बद्री मैनालीको कम्पनी बिरुद्ध नागरिकहरु पाँच वर्षदेखि आन्दोलित

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ७ शिखरबेंसीमा रहेको दुप्चेश्वर महादेवको मन्दिर संरक्षणका लागि आयोजित वडा भेलाले हाइड्रोपावर निर्माण गर्दा मन्दिरको अस्तित्व मेट्न नदिने निर्णय गरेका छन् । बागमती प्रदेशका त्यसै क्षेत्रका सांसद तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको कम्पनी हिरारत्न हाइड्रोपावरले तादी नदीको मन्दिर क्षेत्रमा पाँच र साढे २ मेगावाटको जलविद्युत् निर्माणका लागि स्थानीयलाई बेवास्ता गर्दै कार्य अगाडि बढाएपछि सरोकारवाला विगत पाँच वर्षदेखि आन्दोलित छन् ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं. ७ ले आयोजना गरेको भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् नागरिक अगुवाले मन्दिर संरक्षण तथा व्यवस्थापनको विषयमा डटेर तर्क राखेका थिए । वडाध्यक्ष भेषबहादुर सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांस्कृतिक अभियन्ता प्रेम कैदीको प्रमुख आतिथ्यता रहेको थियो । खास गरेर दुप्चेश्वर मन्दिर परिसरमा बन्न लागेको हिरारत्न हाइड्रोपावरले दुप्चेश्वर मन्दिरलाई असर गर्ने भन्दै त्यसको विरोधस्वरूप एकमत बनाउन वडास्तरीय भेला आयोजना गरिएको थियो । भेलामा सहभागीले मन्दिर परिसरमा कम्तीमा एक किलोमिटर खोला निर्वाध बग्न दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सांस्कृतिक अभियन्ता प्रेम कैदीले सूर्यकुण्ड, सूर्यमति नदी, दुप्चेश्वर पवित्र तीर्थस्थलको संगम रहेको यो तपोभूमिको संरक्षण सबैको दायित्व रहेको बताए । दुप्चेश्वर मन्दिर पशुपतिनाथभन्दा पनि अघिको पहिला पशुपतिनाथ रहेको बताउँदै मन्दिर संरक्षण तथा व्यवस्थापनमा स्थानीय अग्रसर हनुपर्ने उनको भनाइ छ । त्यस्तै, कार्यक्रममा दुप्चेश्वर संरक्षण समितिका अध्यक्ष कुमार पण्डितले स्थानीयलाई मात्र नभई यस क्षेत्रमा कुनै धार्मिकस्थल नभएको भन्दै हाइड्रो कम्पनीले सरकारलाई समेत झुक्याएको बताए । उनले यस विषयमा दायर भएको रिटमाथि सुनुवाइ हुन बाँकी भएका कारण सर्वोच्चको फैसलाले के भन्छ पर्खन आगह गरे । साथै, दुप्चेश्वरको संरक्षणको सवालमा सबैको एकमत हनुपर्नेमा उनको जोड थियो । दुप्चेश्वरलाई आजको अवस्थामा ल्याउन पितापुर्खाको ठूलो देन रहेको र अहिलेका पुस्तालाई त्यसको संरक्षणको दायित्व रहेको हुँदा मन्दिर संरक्षणका सवालमा सबैको एउटै धारणा हुनुपर्ने सहभागीले बताएका छन् ।

हाइड्रोपावर निर्माणको नाममा यसै प्रदेशबाट निर्वाचित सांसद बद्री मैनालीले सांस्कृतिक सम्पदा र मन्दिरको स्वामित्व नै धराशायी बनाउने खेलमा लागेकाले विरोधमा उत्रिनपरेको दुप्चेश्वर संरक्षण समितिका अध्यक्ष पण्डितको भनाई छ । उक्त हाइड्रोपावरविरुद्ध स्थानीयले सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

१९ फाल्गुन २०७८, बिहीबार १६:२४



तपाईको प्रतिक्रिया