झिंगाका कारण विवाह भाडियो !

फाइल तस्बिर

ककनी । राजधानी सहरको फोहोर बिनाकुनै योजना विसर्जन गर्दा बन्चरेडाँडा र आसपासका मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर हनन भएको भन्दै मानवअधिकारवादीले वैकल्पिक व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मानवअधिकारवादीको ‘जवाफदेही निगरानी समूह’ ले स्थलगत अवलोकनका क्रममा फोहोरका कारण स्थानीयको जनजीवन निकै कष्टकर बन्दै गएको देखिएको जनाएको छ ।

नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडालाई काठमाडौं उपत्यकासँगै आसपासका २१ पालिकाको फोहोर विसर्जन गरिन्छ । ल्यान्डफिल व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले गरिरहेको छ । ल्यान्डफिलको योजनाअनुसार विसर्जन नगर्दा फोहोरले बन्चरेडाँडा आसपासका गाउँबस्ती दुर्गन्धित भएका छन् । निगरानी समूहका सदस्य गोपाल शिवाकोटीले जथाभावी फालिएको फोहोरले ७ सय घर परिवारको जीवन अस्तव्यस्त बनाएको बताए । ‘सिसडोल काठमाडौंको फोहोरले पुरै भरिएपछि अलि परको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको रहेछ,’ प्रत्यक्ष अवलोकन गरेर फर्किएका निगरानी समूहका सदस्य उनले भने, ‘त्यस क्षेत्रको दुई किलोमिटर परिधिका बस्तीहरूमा सहनै नसक्ने दुर्गन्ध फैलिएको छ । बाक्लो झिंगाले मानिसहरूको घर, भान्सा र जीउ नै ढाक्दोरहेछ ।’

शिवाकोटीका अनुसार सिसडोल नपुग्दै फोहोरको लिच्चड चुहिएर बस्ती आसपासको बाटो र खोलामा पसेको छ । ‘त्यो फोहोर यति विषाक्त रहेछ कि खुट्टामा पर्दा गाउँलेको क्यान्सरै भएको रहेछ,’ उनले भने, ‘त्यस क्षेत्रमा कि फोहोर फाल्न तत्काल रोक्नुप-यो, कि ती मानिसलाई अन्यत्र सार्नुप-यो ।

ककनी गाउँपालिकामा पर्ने सिसडोल र बन्चरेडाँडा आसपासका बस्तीमा दुर्गन्धले जग्गा किनबेच पनि रोकिएको छ । बस्तीमा बस्नै नसकिने दुर्गन्ध र फोहोर तथा झिंगाको बाक्लो झुन्डले गर्दा त्यहाँको एक युवाको केही अघि तय भइसकेको विवाह अन्तिम समयमा भंग भएको शिवाकोटीले बताए । शिवाकोटी नेतृत्वको समूहले गरेको स्थलगत अवलोकनपछि जवाफदेही निगरानी समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय र संघीय सरकार तथा सरोकारवालालाई ल्यान्डफिल साइट पीडितहरूको संविधान प्रदत्त हक हनन नगर्न आग्रह गरेको छ ।

‘अत्यन्त अव्यवस्थित एवं खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिंगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण सिसडोल र बन्चरेडाँडावासीको जीवनयापन, यातायात तथा हिँडडुल कष्टकर परिस्थिति उत्पन्न भएको छ,’ समूहले विज्ञप्तिमा भनेको छ, ‘यस्तो परिस्थिति फोहोर व्यवस्थापनसँग मात्र सम्बन्धित नभई स्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उल्लंघनसँग गाँसिएको छ ।’

‘फोहोरबाट मार्न पाइँदैन, बरु हामी गोली खाना तयार छौं’

ककनी । नुवाकोट ककनी गाउँपालिकाका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता सुमन तामाङले फोहोरमैला व्यवस्थापनमा सहरी विकास मन्त्रालय र मन्त्रीको तदारुकता नदेखिएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौं उपत्यकाबाट नुवाकोटको बन्चरेडाँडामा जाने फोहरबाट ककनी, धुनीबेंसी र आसपासका पालिकाहरूमा भएको गम्भीर प्रकृतिको प्रभाव र त्यसको अल्पकालीन र दिर्घकालीन समस्या समाधानका विषयमा सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तामाङ पूर्ववत् निर्णय कार्यान्वयन नगरिएको भन्दै आलोचना र आक्रोश व्यक्त गरे ।

‘बैठकबाट अर्को बैठक मात्रै हुने, वाक्कदिक्क भइसक्यौं । प्रधानमन्त्रीज्यूको नेतृत्वमा बसेको बैठकको तीन दिनभित्र कार्यान्वयन गरिसक्नु पर्ने निर्णय पनि अहिलेसम्म कार्यान्वयन भा’छैन । प्रधानमन्त्रीज्यूले नै भन्नुभएपछि त्यो कुरा हल हुनु पर्ला नि १ त्यो नभएको किन ? हाम्रै सुस्तता र कमजोही हो कि ? त्यो स्पष्ट पारिदिनस्’, अध्यक्ष तामाङले भने– ‘त्यसको जवाफदेही स्थानीय तह हुनुपर्छ भने पनि तपाईंहरूले झुन्डिन पर्छ भन्नुभयो भने हामी तयार छौं । गोली खाना पर्छ भन्यो भने पनि तयार छौं । भनिएका कुराहरू गरिनु पर्यो ।’

अध्यक्ष तामाङले फोहोरमैला प्रभावित क्षेत्र ककनी र धुनीबेंसीका जनताले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक समेत गुमाउनुपरेको उल्लेख गरे । उनले बैठक गर्न, निर्णय गर्ने हो भने बैठकको औचित्य नरहने भन्नुहुँदै ककनी र धुनीबेंसीका मान्छेलाई मार्न नपाइने स्मरण गराए । ‘हामी स्थानीय तहको नेतृत्वमा आइसकेपछि तीन जना मन्त्रीज्यूहरू फेरिसक्नुभयो । तीन मन्त्रीजयूहरूकै अहिलेसम्मको क्रियाकलाप बैठकबाट बैठक बैठकबाट बैठकभन्दा केही छैन ।

निर्णय कार्यान्वयन नगर्ने हो भने यस्ता बैठक जरुरी छैन’, अध्यक्ष तामाङले भने, ‘ककनी र धुनीबेंसीका मान्छेलाई अब मार्न पाइँदैन । कि त तपाईंहरूले नै व्यवस्थापन गर्न‘होस् भन्ने दुवै स्थानीय तहलाई अधिकार दिनोस् । त्यसमा फोहोर पुर्नेलगायत अरु सबै व्यवस्थापनका कुरा हामी आफ्नै नागरिकलाई साक्षी राखेर गर्न तयार छौं ।’

‘फोहोर मैला उत्पादन गर्ने निकायले आफ्नै स्थानीय तहमा व्यवस्थापन गर्न‘पर्छ भनेर २०६८ को ऐनले बकैदा लेखेको छ । त्योअनुरुप व्यवस्थापन गर्न अनुरोध गरेँ । विकल्प छैन भनेदेखिन्न । फोहोर र मान्छे सँगै राख्न हुँदैन । तत्काल व्यवस्थापन गर्न‘र्पयो । ककनी र धुनीबेंसीलाई फोहोर चाहिँदैन ।’ अध्यक्ष तामाङले भने ।

बागमती प्रदेशसभा सांसद तथा नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले बैठकले तत्काल र दिर्घकालीन योजना तयार गरी फोहर व्यवस्थापन गर्न आवश्यक कार्यविधि तयार गरी कार्य अगाडि बढाउने निर्णय गरेको जानकारी गराए ।

‘काठमाडौं उपत्यकाबाट नुवाकोटको बन्चरेडाँडामा जाने फोहरबाट ककनी, धुनिबेंसी र आसपासका पालिकाहरूमा भएको गम्भीर प्रकृतिको प्रभाव र त्यसको अल्पकालीन र दिर्घकालीन समस्या समाधानको लागि प्रभावित क्षेत्रका सांसद र जनप्रतिनिधि र सहरी विकास मन्त्रालयका मन्त्रीज्यूको अध्यक्षतामा बैठक बस्यो ।

बैठकले तत्काल र दिर्घकालीन योजना तयार गरी फोहर व्यवस्थापन गर्न आवश्यक कार्यविधि तयार गरी कार्य अगाडि बढाउने निर्णय गरेको छ’ महतले भने ।

उक्त बैठकमा प्रभावित क्षेत्रका जन प्रतिनिधिहरूको उपस्थितिथियो ।

२२ श्रावण २०८०, सोमबार ०५:११



तपाईको प्रतिक्रिया