रिहाइको माग गर्दै ल्यान्डफिल साइट जाने बाटो अवरुद्ध

फाइल तस्बिर

नुवाकोट । प्रहरीले हिरासतमा लिएका व्यक्तिलाई छाड्न माग गर्दै स्थानीय बासिन्दाले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो अवरुद्ध गरेका छन् । स्थानीयले ककनी गाउँपालिका–१ ओखरपौवाको महालक्ष्मीथानमा चक्काजाम गरेको प्रहरीले जनाएको छ ।

बन्चरेडाँडा–कुमरी–चाउथे जाने सडकमा स्थानीयले चक्काजाम गरी सडक अवरोध गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । सडक अवरोध हटाई सवारी सञ्चालन गर्न प्रहरी चौकी ओखरपौवा र धादिङ जीवनपुर प्रहरी चौकीबाट सुरक्षा टोली खटिएको छ ।

शनिबार बिहान दुई बजेतिर धादिङ धुनेबेसीं नगरपालिका–१ दोभानमा ककनी गाउँपालिका–१ कागतीगाउँका ३० वर्षीय अमर बलामीलाई सोही ठाउँका स्थानीयले कुटपिट गरी घाइते बनाएका थिए ।

धादिङ जीवनपुर प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले कुटपिटमा संलग्न भएको आरोपमा ककनी गाउँपालिका–१ कागतीगाउँका २३ वर्षीय कृष्णलाल बलामी, १८ वर्षीय मनोज बलामी र ४० वर्षीय सुमन बलामीलाई नियन्त्रणमा लिएको छ । त्यसैको विरोधमा कागतीगाउँका बन्चरेडाँडा जाने सडक अवरुद्ध गरेका हुन् ।

३ भाद्र २०८०, आईतवार १८:३१



तपाईको प्रतिक्रिया