दसैं आशीर्वादको परम्परा

युद्र्रोणसुतेश्रीयो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानन्च दुर्योधने।। सौर्यं शान्तनवे बलन्हलधरे सत्यन्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। – पुरुषलाई टीका आशीर्वाद दिँदाको वैदिक मन्त्र हो यो ।

यसको अर्थ हुन्छ– लामो आयु होस् द्रोणपुत्रको जस्तो। दशरथको जस्तो श्रेय रहोस्। राघवरामको जस्तो शत्रुविजयको क्षमता रहोस्। नहुषको झैं ऐश्वर्य रहोस्। पवनको झैं वेग होस्। दुर्योधनको जस्तो मान होस्। शन्तनु, बलरामको जस्तो बल अनि कुन्तीपुत्रको झैं सत्य रहोस्। ज्ञान विज्ञानमा विदुर झैं र संसारमा कीर्ति भने सर्वेश्वर नारायणको जस्तो रहोस् भनी टीका प्रसाद अर्पण गरिन्छ।

जयन्ती मंगला काली भद्रकाली कपालिनी। दुर्गा क्षमा स्वाहा धात्री स्वाहा स्वधा नमोस्तुते। स्वस्त्यस्तुते कुशलमस्तु चिरायुरस्तु गोभाजिहस्तिसहितांधनधान्यमस्तु। ऐश्वर्यमस्तु विजयोस्तु रिपुक्षयोस्तु सन्तानवृद्धिसहितांहरिभक्तिरस्तु।। – नारीहरूलाई दिइने मन्त्र यस प्रकार छ।

यसको अर्थ हुन्छ– स्त्रीहरूमा जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, स्वाहा, धात्री जस्तो शक्ति रहोस्, नमन गर्छु भन्दै घर परिवारमा सबैथरीको वृद्धि रहोस्। सन्तान पनि बढून् भनी आशीर्वाद दिइन्छ। देवी उपासना गरी मान्यजनले त्यो आशीर्वाद दिने क्षमता राख्छन्। देवी उपासना विधानपूर्वक भएन भने यस्तो बलशाली आशीर्वाद दिने क्षमता आफूलाई प्राप्त हुन्न। यस अर्थमा उपासकले पूजा, निष्ठा, प्रक्रियामा विचार पु-याउनु जरुरी हुन्छ।

हो, बडादसैं २०८० ले नेपालीको घरआँगन ढपक्कै ढाकिसकेको छ। असोज २८ घटस्थापनाका दिनदेखि आरम्भ हुने विशेष पर्व दसैं कोजाग्रत पूर्णिमा महालक्ष्मीको आराधना गरी सम्पन्न हुन्छ। १५ दिन लामो पर्व दसैंमा शुभकामना आदानप्रदान गर्दै मान्यजनका हातबाट टीकाप्रसाद र जमरा ग्रहण गर्ने चलन छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश अति जटिल भइरहेको छ। सात्विक पूजामा संलग्न व्यक्तिहरूले दसैंमा पशुबलि नदिई कुभिण्डाको अथवा बेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा छ। मांसाहार नगर्नेहरूले मूला, घिरौंंला, कुभिण्डो, नरिवल, बेल आदि अर्पण गरेर बलिको पूर्णता गर्छ ।

महाअष्टमीका दिन दसैंंकोठामा शुद्ध आसन, पूजासामग्री तयार गरी पायस, फलफूल, वस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मंगला, काली आदि देवीका विशेषनाम उच्चारण गर्दै देवीको वन्दना गर्नुपर्छ। अष्टमातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा गरिन्छ। अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि छ। कालरात्रि गरी पूजा गर्दैै भोलिपल्ट महानवमीका दिन बिहान दसैंघरमा सयौं राँगाको बलि दिने राष्ट्रिय चलन छ। राँगालाई महिषासुरको रूप मानिन्छ। भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको हो। चैत्रशुक्ल अष्टमीमा उत्पत्ति भएकी भवानी आश्विन शुक्लअष्टमीमा भगवतीको रूपमा उदय भएकी हुन्।

सप्तशतीचण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, महेश्वरी रूपको चर्चा भएको छ। संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ। प्रकृति र पुरुषरूपी यो संसारको संहार पनि उनैबाट हुन्छ। देवताहरूसामु प्रार्थनाबाट खुसी भएकी देवीले आफू ब्रह्मस्वरूपिणी भएकीले सर्वत्र एकछत्र शक्तिका रूपमा उनलाई हेर्न भनेकी छन्। सप्तशतीमा वर्णित रक्तबीज मानवमा भएको रक्तदोष हो। रक्तचाप, अनेकौं विकार, कुण्ठा र वैमनस्यता एकपछि अर्को बढ्दै जान्छन्। तर यस कर्मले ज्ञान, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, ईश्र्या, वैमनस्यता हटेर जान्छन्। आसुरीप्रवृत्ति हट्छन्। यी सबैको बलिदान साँचो बलिदान हो। बलिदान भन्नाले त्याग हो, आत्मसमर्पण हो।

क्रोध, आवेग, तनाव, चिन्तारूपी बोको बुद्धिको बलिदान हो। दुर्बुद्धिको बलिदान हो। यसरी आफूलाई शुद्धीकरण गर्दै समाजप्रति समर्पण हुनु भनिएको हो। मानवमा भएका ती दुर्वलतालाई बलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो। घरघरमा वा शक्तिपीठहरूमा बलिदान गर्नुपर्ने हिंसा र क्रोध नै हो। अष्टमी, नवमीको संकेतले जीवनको असी, नब्बे वर्षको संकेत गर्छ। यतिबेला जीवनमा बाँकी रहेका सबै आँसुरी भावको बलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो। यसर्थ आफ्नो हिंसा आदि भावलाई बलिदानको सट्टा पशुपक्षीजस्ताको बलिदान दिनु दया, शान्ति, करुणा, मैत्री चाहने कुनै पनि मानिसका लागि राम्रो होइन।

नवरात्रभर पूजा गरेको दसैंघरमा विजयादशमीका दिन देवी अपराजिताको विशेष पूजा गरी सप्तशतीपाठको अन्तिम अध्याय एवं क्षमाप्रार्थनासमेत गरिन्छ। पूर्णपात्र, ब्राह्मणलाई यथाशक्य दान, हवनादी कार्य सम्पन्न गरी विसर्जन पूजापछि आफ्ना मंगलकारी इष्टदेव, कुलदेव, पितृदेवहरूलाई रातो दही अक्षता, फूल, दूबो, जमरा अर्पण गरिन्छ। अघि भित्त्याइएको फूलपाती विसर्जनपछि गुरु, पुरोहित मान्यजनका हातबाट मूलघडाको जल अभिषेक गर्दै मंगलसूचक टीकाप्रसाद वितरण आरम्भ गरी विजयादशमीको उत्कर्षणतिर पुगिन्छ।

सर्वत्र शुभकामना, हर्ष, श्री, विजय, उत्साह, उमंग एवं कल्याणको कामना गर्दै टीकाप्रसाद वितरण गरिन्छ। कल्याण होस्, चिरायु रहोस् पशुवाहनादी, हात्ती घोडा बढून्, धन्यधान्यले पूर्णभई ऐश्वर्य वैभवशालीको साथै भगवान्मा स्थिर भक्ति लागोस् भन्ने शुभकामना दिई परमेश्वर दाहिना होऊन् भनी प्रार्थना गरिन्छ। विजयादशमीलाई टाढा रहेका आफन्तको भेटघाट र संयोगको रूपमा पनि लिने गरिन्छ। मुलुकको भौगोलिक बनावट, टाढा रहेका आफन्तको समेत ध्यान राखी दसैंको जमरा, टीका र प्रसाद ग्रहण गर्ने समय झन्डै कोजाग्रत पूर्णिका दिनसम्म कायम राखी दसैंलाई १५ दिने लामो समयपछि विसर्जन गर्ने गरिएको पाइन्छ।

आश्विन शुक्लप्रतिपदादेखि १५ दिनसम्म कडो धूमधामसहित बडादसैं पर्व मान्ने चलन मल्लकालदेखि भएको गोपाल राजवंशावलीमा पाइन्छ। मल्ल राजाहरूले खड्ग स्थापना गरी देवी साधना गर्ने गरिएको इतिहास पाइन्छ। चाडहरूमा सबैभन्दा ठूलो रहेको दसैंले सबैमा एकता, सद्भाव, स्नेह र मित्रता कायम राखी पुरानो कल्मषलाई हटाई नयाँ ऊर्जा दिने परम्परागत मान्यता नै हो। जे होस् दसैंको रौनक कोजाग्रत पूर्णिमासम्म रहन्छ। कोजाग्रत पूर्णिमाका दिन स्थापित जमरा सेलाई साँझ महालक्ष्मीको पूजा सम्पन्न गरेपछि दसैं पर्व समापन हुन्छ। घरघरमा को को जागा छन् र तिनलाई धनको वर्षा गराउन योग्य छ भनी स्वयं देवी महालक्ष्मी हरेकका घरघरमा आई हेर्ने गर्छिन् भन्ने जनविश्वास छ। त्यसैले सो दिनदेखि कोजाग्रत पूर्णिमा अर्थात् ‘को जागै छ ?’ भन्ने नामकरण हुँदै हालसम्म सो दिन विशेष धनधान्यकी प्रतीक महालक्ष्मीको पूजाआजा गर्ने चलन छ।

१ कार्तिक २०८०, बुधबार ०९:३२



तपाईको प्रतिक्रिया