नेकपा नेता र कार्यकर्ता भित्रको ‘यौनकाण्ड’

तत्कालीन जनयुद्धको क्रममा रहेको नेकपा माओवादी होस वा नेकपा एमाले वा हालको नेकपा ज्यादातर नेता कार्यकर्ताको यौन कुण्ठा र काण्ड एकपछी अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । भनिन्छ, युद्धले पराजित गर्न नसकेको व्यक्तिलाई स्त्री मोहले क्षणभरमा पगाल्न सक्छ । युद्धकालमा एकीकृत नेकपा माओवादीका नेता–कार्यकर्ताहरूले यस ‘कोटेशन’लाई पटक–पटक उच्चाहरण गर्दथे । भोगवादी सोंच र चेतबाट जोगिनु पर्दछ भन्ने मान्यतामा उनीहरूले यस्ता अभिव्यक्तिहरू दिने गरेका थिए । तर, जे प्रशिक्षण दिएर नेता–कार्यकर्ताहरूलाई अनैतिक मामिलाबाट टाढै राख्न खोजे पनि रोकिएन ।

नेकपा नेताहरूले यौन इच्छा शक्तिलाई जति दबाउनु पर्छ भनेर दवाव दिन्थे, त्यति–त्यति नै पार्टीका शीर्ष नेता–कार्यकर्ताहरू यौनकाण्डमा मुछिएर कारवाहीमा परिरहेका घटनाहरू धेरै छन् । कतिपय अवस्थामा सहकर्मीहरूको राजनीतिक भविष्यलाई सिध्याउन पनि यौन काण्डलाई मुद्दा बनाउने वा उचाल्ने कोसिस गरियो नेकपा भित्र लुतो भन्दा चर्को रुपमा देखिएको यौन रोग यद्यपी अझै फैलिइरहेको छ ।

जनवादी बिवाहको ढोल पिट्ने श्रीमतीलाई तेस्रो लिङ्गी भन्दै अरुसंग सल्किएर सम्बन्ध बिच्छेद गर्ने टेकेन्द्र भट्ट हुन् वा रोशनी काण्डले सभामुख पद चट भएका कृष्णबहादुर महरा हुन् । ४ लाख रकम दिएको तर फिर्ता माग्दा महिमा खत्री माथी नै यौन प्रस्ताव राख्ने सल्यानबाट प्रतिनिधि सभामा बिजयी पुर्व सामान्य प्रसाशन मन्त्री टेकबहादुर बस्नेत हुन् वा बालिका खड्का माथिको चर्चित यौन काण्डका धनी प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई हुन् । रश्मिला माथी यौन हिंसा गर्ने वाग्मती प्रदेशका मन्त्री, कामपाका पुर्व मेयर केशब स्थापित वा सुदुरपश्चिमका सामाजिक बिकास मन्त्री महिलासंगको अडियो टेप काण्डबाट राजीनामा दिन बाध्य भएका दिर्घ सोडारी हुन् ।

सार्वजनिक बसमा यौन दुब्र्यवहार गर्ने पुर्व सांसद ‘योगेन्द्र घिसिङ’ हुन् वा आफ्नो नाङ्गो तस्बिर फेसबुक म्यासेन्जरबाट केटीलाई पठाउने डोटी जोरायल गापाका अध्यक्ष ‘दुर्गादत्त जोशी’ हुन् । त्यसो त अनेरास्ववियु दार्चुलाका नेता सुदुरपश्चिम प्रदेशका उपप्रमुखका स्वकिय सचिव हरिश भट्टले अंगरक्षक महिला प्रहरीलाई म्यासेन्जर मार्फत यौन प्रस्ताव राख्दा जागिर गुमेको थियो ।

बाहिर आएका र गुपचुप राखिएका यी र यस्ता कयौं घटनाक्रमले नेकपा नेता भित्रको यौन कुण्ठा बाहिरिन्छ यौन कुण्ठा (इच्छा) अफैमा एक प्राकृतिक गुण भए पनि दबाउन नसक्दा सिङ्गो पार्टी बदनाम हुनेगरेको छ ।
– म्यागङ गापा–५ सामरी, नुवाकोट

२९ मंसिर २०७७, सोमबार १०:४५



तपाईको प्रतिक्रिया