विदुर खानेपानीमा एमाले मात्रै बिजयी

बाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित उपाध्यक्ष पनि एमालेकै

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा एमालेका उम्मेदवार मात्रै निर्वाचित भएका छन् । एकातर्फ काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र अर्कोतर्फ एमाले–राप्रपाको गठबन्धनबाट उम्मेदवारहरु चुनावी मैदानमा थिए । सञ्जिबबहादुर श्रेष्ठ प्यानलको उपाध्यक्ष बाहेकका सबै निर्वाचित भएको परिणाम आज विहान सार्वजनिक भएको हो । उपाध्यक्षमा छत्रराज डंगोल प्यानलबाट उम्मेदवार बनेर निर्वाचित भएका नवराज न्यौपाने पनि एमालेकै हुन् ।

सञ्जिब प्यानलमा उपाध्यक्षको टिकट नपाएपछि न्यौपाने काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनबाट उपाध्यक्षमा उठेका थिए । उनलाई भदौ २० गते एमाले विदुर नगरकमिटिले साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि सिफारिस गरिसकेको छ । एमालेले आफ्नो आधिकारिक उम्मेदवार समेत रहेको भन्दै विज्ञप्ती नै जारी गरेका राप्रपाका महेशकुमार डंगोल ३८ मतले हारेका छन् । उनलाई एमाले छाडेर काँग्रेस–माओवादी–एस गठबन्धनबाट उम्मेदवार बनेका उनै न्यौपानेले हराइदिए । न्यौपानेले आफ्नो बलमा यो चुनाव जितेको बताइएको छ । डंगोल प्यानलका सबै बढारिदा झिनै मतले उनी निर्वाचित हुनुमा उनकै व्यक्तिगत कारण र प्रभाव प्रधान रहेको तर्क गर्नेहरु छन् । २० वर्ष भन्दा बढी समय सोही संस्थाका कार्यालय सचिवका रुपमा काम गरेर केही महिना अघि मात्रै जागिर छाडेका उनलाई भर्खरै छाडेको पार्टी एमाले निकटका मतदाताहरुले पनि विना हिचकिचाहट मत दिएका छन् ।

एमाले–राप्रपा गठबन्धनमा उपाध्यक्ष मात्रै राप्रपालाई दिएर एमालेले अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु गरी आठ सिट लिएको थियो । अर्को गठबन्धनमा भने काँग्रेसले अध्यक्ष, उपाध्यक्ष, महिला सदस्य १ र खुल्ला सदस्य २ गरी ५ सिट, माओवादी उपाध्यक्ष र खुल्ला सदस्य १ गरी २ सिट र समाजवादी सचिव र महिला सदस्य १ गरी २ सिट लिएर प्रतिस्पर्धा गरेका थिए ।

बाहिरबाट हेर्दा निक्कै बलियो देखिएको काँग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवारहरु मत गणनाको सुरुवात देखिनै सञ्जिब प्यानलका सबै उम्मेदवारहरुलाई पछ्याइमात्रै रहेका थिए । पहिलो सय मत गन्दा देखिनै एमाले छाडेर गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार बनेका न्यौपाने बाहेक काँग्रेस, माओवादी र एकीकृत समाजवादीका अन्य सबै उम्मेदवारहरु एमालेका उम्मेदवारसंग धेरै मतान्तरमा पछाडी परिरहेका थिए ।

यसरी बलियो भनिएको सत्तापक्षयिय गठबन्धनको हारको कारण उम्मेदवार चयनदेखि तीन महिना अघि सम्पन्न स्थानीय चुनावको परिणामलाई हेर्न थालिएको छ । पहिलो, विदुर नगरपालिकामा खानेपानीको सेवा दिइरहेको वडाहरु जो संस्थाका मतदाताका रुपमा छन्, त्यसमा स्थानीय निर्वाचनमा एमालेका वडा अध्यक्षहरु निर्वाचित भएका छन् । खानेपानी संस्थाको सेवा रहेको सात वटा वडामा २ वडा बाहेक सबै वडा अध्यक्षमा एमाले निर्वाचित भएका छन् । दुई वटा वडामा काँग्रेस–माओवादी गठबन्धनबाट माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् । त्यसले पनि एमालेको मतभार अधिक रहेको देखाएको छ ।

अर्को तर्फ काँग्रेसकै कार्यकर्ताहरुले उम्मेदवार चयनमा असन्तुष्टि राखेका र पार्टीको आन्तरिक चुनावदेखि स्थानीय तह चुनावसम्मको तिक्ततालाई खानेपानीको निर्वाचनमा ‘हिसाव मिलान’ गरेको बुझिएको छ । एमालेले खडा गरेको अध्यक्ष पदका उम्मेदवारका तुलनामा काँग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार बनेका व्यक्ति कमजोर देखिएको, उपाध्यक्षमा बिहान मात्रै एमाले छाडेर आएकालाई टिकट दिएको, सचिव पद एकीकृत समाजवादी, कोषाध्यक्ष पद माओवादीको भाग परेकै कारण काँग्रेसका केही कार्यकर्ताहरु यसप्रति सन्तुष्ट थिएनन् ।

विदुर नगरपालिकाको मिनी निर्वाचनको रुपमा समेत हेर्ने गरिएको खानेपानी संस्थाको यो निर्वाचनलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको कार्यशैलीले समेत प्रभाव पारेको एक जनाले बताएका छन् । मेयरमा निर्वाचित भएपछि उनले गर्ने गरेको ब्यवहार, कमजोर कार्यशैली र ‘सिण्डिकेट’का कारण पनि काँग्रेसका र स्थानीय तह चुनावी गठबन्धनका सहयात्री पार्टी माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताहरु पार्टीले उभ्याएकै भरमा भोट हाल्नै पर्ने मनस्थितिमा थिएनन् ।

अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेर संस्थामा काम गरिसकेको र व्यक्तिगत सम्वन्ध बढी विकास गरेका कारण सञ्जिबबहादुर श्रेष्ठलाई अन्तरपार्टीका तर्फबाट पनि मतदाताहरुले रुचाएको पाइएको छ ।

अन्तिम मत परिणाम अनुसार सबै भन्दा बढी मतान्तर (३९०) सचिव पदमा देखिएको छ भने कम मतान्तर (३८) उपाध्यक्ष पदमा छ ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा सञ्जिबबहादुर श्रेष्ठले १२७१, छत्रराज डंगोल (काँग्रेस)ले ९४७ मत पाएका छन् । अध्यक्ष पदमा दुई जना बीच ३२४ को मतान्तर छ ।

उपाध्यक्षमा डंगोल प्यानलका नवराज न्यौपाने (भर्खरै एमाले त्यागेका)ले ९८३, श्रेष्ठ प्यानलका महेशकुमार डंगोल (राप्रपा)ले ९४५, र मुरारी नेपाल (स्वतन्त्र)ले २२७ मत पाएका छन् । उपाध्यक्ष पदमा पहिलो र दोश्रो बीच ३८ को मतान्तर रहेको छ ।

सचिवमा श्रेष्ठ प्यानलका राजेन्द्र पाण्डे (एमाले)ले १२६४ र डंगोल प्यानलका नरेशबहादुर डंगोल (एस)ले ८७४ मत पाएका छन् । सचिव पदमा ३९० को मतान्तर रहेको छ ।

कोषाध्यक्षमा श्रेष्ठ प्यानलका अम्बिका चित्रकार खनाल (एमाले)ले ११८८ र डंगोल प्यानलका रविता भट्ट (माओवादी)ले ९२४ मत पाएका छन् । कोषाध्यक्ष पदमा २६४ को मतान्तर रहेको छ ।

महिला सदस्यमा दुवै जना श्रेष्ठ प्यानलबाट निर्वाचित भएका छन् । बिष्णुमाया डंगोलले ११६७ र सीता अधिकारीले १०९९ मत पाएका छन् । डंगोल प्यानलका शान्ती श्रेष्ठ (एस)ले ९१० र शुसिला पौडेल (काँग्रेस)ले ८९४ मत पाएका छन् । यस पदमा पहिलो र तेश्रो बीच २५७, दोश्रो र तेश्रो बीच १८९ मतान्तर रहेको छ ।

सदस्यहरुमा तीनै जना श्रेष्ठ प्यानलबाट निर्वाचित भएका छन् । निर्वाचित भएकाहरु कृष्णप्रसाद भट्टले ११३९, दीपकबहादुर तिम्सिनाले ११०३ र लबप्रसाद न्यौपानेले १०३३ मत पाएका छन् । डंगोल प्यानलका रामजी भट्ट (काँग्रेस)ले ९३३, राजेन्द्र सापकोटा (काँग्रस)ले ८६१ र पदमकान्त न्यौपाने (माओवादी)ले ८११ मत पाएका छन् । बिमल खड्का (स्वतन्त्र) ले १८२ मत पाएका छन् । यस पदमा पहिलो र चौथो बीच २०६, तेश्रो र चौथो बीच १०० मतान्तर रहेको छ ।

भदौ २२ गते सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणाम आज (२४ गते) बिहान सार्वजनिक भएको हो । ३ हजार १४१ मतदाता रहेको खानेपानी संस्थाको चुनावमा २ हजार ३२५ (७४ प्रतिशत) मत खसेको थियो । यस संस्थाले विदुर नगरपालिकाको सात वटा वडाहरु (वडा नं. १, २, ४, ५, ६, ८ र ९) मा पानीको सेवा दिँदै आएको छ । २०३८ सालबाट यस संस्थाले विदुर नगरपालिकामा पानी आपुर्तीको सेवा दिन थालेको हो । संस्था २०५२ सालमा मात्रै दर्ता भएको थियो ।

२४ भाद्र २०७९, शुक्रबार ११:२४



तपाईको प्रतिक्रिया