सुरु गरेको छ । हाल लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेका मध्यबर्ती क्षेत्रहरु र लाङटाङ राष्ट्रिय निकुञ्जकै केही भुभागलाई समेटेर नयाँ निकुञ्ज बनाउन लागेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिले लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकको बलेफी खोलासम्मको पूर्वी भागमा अलग्गै निकुञ्ज बनाउने तयारी थालेको हो । नयाँ बनाइने निकुञ्जको नाम भने सम्बन्धित निकुञ्ज कार्यालय लगायत सरोकारवाला निकायसँगको छलफलबाट तय गरिने भएको छ ।

हालै तयार गरिएको ‘विभागको तत्काल सुधार रणनीतिक योजना’ मा तीन वटा नयाँ निकुञ्ज थप्ने प्रस्ताव गरिएको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रेमनारायण कँडेलले विभागको नेतृत्व गरेलगत्तै विभागको रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइएको हो ।

भूगोल धेरै समेटेर निकुञ्ज बनाइएकाले व्यवस्थापन–संरक्षणमा समस्या उत्पन्न भएपछि भइरहेकै क्षेत्रलाई टुक्रयाउने र नयाँ भुभागलाई थपेर नयाँ निकुञ्ज बनाउने तयारी सुरु गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा ‘सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खोलिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने’ व्यवस्था छ । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले अहिले निकुञ्ज तीन वटा जिल्लाको ठूलो क्षेत्रफलमा फैलिएको त्यसको उचित व्यवस्थापन–संरक्षण हुन नसकेकाले नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकसम्मको भागलाई अलग्गै निकुञ्ज बनाउन लागेको बताए । थोरै जनशक्ति र बजेटका कारण सोचेअनुसार निकुञ्ज व्यवस्थापन गर्न नसकेका उनको भनाई छ ।

अहिले पनि नुवाकोट र सिन्धुपाल्चोकको क्षेत्रमा समेत पर्यटकीय सम्भावना बोकेका गन्तव्य प्रशस्त भए पनि रसुवा क्षेत्रमा फैलिएको लाङटाङ क्षेत्रमा मात्र पर्यटकीय हिसाबले बढी ध्यान गएको छ । प्रमुख संरक्षण अधिकृत रानाका अनुसार १७ सय १० वर्गकिमिमा रहेको लामटाङ राष्ट्रिय निकुञ्जको आधाभन्दा बढी भाग नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ । आधा भागलाई नयाँ निकुञ्ज बनाइयो भने संरक्षणसँगै पर्यटकीय गतिविधि समेत बढ्ने उनले बताए । नुवाकोट र सिन्धुपाल्चोकको भागसमेत जैविक विविधता र सांस्कृतिक विविधताका हिसाबले धनी छ । सरकारको तथ्यांकअनुसार नेपाल आउने ६० प्रतिशत पर्यटकले निकुञ्जसहितका संरक्षित क्षेत्रहरूको भ्रमण गर्ने गरेका छन् ।

२८ कार्तिक २०७७, शुक्रबार ११:०६



तपाईको प्रतिक्रिया