चाडपर्वको रौनकै खल्लो

काठमाडौं । नुवाकोटको तादी गाउँपालिकाका सूर्यनारायण ओझाले रोटेपिङ नदेखेको १० वर्ष भइसकेको छ । पहिले–पहिले दशैं–तिहार आउने वित्तिकै गाउँमा मान्छे भेला भएर बाबियोको डोरी बनाएर पिङ हाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएकोले उनी खुसी छैनन् ।

‘बजारमा पढ्न र काम गर्न गएकाहरू सबै चाडपर्वमा घर आउँथे, गाउँभरि रमाइलो हुन्थ्यो । त्यो पनि छुट्टै रमाइलो थियो’, ओझा भन्छन् । ‘अहिले पिङ भनेको त्यही चोकतिर एउटा रूखमा नाइलनको डोरीको छ । धेरै त गाउँ नै आउन छोडिसके । आउनेहरू पनि घरमै मोबाइल चलाएर बस्छन् । खै अहिले त्यस्तो उल्लास केही छैन’, ओझाले भने ।

ओझा जस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–९ का बद्री कँडेल पहिले जस्तो एकरत्ति पनि रमाइलो नहुने बताउँछन् । ‘दशैं आउने भएपछि घाँस–दाउरा जम्मा गर्ने, बाबियो सुकाएर डोरी बाटेर पिङ हाल्ने, गाउँभरि मान्छे आउँथे । घर–घरमा रमाइलो हुन्थ्यो । अहिले त केही छैन । शहर जानेले गाउँ बिर्से’, कँडेलले भने ।

अहिले प्रविधिको विकासले मानिसको दैनिकी सहज भए पनि सामाजिक विकासमा असर गरेको कँडेलको बुझाइ छ ।

‘अहिले हामी यहींबाट संसारभरिको कुरा थाहा पाउँछौं तर वल्लो गाउँ, पल्लो गाउँको कुरा थाहा पाउन छोडिसकेको छ । दशैं आउँदा तल्लो गाउँमा घर आएकाहरू माथिल्लो गाउँ डुल्न आउँथे, यताको उता जान्थे, हालखबर बुझ्थे, आत्मीयता बढ्थ्यो । अहिले घर आउने पनि मोबाइलमा घोप्टिएर बस्छन् अनि कहाँ रमाइलो हुन्छ र !’ उनी भन्छन् ।

कैलालीको गोदावरी नगरपालिकाका सरोजकुमार धामी दुई वर्षपछि यो पटक दशैंमा घर जाँदैछन् । अघिल्लो वर्ष घरमा जुठो परेर नगएका उनी गत वर्ष कार्यालयको कामले व्यस्त थिए । तर दुई वर्षपछिको दशैंमा घर जाँदा गाउँघरको याद मेटिने भए पनि साथीभाइ भने खासै नभएको बताउँछन् । ‘धेरै साथीहरू विदेश गएका छन्, म पनि छोटो समय मात्रै राखेर घर जाने सोच्दैछु, गाउँ पुग्दा पहिलेको जस्तो भाइब्स नै आउँदैन’, धामीले खिन्नता प्रकट गरे । बा–आमा, मामाघर र आफन्तको घर जाने योजना बनाएका उनी गाउँमा घुम्ने धेरै ठाउँ भए पनि साथीहरू नहुँदा पहिलेको जस्तो रमाइलो हुन छोडेको बताउँछन् ।

पाँचथरको कुम्मायक गाउँपालिकाका सागर कार्की पनि गाउँमा हरियाली भए पनि पहिलेको जस्तो चोक चौतारीमा बसेर गफ गर्ने मान्छे हुन छोडेको बताउँछन् ।

‘गाउँ गाउँ जस्तो रहेन, हामी पढेर आउँदा पूरै तलदेखि नै हल्ला हुन्थ्यो, सुसेला हाल्दै आउँथ्यौं, पारि गाउँ पनि त्यस्तै हुन्थ्यो तर अहिले त्यस्तो अलि छैन । गाउँको माया त लागिहाल्छ नि !’

गाउँमा रोटेपिङ, लिङ्गेपिङको कुरा गर्दा उनी भन्छन्— ‘रोटेपिङ हराएको त धेरै नै भयो तर अहिले लिङ्गेपिङ पनि हराउँदै गएको छ ।’

स्थानीय तहले दिंदैन चासो

दशैं मात्रै होइन, अन्य संस्कृति, कला, जगेर्नामा पनि स्थानीय तहहरूले खासै चासो दिएका छैनन् । भौतिक पूर्वाधार निर्माणमा धेरै बजेट खर्च गर्ने स्थानीय तहले संस्कृति जगेर्नामा पनि मठ–मन्दिर, गुम्बा, विहार निर्माणमा रकम खर्चिंदा अमूर्त सम्पदा जोगाउन भने चासो दिएको पाइँदैन । पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष समर अधिकारीले परापूर्वकालदेखि चलिआएको धार्मिक प्रचलनहरूको निरन्तरता तथा मेला व्यवस्थापनको भनेर ५ लाख  ५० हजार बजेट छुट्याए पनि भौतिक पूर्वाधारमा धेरै खर्च हुने स्वीकार गर्छन् । ‘हामीले अमूर्त सम्पदाहरू जोगाउनु त पर्ने हो तर स्थानीयको माग पनि भौतिक संरचना, पार्क निर्माण लगायतमा नै हुन्छ’, उनी भन्छन् ।

मधेश प्रदेशको पर्सा, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ पनि संस्कृति जगेर्नाको लागि खासै रकम बजेटमा नछुट्याएको बताउँछन् । ‘धेरै रकम पर्यटनको पूर्वाधारतर्फ छ, मठ–मन्दिरहरूको लागि अहिले बजेट त छ तर संस्कृतिकै लागि भनेर छुट्टै केही छैन’, श्रेष्ठले भने ।

मकवानपुरको हेटौंडामा पहिले पहिले पञ्जेबाजा प्रतियोगिता हुने गर्दथ्यो । तर अहिले त्यस्तो प्रतियोगिता हुन छाडेको छ । ‘पहिले मेला–महोत्सव, जात्राहरूमा पञ्चेबाजा बजाउने प्रतियोगिता नै हुने गर्दथ्यो । विद्यालयहरू मार्फत लोक संस्कृति जोगाउने कार्यक्रम हुन्थ्यो तर आधुनिकतासँगै त्यो हराउँदै गएको छ’, पञ्जेबाजामा भाग लिने गरेका बलराम दर्जी भन्छन् ।

यद्यपि मकवानपुरका स्थानीय तहहरूले बाजा प्रवद्र्धन गर्नको लागि तालिम सञ्चालन गरिरहेका छन् । हेटौंडा उपमहानगर–१ मा महिलाहरूको लागि पञ्जेबाजा तालिम सञ्चालन गरिरहेको उपमहानगर प्रवक्ता सविन न्यौपानेले बताए । यस्तै भीमफेदी गाउँपालिकाले मकवानपुरको पहिचानको रूपमा रहेको दारको ठेकी जोगाउन प्रवद्र्धन कार्यक्रम गरिरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता अनिल वाग्ले चाडपर्व लक्षित संस्कार, संस्कृति मासिंदै गएकोमा चिन्ता व्यक्त गर्छन् । ‘संस्कृति जगेर्नाको लागि काम गरे पनि स्थानीयहरूले नै अपनत्व गर्न छाडेका छन् । पहिलेको जस्तो संस्कृतिमा रौनक ल्याउन सकिएको छैन ।’

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १ ले भने पिङको संरक्षण गर्न अनुदानमा लट्ठा वितरण गर्ने भएको छ । वडाध्यक्ष मधुसूदन तिमल्सिनाका अनुसार वडाभरिमा आवश्यक पर्ने पिङको लट्ठा वितरण गर्न लागेको हो ।

उपत्यकामा जीवन्त छ अमूर्त सम्पदा

काठमाडौं उपत्यकामा भने मेला, जात्रा र रैथाने संस्कृति जोगाउन स्थानीय नै लागेकोले जीवन्त देखिन्छ । यहाँका गुठीहरूलाई महानगर, नगरहरूले बजेटमै समेटेर विभिन्न कार्यक्रम मार्फत संरक्षणमा जोड दिइरहेका छन् ।

गत आर्थिक वर्षमा काठमाडौंका ४७ वटा बाजा, खल तथा गुठीहरूलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँका दरले अनुदान दिएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा खल तथा गुठीका प्रतिनिधिहरूलाई अनुदान रकमको चेक प्रदान गरेको थियो । नेपाल खड्गी सेवा समितिको सिफारिस भएका परम्परागत बाजा समूह तथा गुठीहरूलाई सहयोग रकम उपलब्ध गराएको महानगरले जनाएको थियो ।

काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा, पचलीभैरव जात्रामा समेत बृहत् कार्यक्रम गर्दै आएको छ । यस्तै डबली पुनरुत्थानको लागि समेत काम गरिरहेको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

काठमाडौं महानगर जस्तै ललितपुर महानगरपालिकाले मच्छिन्द्रनाथको जात्रामा विशेष प्राथमिकता दिएर बजेट मार्फत नै काम गर्ने गरेको छ । गुठी संस्थान मार्फत ललितपुरले संस्कृति जगेर्नाको काम गरिरहेको छ ।

भक्तपुर नगरपालिका पनि संस्कृति जगेर्ना गर्नेमा अग्रपंक्तिमा रहेको छ । भक्तपुरले जात्रा, मेला र स्थानीय संस्कारलाई पर्यटन व्यवसायमा जोडिरहेको छ । कीर्तिपुर नगरपालिकाले रात्रिकालीन पर्यटक आकर्षण गर्दै स्थानीय संस्कृतिको प्रवद्र्धन गरिरहेको छ ।

पुराना कुरामा कम चासो हुनुको कारणबारे चैतन्य मिश्र

समाजशास्त्री चैतन्य मिश्र भने पुराना कुरा जोगाउनु मात्रै संस्कृति नभएको तर्क गर्छन् । ‘हामीले भनिरहेको संस्कृति के हो भन्नेमा प्रश्न छ, संस्कृति भनेको पुराना कुराहरू मात्रै अंगीकार होइन, दैनिक भइरहेको कुरा पनि संस्कृति हो । त्यसकारण अमूर्त सम्पदा भनेर पुराना कुराहरूमा ध्यान दिन सकेन भनेर तनाव लिइरहनुपर्ने केही देखिंदैन’, मिश्र भन्छन् ।

उनले युवाहरूमा सामाजिक चेतनाको विकास पहिलेको भन्दा अहिले बढेको बताउँछन् । ‘पहिलेको भन्दा अहिले युवाहरू भौतिक रूपमा सामाजिक नदेखिएका होलान् तर समाजको दायरा बढेको छ नि’ मिश्र भन्छन्, ‘पहिले समाज भनेको निश्चित भूगोल मात्रै हुन्थ्यो अहिले समाज नै बृहत् छ, यहाँबाट विश्वभरिको समाजमा युवाहरू घुलमिल भइरहेका हुन्छन् । यसलाई ‘इन्ट्रोभर्ट’ भन्न मिल्दैन ।’

केही समय अगाडिसम्म युवाहरूको भुल्ने, खेल्ने विषयहरू थोरै भए पनि अहिले रुचि अनुसार आफूलाई ढाल्न थालेको मिश्र बताउँछन् ।

उनले ठूला चाडपर्व र अमूर्त सम्पदाहरूबाट युवालाई शहरले टाढा बनाउँदै लगेको बताउँछन् । देश र विदेशका शहरले युवाहरूलाई तानिरहेको भन्दै मिश्रले भने, ‘पहिले सीमित चाडपर्व हुन्थे, संस्कृति हुन्थ्यो, अहिले त्यो बढेको छ । अंग्रेजी नयाँ वर्ष, बर्थ डे, क्रिसमस, अरू के के आइसक्यो । यसरी संस्कृतिहरू बाँडिरहँदा पुराना संस्कृतिमा आकर्षण भएकै हो ।’ स्थानीय तहहरू पनि समाजको मनोविज्ञान अनुसार अगाडि बढ्नुपर्ने मिश्रको सुझाव छ ।

४ कार्तिक २०८०, शनिबार १९:०७



तपाईको प्रतिक्रिया