यो हप्ताबाट बन्चरेडाँडामा फोहोर ब्यवस्थापन हुने

ककनी । अहिलेकै गतिमा काम भए यही सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ ।

पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस संक्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न कम्पनीलाई निर्देशन दिएका थिए ।

निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय अनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधार सहितको फोहर विसर्जनस्थल निर्माण हुनेछ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । विसर्जन स्थल निर्माण गर्न ३४ करोड ६८ लाख ७४ हजार ८९५ रूपैयाँमा सम्झौता भएको थियो । निर्णयानुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माण सडक विभागले गर्ने छ ।

१३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट निजी र काठमाण्डौ महानगरपालिको गरी २ सय गाडीले फोहर ल्याउने गरेको छ ।

६ पुष २०७७, सोमबार ०९:५९



तपाईको प्रतिक्रिया