रुडेकले खर्चियो तीन करोड रुपैयाँ

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ । दुप्चेश्वर गाउँपालिकाको कँडेनी गाउँमा आलु उत्पादन गरेर संस्थाले गरेको बजारिकरण यसपालि लोकप्रिय बनेको थियो ।

४४ औं सामाजिक सेवा दिवसको अवसरमा संस्थाले आयोजना गरेको आफ्नो १५ औं बार्षिक साधारण सभामा बितेको आर्थिक वर्षमा भए गरेका कामको विवरण प्रस्तुत भएको थियो भने चालु आर्थिक वर्षमा गर्ने कामहरूको समेत जानकारी सो अवसरमा साधारण सभामा प्रस्तुत गरिएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिएका छन् । बितेको आर्थिक वर्षमा संस्थाले ३ करोड ४ लाख रुपैयाँ नुवाकोटमा खर्चेको छ । साथै चालु आर्थिक वर्षमा ४ करोड ८ लाख रुपैयाँ खर्च गर्ने गरी परियोजना सञ्चालन गर्दै आएको संस्थाका कोषाध्यक्ष शोभा पण्डितले जानकारी दिइन् । रुडेक नेपालले हाल नुवाकोटको पञ्चकन्या, दुप्चेश्वर, तादी र शिवपुरी गरी चार वटा स्थानीय तहमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अघि सञ्चालन भएका परियोजनाहरू सहित रुडेक नेपालले जिल्लाको १२ वटै स्थानीय तहमा कार्यक्रम गरेको र जसबाट २५ हजार घर परिवार लाभान्वित भएका संस्थाको सचिव राजन आचार्यले जानकारी दिएका छन् ।

संस्थाको बार्षिक साधारण सभा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, शिबपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया, तादी गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणिनाथ लामिछाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नुवाकोट जिल्ला केन्द्रित कार्य क्षेत्र रहेको यो संस्थाले काठमाडौं, लमजुङ, कास्की लगायत नेपालका ६ जिल्लामा आफ्नो गतिविधि सञ्चालन गरेको छ । २०७९/८० मा संस्थाले रूम टु रिड नेपाल एससिएआई अष्ट्रेलिया र जिएनआई नेपालसंग समन्यव गरी ३ वटा विकाससंग सम्बन्धित परियोजनाहरू सञ्चालन गरेको थियो । यो परियोजना पञ्चकन्या गाँउपालिका, विदुर नगरपालिका, सूर्यगढी गाँउपालिका, दुप्चेश्वर गाँउपालिका, शिवपुरी गाँउपालिका, ककनी गाँउपालिका, लिखु गाँउपालिका, बेलकोटगढी नगरपालिका र तादी गाँउपालिकाको २७० वटा विद्यालयमा परियोजना सञ्चालन भएको थियो । जसबाट १३ हजार ५०० विद्यार्थी २ हजार ५७० शिक्षक र ६ हजार ४७६ अभिभावक प्रत्यक्ष लाभान्वित भएको संस्थाले जनाएको छ ।

एससिएआई अष्ट्रेलियाको सहयोगमा सन् २०१८ देखी सञ्चालित विपन्न समुदायको लागि छात्रवृत्ति तथा जिबिकोपार्जन सहयोग कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ । दुप्चेश्वर र पञ्चकन्या गाँउपालिकामा सञ्चालित उक्त कार्यक्रममा ४०० जना अभिभाबकबिहिन, टुहुरा तथा कमजोर आर्थिक क्षमता भएका बालबालिकालाई माध्यामिक शिक्षा १२ कक्षाको शिक्षा सुनिश्चित गराउने उद्देश्यका साथ परियोजनामा समावेश गरिएको थियो । ५ वर्षे परियोजना सहयोगमा ५७ जनाले १२ कक्षा उतिर्ण गरी ८ जना स्नातक तहमा समेत अध्ययनरत छन् । परियोजनाकै सहयोगमा १६ जना प्राबिधिक शिक्षामा पोष्टबहादुर बोगटी प्राबिधिक शिक्षालय लगायतका कलेजहरूमा अध्ययनरत रहेको रुडेक नेपालका अध्यक्ष मनिकुमार केसीले जानकारी दिए । परियाजेनाको सहयोगमा १६० जनाले एससिई उतिर्ण गरेका छन् भने हाल विद्यालय शिक्षामा १९६ जना विद्यार्थी अध्ययनरत छन् । यस बर्ष देखी तादी गाँउपालिकामा समेत कार्यक्रम विस्तार गरी ७३ जना छात्राहरूलाई थप गरी २६९ जनालाई विद्यार्थीको माध्यामिक शिक्षा सुनिश्चिता गराउन कार्यक्रम सञ्चालन गरिने उनले बताए । उक्त कार्यक्रमबाट आगामी ५ वर्षमा पञ्चकन्या, दुप्चेश्वर र तादीमा ११८ जना प्राविधिक जनशक्ति उत्पादन हुने छन् । यसको लागि हाल पोष्टबहादुर बोगटी प्राबिधिक शिक्षालयमा १२ जना, बालाजु इन्जिनियरिङ कलेजमा २ जना विद्यार्थीलाई संस्थाले छात्रवृत्ति सहयोग उपलब्ध गराएको छ ।

दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको ४८ वटा सामुदायिक विद्यालय, १० वटा स्वास्थ्य चौकी र एक हजार ३९८ जना विद्यार्थी तथा एक हजार ३९८ जना अभिभावक प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम समेत संस्थाले अघि सारेको छ । यस आर्थिक वर्षमा एक हजार ३९८ जनालाई पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराएको छ । त्यस्तै २ जनालाई विद्यार्थीलाई आपत्कालिक औषधोउपाचर सेवा, पञ्चकत्या अस्पताललाई उपकरण सहयोग, १ हजार ३९८ जनाको स्वास्थ्य परिक्षण स्वास्थ्य संस्था सहयोगमा शिखरबेशी, राउतबेशी, थप्रेक र पञ्चकन्या स्वास्थ्य चौकीलाई उपकरण सहयोग गरेको संस्थाका सचिव राजन आचार्यले जानकारी दिएका छन् । ७ वटा बाल विकास केन्द्रको स्तरोन्नती तथा शैक्षिक सामग्री सहयोग, १ वटा विद्यालयको आइ सिटी सहयोग, २ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना, दुप्चेश्वर माध्यामिक विद्यालयमा सुविधा सम्पन्न महिनावारीमैत्री शौचालय निर्माण तथा हस्तान्तरण सम्पन्न भएको उनले बताएका छन् ।

जिविकोपार्जन गतिबिधि अन्र्तगत पञ्चकन्या गाउपालिकाको वडा नं. २ मिश्रगाँउमा सुन्तला खेती मार्फत आर्थिक रूपान्तरणका लागि ७५ घर परिवार समेटेर एक हजार ७०० उन्नत जातको सुन्तला रोप्ने कार्य सम्पन्न भएको बताइएको छ । दुप्चेश्वर गाउपालिकाको कँडेनीमा लोपउन्मुख बर्खे आलु प्रर्बद्धनन सहयोग गरी करिब २०० मुरी आलु उत्पादन गरी संस्थाले नै विक्रिका लागि बजारिकरण गरेको छ । पञ्चकन्या गाँउपालिका वडा नं. ४ को माथिल्लो भेगमा तरकारी पकेट क्षेत्र निर्माण गर्न २७ जना किसानसंग सहकार्यको शुरूवात गरिएको छ ।

८ आश्विन २०८०, सोमबार ०५:३३



तपाईको प्रतिक्रिया