५० लाख क्षति

क्षतीग्रस्त पाइपको अवस्था नियाल्दै संस्थाका अध्यक्ष लगायतका पदाधिकारी र कर्मचारीहरू ।

बेत्रावती । दक्षिण एसियाकै नमुना खानेपानी आयोजना विदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फँलाखु खोला मुहानको मुख्य पाइप बाढीले बगाउँदा चार हजारबढी घरमा पानीको समस्या भएको छ ।

गत साता लगातार दुई दिनको वर्षाले फँलाखु खोलाबाट ल्याईएको जडान गरिएका १३० मिटरको पाइप बगाएपछि संस्थाले वितरण गर्दै आईरहेको सदरमुकाम विदुर, बट्टार, पिपलटारलगायतका क्षेत्रमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाई खानेपानी संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले जानकारी दिए । बिहीबार संस्थाले प्राविधिकसहितको टोली लिएर मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाईप बाढी बगाएको स्थलगत अवलोकन र निरिक्षण गराएको छ । निरीक्षणपछि टोलीले ३५५ एमएमको पोलिथिन खानेपानी पाईप राख्न गर्न सुझाव दिएको छ ।

पाईप, ढलान र ग्याबिन जाली बगाउँदा ५० लाखभन्दामाथि क्षति भएको स्थलगत प्रारम्भिक अनुमानले देखाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अस्थाई मर्मतको लागि १० दिन भन्दा बढी लाग्नेछ । मर्मतका लागि जिल्ला विपद व्यवस्थापन समिति र विदुर नगर पालिकालाई अनुरोध गरेको छ ।

निरिक्षणको क्रममा फँलाखु खोला मुहान सम्झौता अनुसारको संरचना निर्माण नभएको पाईएकोले तत्काल मुहान संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुन्दी जेभीलाई ताकेता गरेको छ ।

साथै, विदुर नगरपालिकाको वडा नम्बर १ ढुंगेदेखि वडा नम्बर ९ कोलेनीसम्मको मुख्य पाईपलाइन प्रयोगमा भएको सामाग्री गुणस्तरहीन पाईएकोले उक्त सामाग्री सम्झौता अनुसार गुणस्तरको सम्गारी प्रयोग गरी मर्मत कार्य सम्पन्न गराउन निर्माण पक्षलाई अनुरोध गरेको छ ।

खानेपानी आपूर्तिको लागि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र विदुरको डिपबोरिङको खानेपानी बुधबारदेखि नै खानेपानी वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताए ।

खानेपानी अभाव भएपछि वितरण गरिएको खानेपानी जोहो गरी उपभोग गर्न प्रबन्धक तिमिल्सिनाले अनुरोध गरेको छ ।

३ भाद्र २०८०, आईतवार १८:१२



तपाईको प्रतिक्रिया